सञ्चार माध्यमहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह : मन्त्री बाँस्कोटा
काठमाण्डाै – मंगलबार राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यमहरुलाई सरकारको विरोध वा समर्थनको केन्द्र नबन्न आग्रह गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले सरकारी सञ्चार माध्यमले पनि सरकारको गुनगान गाइरहन नपर्ने पनि स्पष्ट पार्नुभयो ।
सञ्चार माध्यमहरुले कसैको विरोध वा समर्थनभन्दा पनि तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न आग्रह गर्नु भयाे ।
मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै निजी क्षेत्रको सञ्चार माध्यमप्रति आक्रोश पनि व्यक्त गर्नु भयो ।
राष्ट्रिय समाचार समितिले गर्दै आएको कामप्रति सन्तुष्ट हुने ठाउँ नरहेको भन्दै मन्त्री बाँस्कोटाले समितिलाई सत्यतथ्य समाचारको केन्द्र बन्न सचेत गराउनु भयो ।
कार्यक्रममा ‘राष्ट्रिय समाचार समिति (रासस) पत्रकारिता पुरस्कार’बाट राससका विष्णुप्रसाद नेपाल र नीरजकुमार गौतमलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय समाचार समितिले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।