परोपकारका नाममा एनजिओ/आईएनजिओको धर्म प्रचार

धर्मको विषयमा जनमत संग्रह गर्न डा. कोइरालाको माग/सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने थापाको चेतावनी

काठमाडौं । समाज कल्याण परिषद्ले अनुगमन नगर्दा नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु रहस्यमयढंगले सञ्चालन भइरहेको पाइएकोछ । ४५ हजार पाँच सय भन्दा बढी गैरकारकारी संस्था मध्ये सयकडौं संस्था वेलायत, अमेरिका, जर्मनी, भारत, डेनमार्कलगायतका आईएनजिओको आर्थिक सहायतामा चलेका छन् ।
समानान्तर सरकारका रुपमा स्थापित हुन खोजिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको गठवन्धन समेत बढ्दै गएको छ । नेपालस्थित राष्ट्रसंघीय कार्यालय युएनडीपीले संविधान, राजनीति र कुटनीतिका बारेमा खुलेर टिप्पणी गर्ने र त्यसमा विभिन्न शक्ति राष्ट्रका राजदूतहरुले सहमति जनाउँदै वक्तव्य दिने गरेका छन् ।
नेपालका ४० वटा जिल्लामा इसाई धर्मावलम्वी संघसंस्थाले एनजिओ÷आईएनजिओको नाममा साढे २ अर्ब रुपैयाँ लगानी गरेको खुलासा भएको छ । क्रिश्चियन नामसँग जोडिएका ६५ वटा एनजिओले आदिवासी, जनजाति, दलित, स्वाथ्य, शिक्षा, कृषिलगायतका क्षेत्रमा लगानी गरेको पाइएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा समेत विभिन्न काम गर्दै आएका त्यस्ता संस्थाहरुले धमाधम काम सकेर घर फर्किनु पर्नेमा परियोजना लम्व्याएर परोपकारका नाममा क्रिश्चियन धर्मको प्रचार गरिरहेको पाइएको छ ।
राजधानी वाहेक चितवन, रुपन्देही, बाँके, कञ्चनपुर, कैलाली, महोत्तरी, धनुषा, नवलपरासी, कास्की, काभ्रेपलाञ्चोक, धादिङ, झापा, सुनसरी, उदयपुर, सिन्धुली, प्यूठान, इलाम, दाङ, गुल्मी र सुर्खेत, संखुवासभा, वाग्लुङ, गोरखा, तनहुँ, वैतडी, लम्जुङ, दोलखा, सिन्धुपाल्चोक, वर्दिया, ललितपुर, जुम्ला, मुगु, कालिकोट, भक्तपुर र मोरङलगयातका जिल्लामा क्रिश्चियनको लगानीमा विभिन्न परियोजना सञ्चालन भइरहेका छन् । एक तथ्यांक अनुसार सबैभन्दा बढी चर्च ललितपुर जिल्लामा छन् भने राजधानी बाहिर मकवानपुरमा ।
झण्डै चार प्रतिशतको हाराहारीमा रहेका इसाई धर्मावलम्वीको संख्या बढाएर आठ÷दश वर्षभित्रमा संविधान नै संशोधन गर्दै क्रिश्चियनलाई निश्चित कोटा छुट्याउने उनीहरुको रणनीति रहेको पुराना कूटनीतिज्ञहरुले बताएका छन् । लेवनानमा झै सम्वैधानिक व्यवस्था गरेरै क्रिश्चियनको कोटा छुट्याउनका लागि राजनीति र प्रशासनका उच्च व्यक्तिलाई दातृ निकायले प्रभावमा पार्ने गरेको विश्लेषकहरुको तर्क छ ।
पूर्वसचिव मोहन वन्जाडेले विभिन्न लेखहरु मार्फत यस्ता कुराको खुलासा गर्दै नर्वेको संविधानमा नभएको धर्मनिरपेक्षता सम्वन्धी कुरा नेपालको संविधानमा राखिएको उदाहरण समेत प्रस्तुत गरेका छन् ।
सरकारले सदाचार नीति ल्याएर त्यस्ता संस्थामाथि कडाइ गर्न खोजेपनि त्यो रोकिएको छ । कूटनीतिक दवावका कारण एनजिओलाई हात हाल्दा विदेशी रिसाउने भएकाले सरकार पछि हटेको देखिन्छ । गाउँपालिकादेखि संसदसम्म न्यायपालिकादेखि मन्त्रिपरिषद्सम्म र विश्व विद्यालयदेखि विभिन्न पेशागत संगठनमा समेत आईएनजीओको प्रभाव देखिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।
चीनले नागरिक मामिला मन्त्रालय गठन गरेर एनजिओको अनुमगन गरिरहेको छ भने भारत, वंगलादेश, पाकिस्तानलगायतका मुलुकमा एनजिओका गतिविधि निगरानी गर्न विशेष व्यवस्था गरिएको छ । तर नेपालमा उच्चपदस्थका परिवारका सदस्य नै लाखौ रुपैयाँ तलव खाएर आईएनजिओमा संलग्न रहेकाले उनीहरुलाई नियन्त्रण वा निगरानी गर्न चाहदैनन् । यसले गर्दा धर्म, संस्कृति, परम्परा मात्र होइन, राष्ट्रिय राजनीतिलाई समेत एनजिओ आईएनजिओको दुष्प्रभावले कमजोर बनाइरहेको छ ।

