प्रदेश ५ को स्थायी राजधानी दाङ नै हुनुपर्ने: उर्जामन्त्री पुन
दाङ- शुक्रबार दाङमा रिपोटर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले दाङ नै प्रदेश ५ को स्थायी राजधानी हुनुपर्ने बताएका छन् । स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभामा मात्रै रहेको बताए ।
पुनले दाङ राजधानी नभए बाँके र बर्दिया प्रदेश नं ५ बाट टुक्रिने तयारीमा रहेकोसमेत जानकारी दिए । त्यहाँका जनताले टुक्रिने अभिव्यक्ति दिइरहेको बताउँदै पुनले भने, ‘उनीहरुको माग सम्बोधन गर्न उपयुक्त स्थानमा राजधानी बनाउनुपर्छ। त्यो दाङ नै हो। ‘
उनले तुलसीपुर क्षेत्रका सबै स्थानहरुमा एक वर्ष भित्रमा विद्युतिकरण गरिसक्ने जानकारी दिए ।
उर्जामन्त्री पुनले नेकपा अध्यक्ष र शीर्ष नेताहरुमा कुनै पनि मतभेद नभएको दावी गरे । आफु पनि नेकपाको कार्यदल सदस्य रहेको बताउदै उनले शीर्ष नेताबीच कुनै पनि मदभेद नभएको स्पष्ट पारे ।
पुनले भने , ‘बाहिर आए जस्तो कुनै मतभेद छैन, तर बहस र तर्कहरु शीर्ष नेताबाट आइरहेको छ । त्यसलाई मदभेद भन्न मिन्दैन । दुई अध्यक्ष र वरिष्ठ नेतामा त्यस्तो केहि छैन ।’
नेकपाका नेतासमेत रहेका पुनले जिल्लास्तरको नेतृत्व चाडैँ चयन हुने बताए । हामी अविलम्ब एकता प्रक्रिया अघि बढाउने तयारीमा छौ, उनले भने, अब अभियानकै रुपमा सञ्चालन गरेर सबै तह, क्षेत्रमा एकता हुन्छ ।
मन्त्रि पुनले तीन वटै सरकारले एक वर्ष पुरा गरेको भन्दै पहिलो वर्ष कामको आधार खडा भएको बताए । उनले सरकार मूलरुपमा एक वर्षमा सफल भएको दावी समेत गरे ।