वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँएर दुई जनाको मृत्यु

काठमाडौँ-  वीर अस्पतालको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् ।

यस्तै एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सप्तरीकै सचितानन्द चौधरी छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ । यद्यपि, कम्मरमुनिबाटै रक्तश्राव भइरहेकाले आत्तिहाल्नु पर्नै अवस्था छैन ।

प्रहरीका अनुसार उनीहरु निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । वीरको छेउमै निर्माण भइरहेको ९ तले सर्जिकल भवनको लिफ्ट चुडिएको थियो। भवनमा अहिले छैठौं तलाको निर्माण कार्य चलिरहेको छ । के कारणले लिफ्ट चुँडियो भन्ने खुल्न सकेको छैन ।