विमलेन्द्र निधिमाथि नेपाल विद्यार्थी संघका केही कार्यकर्ता द्वारा दुर्व्यवहार

काठमाडौँ-  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि काँग्रेसकै भातृसंस्था नेपाल विद्यार्थी संघका केही कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका छन् ।

केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका निधिलाई विद्यार्थी कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका हुन् ।

काँग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका विद्यार्थीले निधिमाथि त्यस्तो ‘हर्कत’ गरेको बुझिएको छ । विद्यार्थीहरुले सहमहामन्त्री डा‍. प्रकाशशरण महतले आफूहरुमाथि हात हालेको आरोप लगाएका छन् ।

सानेपाबाहिर जम्मा भएका विद्यार्थीहरुले नेताहरुलाई बैठक प्रवेशमा अवराेध गरेका थिए । अवरोधकाबीच प्रहरीले नेताहरुलाई बैठकस्थल पुर्‍याएको छ । निधिका सुरक्षा गार्डले विद्यार्थीहरुलाई धकेलेर मुल गेटबाहिर निकालेका थिए ।

पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडलको उक्साहटमा सानेवा पुगेका विद्यार्थीहरुले नारावाजी र अवरोध गरेको स्रोतले जनाएको छ ।

बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवा समेत भर्खर सानेपा पुगेका छन् । केहीबेरमा बैठक सुरु हुनेछ ।

नेविसङ्घका कारण काँग्रेसमा आन्तरिक किचलाे बढिरहेको छ । नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ ।

सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । पार्टीले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।

यसअघिका बैठकमा अधिकांश नेताहरुले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । यो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने केही नेताहरुको तर्क छ ।