धुर्मुस–सुन्तली र क्रिकेट रंगशाला
२०७२ सालको भूकम्पले धेरैलाई हतोत्साही बनायो । भूकम्पको भयले थातवास छाड्नेहरू पनि देखिए । केही मानिसहरूले भूकम्पको भय र पीडामा परेकाहरूसँग मनग्गे फाइदाको व्यापार गरे । केही ट्याक्सी चालकले मनपरी भाडा असुले । केही किराना पसलेले सामानको मूल्य बढाए । सरकार स्वयंले देशी विदेशी दाताबाट लिएको पैसाको समयोचित सदुपयोग गर्न नसकेको आरोप खेपिरहेको छ ।
कतिले भूकम्पले क्षति भएका बस्ती बसालिदिन्छु भनेर ठूलो प्रचारबाजी गराए । कतिले केको आश्वासन दिए त कतिले एक बोरा चामल दिएको कुरालाई सामाजिक सञ्जाल र मिडियामा भाइरल बनाए । कतिले केही काम गरे ती काम तत्कालको राहत र उद्धारका थिए कालान्तरमा हराए । कसैले केही गर्दैछन् । तर आश्वासनहरू क्षणिक भएर सेलाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने काम पनि प्रभावकारी हुन सकेन र सकिरहेको छैन । यस बीचमा हतास भएका भूकम्पपीडितको घाऊमा मल्हम लगाउने सोच धुर्मुस सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) मा पनि पलायो । अमेरिकामा विभिन्न कार्यक्रमसहित गएका उनीहरू त्यो सोचलाई सार्थक तुल्याउन जुटे । त्यहीँ जुटाइबाट काभ्रेको पाँचखालमा ठडियो एकीकृत नमूना पहरी बस्ती । सिन्धुपाल्चोकको गिरानचौरमा बन्यो एकीकृत नमूना गिरानचौर बस्ती । महोत्तरीको बर्दिबासमा बन्यो एकीकृत नमूना मुसहर बस्ती । रौतहटको सन्तपुरमा बन्यो एकीकृत नमूना सन्तपुर बस्ती । वीर अस्पतालको सरसफाई पनि यिनले गरे । तीन वर्षभित्रै एकपछि अर्को सफलता देखाएका यी जोडीलाई देश–विदेशबाट साथ र सहयोगको ओइरो लाग्नु स्वाभाविक हो । यिनीहरूले यति महत्वपूर्ण काम गरेका छन् र पनि समय, काम र दाममध्ये कुनै एकको अनियमितता भएको छ भनेर औंलो ठड्याउन सक्ने अवस्था छैन ।
यहीँ काम सरकारले आँटेको भए यो समयमा यति, यस्तो र यसरी सम्पन्न गर्न सक्ने थियो भन्न धेरै गाह्रो छ । सरकारको गतिको कुरा गर्ने हो भने ३० वर्ष पुग्न लाग्दा पनि मेलम्चीको पानी खाने सपना कहिले विपना हुने हो थाहा छैन । सरकारले यस्ता धेरै सपना साकार पार्न नसकेका बेला हाँस्यव्यँग्य कलाकारको परिचय बनाएका यी जोडीले जनतामा आशाको सञ्चार गराउँदै भरोसामा परिणत गराउनुलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ । रचनात्मक र सकारात्मक कार्य गरेर पनि नकारात्मक टिप्पणी गरिन्छ भने कसैले पनि राम्रो कामको थालनी गर्ने हिम्मत गर्ने छैनन् । आपूm पनि केही नगर्ने अरूलाई पनि हतोत्साही गराउन खोज्ने, गलत नियत राख्ने र राम्रो कामलाई समेत सही भन्न सकिन्न भने यो देशलाई सतिले सरापेको देश नभनेर अरू भन्न सकिदैन ।
सरकारले गर्न नसकेको काममा होस्टे गर्दै हैसे गर्नेहरू जुटाएर सफलता पाएका यी जोडीले अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्दैछन् । तीन अर्बको योजना भनिए पनि काम गर्दै जाँदा यसको लागतमा थपघट हुन सक्छ । देशकै केन्द्रविन्दु र सुगम मानिने चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १५ मा पर्ने जग्गा र वडा नं. १६ को बस्तीलाई रमझम बनाउने यो रङ्गशालाको नाममा क्रिकेट जोडिए पनि बहुउद्देश्यीय खेलकुदको केन्द्र हुने बताइएको छ । यसको डिजाइन हेर्दा लाग्छ पर्यटकीय दृष्टिकोणले समेत यो प्रभावकारी हुनेछ । औंशीको रातले पनि नछेक्ने गरी रात्रिकालीन खेल खेलाउन मिल्ने गरी रङ्गशाला क्षेत्र प्रकाशमय हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उपलब्ध गराएको २० विघा ६ कठ्ठा समथर भूभागमा कम्पाउण्ड गरेर यसभित्र देशको पहिचान झल्काउने सगरमाथा, लुम्बिनी, पशुपति र यस्तै अन्य साँस्कृतिक र ऐतिहासिक सम्पदाको झल्को दिने कार्य पनि सोही रङ्गशालामा हुनेछ ।
