शुरु भयो रंगशालाको काम, स्थानीयमा खुशीको सीमा छैन

चितवन÷भरतपुर १५ मा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम शुरु भएको छ । बाउण्ड्री गर्ने क्षेत्र छुट्टयाएर काम अघि बढाइएको छ । यस हिसाबले निर्धारित समयमै रङ्गशाला निर्माण हुने सङ्केतलाई हुने बिरुवाको चिल्लो पात भन्न थालिएको छ ।
भरतपुर १६ शान्तिचोक सम्मुख हुनेगरी मूलगेट बन्ने भएपछि यहाँका स्थानीय गौरवान्वित भएका छन् । स्थानीय समाजसेवी मिनबहादुर बस्नेतले असीम हर्ष प्रकट गर्दै भन्नुभयो,–मलाई त अत्यन्तै खुशी र गौरव महसुस भएको छ यस्तै महसुस अरूलाई पनि भएको हुनुपर्छ भन्नुभयो । एक त नेपालमा एउटा स्तरीय क्रिकेट रङ्गशालाको अभाव छँदैथियो त्यो पुरा हुने नै भयो । यसमा पनि थप महत्वपूर्ण कुरा यसको नाम भएको छ । भारतले गौतमबुद्ध भारतीय हुन् भन्दै भ्रामक प्रचार गरिरहेका बेला रङ्गशालाको नाम नै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला राखिएपछि यहाँ आउने सबै विदेशीमाझ गौतमबुद्ध नेपाली नै रहेछन् भन्ने कुरा प्रमाणित हुनेछ । यो नामले गर्दा विश्वभर छरिएर रहेका नेपाली गौरवान्वित भएको हुनुपर्छ भन्ने मलाई लागेको छ ।
म र मजस्तै केही अन्य यहाँको प्रत्यक्ष लाभान्वित नागरिकका साथै राजनीतिकर्मी र समाजसेवी पनि भएको नाताले केही दायित्व पनि लिन चाहन्छौं । धुर्मुस सुन्तली फाउण्डेशनका प्रतिनिधि तथा कर्मचारीसँग सल्लाह र समन्वय गर्दैछौं । यस वडा नं. १६ का हामी स्थानीय मार्फत आर्थिक, सामाजिक र श्रमलाई कसरी मिलाएर लैजाने भन्ने विषयलाई चिन्तन, मनन गर्दै छलफलमा केन्द्रित छौं । समृद्धिका लागि यो पनि एउटा खुड्किलो हो भन्ने भावनाले राजनीतिबाट माथि उठेर सबै पक्षबीच सहकार्य गर्ने हाम्रो ध्येय छ । हामी यस अभियानमा स्थानीय भएको गौरवका साथ लाग्नेछौैं बस्नेतले भन्नुभयो ।
यसैगरी अर्का स्थानीय समाजसेवी रामशरण पण्डितले यो हाम्रा लागि अत्यन्त खुशी र गौरवको कुरा हो भन्नुभयो । उहाँका अनुसार देशभरिमै खेल र खेलाडीको स्तर बृद्धि गर्न यो रङ्गशाला महत्वपूर्ण सावित हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको नजिकै भएर पनि विकासका हिसाबले बत्तीमुनिको अँध्यारो जस्तैमा रहेका हामीलाई यस रङ्गशालाले उज्यालो दिने भएको छ । खेलका साथै विकासका पूर्वाधारमा हामी पनि बलियो हुने आशा र विश्वास पलाएको छ ।
भरतपुर १६ छहारीचोकका ३१ वर्षीय दिपेन्द्र थापाले भन्नुभयो,– नाममा क्रिकेट रङ्गशाला भनिए पनि यस रङ्गशालामा सबैजसो खेल खेल्न सकिने र स्पोट्र्स एकेडेमीको समेत व्यवस्था गरिने भएकाले हाम्रो भन्दा आउँदो पुस्ताको भविष्य अझै उज्यालो छ । आपूmलाई मूलतः भलिबल खेलाडी भन्न रुचाउने थापाले रङ्गशाला निर्माण हुन लागेको खुशीको सीमा आपूm र आफ्ना समकालीनहरूमा पनि नभएको बताउनु भयो ।