धर्मको विषयमा जनमत संग्रह गर्न डा. कोइरालाको माग
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् । शुक्रबार मुसीकोट नगरपालिका वामीस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा उनले नेपाल सनातन वैदिक धर्मको भूमि भन्दै नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र हुनुपर्ने बताए । महामन्त्री कोइरालाले सबैको चाहनामा हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने धारणा राखे । उनले हिन्दुहरुलाई धर्म संरक्षणमा जागरुक हुन पनि आग्रह गरे ।


महामन्त्री कोइरालाले क्रिश्चियनहरुले नेपालमा धार्मिक अतिक्रमण गरिरहेको भन्दै त्यो बन्द हुनुपर्ने बताए । उनले धर्मको विषयमा जनमत संग्रह गरिनुपर्ने र सबैको चाहनामा हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने बताए ।
आफूले विपीको पथ पछ्याइरहेको भन्दै डा. कोइरालाले काम गरेर देखाउने उद्घोषसमेत गरेका छन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, काङ्ग्रेस महासमिति सदस्य चन्द्र केसी, मूल समारोह समितिका संयोजक प्रकाश काफ्ले, प्रधानाध्यापक बुद्धिप्रसाद शर्मा, शिक्षक धनपति खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत इञ्जिनीयरिङ कक्षा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् । हालसम्म झण्डै रु चार करोड सङ्कलन भइसकेको छ । महोत्सव यही फागुन २१ गतेसम्म चल्नेछ ।

सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने थापाको चेतावनी
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन १५ गते ताप्लेजुङबाट मेची–महाकाली स्वाभिमान यात्रा शुरु गरेको छ । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दुराष्ट्र कायम गराउनका लागि सरकारलाई दबाब दिन र जनतालाई त्यसतर्फ जागरुक बनाउन राप्रपाले मेची महकाली यात्रा शुरु गरेको बताइएको छ । मुलुकका ३६ जिल्लामा हुने यात्रा काठमाडौँमा आएर समापन गरिने बताइएको छ । बाँकी अन्य जिल्लामा समेत यात्रा गरिने पार्टीले जनाएको छ ।


राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई जानकारी दिनुका साथै यज्ञ, हवन तथा अनुष्ठान पनि गरिने राप्रपाले जनाएको छ । पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
पार्टीका नेता भुवन पाठकले नेपाल बैदिक कालदेखि नै देवभूमि र तपोभूमि भएको बताउँदै विश्वमा एकमात्र हिन्दू राष्ट्र नेपालको विशिष्ट पहिचान मेटाउन खोजिएकाले उक्त यात्रा गर्न लागिएको बताए । उनले यात्राका क्रममा गरिने यज्ञबाट प्राप्त हुने ऊर्जाले सकारात्मक सोचको विकास हुनाका साथै सांस्कृतिक एकता र सामाजिक सहिष्णुता कायम हुने विश्वास पनि व्यक्त गरेका छन् ।
संगठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने, गौ हत्या नियन्त्रण गरिनुपर्ने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तीमा एउटा गौशाला निर्माण गरिनुपर्नेलगायत सन्देश यात्राका क्रममा फैलाइएको राप्रपाले जनाएको छ ।
यात्राका क्रममा शुक्रबार विराटनगरमा बोल्दै सो पार्टीका अध्यक्ष कमल थापाले प्रचण्डको सरकारमा सहभागी हुनु रणीतिक कमजोरी भएको भन्दै आफ्नो पार्टीका मतदाता तथा शुभेच्छुकहरुप्रति क्षमा समेत मागेका छन् । उनले भने “प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु रणनीतिक कमजोरी भयो, म मेचीकाली स्वाभिमान यात्राको क्रममा आम जनतासँग क्षमा चाहन्छु । राप्रपाको उन्नति र प्रगतिको चाहना राख्ने सबैलाई विश्वास दिलाउन चाहन्छु कि सत्ता होइन सिद्धान्त केन्द्रीत राजनीतिमा आफूलाई समर्पित गर्नेछु ।”
पार्टी सिद्धान्तमा भन्दा पनि थापाको निजी स्वार्थमा अघि बढेको भन्दै तीन टुक्रा भएको थियो । पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले छुट्टै पार्टी गठन गरेका थिए । पार्टी एकताको पहल भएपनि नेतृत्व र नीति के हुने भन्ने विषयमा विवाद हुँदा एकता सार्थक हुन सकेन । राणा र लोहनी मिलेर राप्रपा संयुक्त बनाएका छन् । तर कमल थापा नेतृत्वको राप्रपा भने झन्झन् कमजोर हुँदै गएको छ । पार्टीको नीति भन्दा नेता हावी भएको भन्दै केही दिनअघि मात्रै जयन्त चन्दको नेतृत्वमा १४ जना केन्द्रीय सदस्य र अन्य थुप्रै नेताहरु बाहिरिएका छन् ।
‘जता काफल पाक्यो उतै चरी नाच्यो’ भनेझै आफ्नो सिद्धान्त, आदर्श र वाचा त्यागेर कमल थापाले गणतन्त्रात्मक संविधान स्वीकार्दै उपप्रम तथा संघीय मामिला मन्त्री भएर पार्टीको विश्वसनीयता गिराएको आरोप लाग्दै आएको छ । पार्टी नीतिभन्दा फरक बाटोमा हिडेपछि नेताहरु बाहिरिनुका साथै मतदाताहरु पनि भड्किएपछि कमल थापाले आफ्नो गल्ती महसुस गर्दै माफी माग्न थालेका छन् ।
राप्रपा कमजोर भएर उठ्न सकेन भने नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सदाका लागि समाप्त भएर जाने भन्दै थापाले सहमतिका आधारमा संविधानमा हिन्दु राष्ट्र कायम गर्ने आफ्नो पार्टीको प्रयास रहने बताएका छन् । उनले विराटनगरमा मेचीकाली यात्राका क्रममा भएको सभालाई सम्वोधन गर्दै भने ‘नयाँ सहमतिका लागि सरकार, नेकपा र नेपाली कांग्रेसलाई आव्हान गर्छु । हामी जनसंघर्षको चरणमा छौं, सहमति हुन नसके अर्को चरणमा सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने छौं ।’
हिन्दु राष्ट्र तथा राजसंस्थाले मात्र विश्वमा नेपालको पहिचान हुने वताउँदै थापाले परिवर्तनका नाममा नेपालका ती पहिचानलाई समाप्त पारिएको बताए । उनले मेचीकाली अभियान नेपालका तिनै पहिचानलाई स्थापित गराउनका लागि भएको पनि बताए ।
थापाले प्रधानमन्त्रीतर्फ इंगित गर्दै उनका सन्तान नभएका र कसैका लागि सम्पत्ति कमाएर राखिदिनु पर्ने आवश्यकता नरहेकाले हिम्मतका साथ एनसेल कर छली, सुनकाण्ड देखि हवाईजहाज खरिदसम्मका भ्रष्टाचारका दोषीलाई कारबाही गर्न सुझाए । भ्रष्टाचारीलाई कारबाही नगरे र विखण्डनको आवाजलाई निस्तेज पार्न नसके इतिहासले माफ नगर्ने उनले बताए ।
पार्टीका नेता बुद्धिमान तामाङले नेपालको अखण्डता कायम रहोस् भन्ने चाहेको भए, नेपाललाई हिन्दु राष्ट्र बनोस् भन्ने चाहेको भए राप्रपाले अभियान सञ्चालन गरिरहेको अभियानलाई साथ दिन अन्य दलका कार्यकर्तालाई आग्रह गरे ।
महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा चुनाव केन्द्रीत नभएर देश बचाउने र देश बनाउने अभियानका लागि भएको बताए । उनले भने, ‘नेपालको हिन्दु राष्ट्रको पहिचान खोसेर धर्म निरपेक्षता बनाउन गिरिजाप्रसाद, प्रचण्ड र माधब नेपाल मात्रै दोषी छैनन्, धर्म निरपेक्षता बनाउने पार्टी र नेतालाई मत दिने हिन्दुहरुका हात पनि दोषी छन् । नजानेर गरेको गल्ती सच्याउन सकिन्छ, धर्मलाई धोका नदिऊँ, राप्रपाले सञ्चालन गरेको अभियान धर्म रक्षाको अभियान पनि हो ।’