भरतपुर महानगरपालिकाको संयोजनमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने यो रङ्गशालामा फुटबल, भलिबल, बास्केटबल, स्वीमीङ पुल तथा अन्य खेल पनि खेलाउन मिल्नेछ र नियमित प्रशिक्षण तथा स्पोट्र्स एकेडेमीको व्यवस्था समेत हुनेछ । माघ १६ गते भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलबीच रङ्गशाला निर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भई रङ्गशाला निर्माणको घोषणा भएपछि यसबारे विभिन्न किसिमका टिकाटिप्पणी हुन थालेका छन् । सकारात्मक टिकाटिप्पणीको भन्दा नकारात्मक टिकाटिप्पणीको चर्चा बढी हुने प्रबृत्ति भए पनि यसलाई सामना गर्न तयार देखिन्छन् धुर्मुस–सुन्तली । सानो काम गर्दैमा ठूलो पूmर्ति हाँक्नेले त मै हूँ भन्छन् भने ठूलो काम गरेर लोकप्रियता चुमेका यी जोडीले विरोधका सानातिना पर्खाल नाघ्दै आएका छन् र फेरि पनि नाघ्ने छन् । पृष्ठभूमिमा ठूलो जनलहर छँदैछ । खासमा यो विरोधको सान्दर्भिकता नभएकाले यसको चर्चा गर्नु नै बेकार छ । सुझाव र शुद्ध आलोचना ग्रहणयोग्य हुन्छन् तर विनाअर्थ गरिएका विरोधको जवाफ दिनु र चर्चा गर्नुको पनि औचित्य छैन ।
अहिलेसम्मको अवस्थामा खासमा विरोधको अर्थ त्यतिबेला हुन्थ्यो जब कसैको घर वा जग्गा मिचेर रङ्गशाला बनाउन लागिएको होस् वा आधिकारिक सहमतिविना कसैको जग्गामा बनाउन लागिएको होस् । तर अहिले त्यो अवस्था छैन । अहिले त सरकारी विश्वविद्यालयको प्रयोग नभईरहेको जग्गामा सहमतिले रङ्गशाला बनेर सदुपयोग हुने भएको छ । रङ्गशाला निर्माणका क्रममा रङ्गशालाकोे कम्पाउण्ड बन्ने आडैमा पश्चिमतर्फ शान्ति चोकबाट रामपुर जोड्ने बाटो खुल्नु पर्नेछ । त्यो बाटोमा जग्गा पर्नेले त बाटो खोल्ने कुरामा विरोध गरेका छैनन् र गर्नु पनि हुँदैन भने अरूले किन विरोध गर्नु ?
रङ्गशाला निर्माणको महाअभियानमा जुटेका यी सामाजिक अभियन्ताका रूपमा समेत स्थापित कलाकारजोडी अहिले आफ्नो प्रस्तुति लिएर देश विदेशबाट सहयोग जुटाउन लागिपरेका छन् । दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको यो रङ्गशाला निर्माण गर्न सकिने विश्वास सरकार र भरतपुर महानगरपालिकालाई पनि नभएकाले यो जिम्मेवारी धुर्मुस सुन्तली फाउण्डेशनलाई दिइएको हो भन्न सकिन्छ । हामीलाई काम दिनोस् भन्दै फाउण्डेशनका जोडी गएका होइनन् । जसले बनाए पनि यस रङ्गशालामा जनश्रमदान र जनसहयोग पनि हुने भएकाले यो रङ्गशाला सबै सबै नेपालीको गर्व र गौरवको आयोजना हो ।
यो जोडीले झण्डै सात अर्बको योजनामा नमूना नेपालको परिकल्पना गरेर काम अघि बढाउँदै थियो । यस बीचमा नेपालले क्रिकेटमा केही फड्को मा¥यो । तर देशमा स्तरीय रङ्गशाला नभएको कुरा क्रिकेट खेलाडी र खेलप्रेमीले गुनासो गरेको बुझेर रङ्गशालातिर मोडिएका यी जोडीलाई सके सहयोग गरौं, नसके असहयोग नगरौं । भनिन्छ नि इतिहास जित्नेहरूकै लेखिन्छ । उनीहरूले यस मामिलामा इतिहास जितेका छन् । इतिहास जिते पनि यो जोडीले सम्पन्न गरेका काममा नियतको खोट देखिएको छैन । उनीहरूको नामले कमाएको लोकप्रियता लोभलाग्दो भए अरूले पनि अन्य कुनै राम्रो काम गरौं जसले गर्दा राम्रै जश पाइयोस् । भन्न जति सजिलो हुन्छ गरेर देखाउन त्यत्तिकै गाह्रो हुन्छ त्यसैले राम्रो काम गरेर देखाउनेलाई सम्मान गर्न सिकौं । यसैमा आफ्नो र जगतको पनि भलो हुन्छ ।