पूर्वराजा ज्ञानेन्द्र शाह हतारिएर काठमाडौं आउँदै

काठमाडौँ-   पूर्ववडामहारानी रत्न शाह बिरामी भएपछि तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह हतारिएर काठमाडौं आउँदैछन् ।

९१ वर्षकी रत्न एक सातादेखि खोकीले सताएपछि मंगलबार बेलुकी नर्भिक अस्पताल भर्ना भएकी थिइन् ।

उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकलाई उधृत गर्दै पूर्वराजपरिवारले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र पूर्वरानीसहित बुधबार सम्भव भए बिहान नै काठमाडौं आइपुग्नेछन् ।

माघ १३ गते सिमरा हानिएका पूर्वराजा माघ २३ देखि दमकमा छन् ।

उनी वरिवरिका जिल्लालाई कभर गर्ने गरी जनकपुरमा मुकाम बनाउँदै गर्दा आमा बिरामी भएपछि काठमाडौं फर्कन लागेका हुन् ।

यसअघि छोरा पारस शाहलाई हृदयाघात हुँदा भने पूर्वरानी कोमल मात्र काठमाडौं आएकी थिइन् ।

उनको जनकपुर यात्रा कार्यक्रम पछि तय गरिने बताइएको छ । त्यस्तै पूर्वराजा भारत जाने चर्चा पनि छ ।