नेकपा सचिवालय बैठकमा सिके राउतलाई नेकपा भित्र्याउने विषयमा छलफल हुदै

काठमाडौँ-   प्रधानमन्त्री निवास बालुवाटरमा नेकपा सचिवालयको जारी बैठकमा पार्टी एकताको काम टुङ्ग्याउने विषयमा छलफल चलिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

तर, स्रोतका अनुसार तराईलाई अलग राज्य बनाउने अभियानमा रहेका सिके राउतलाई नेकपा भित्र्याउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

राउत स्वतन्त्र मधेश अभियानबाट अलग हुने भएपछि उनका सम्बन्धमा निर्णय गर्न सचिवालयको बैठक बोलाइएको स्रोतको दाबी छ ।राउतले नेकपामा प्रवेश गर्नेगरि गोप्य वार्ता गरिरहेका थिए । स्रोतका अनुसार, उनलाई नेकपा प्रवेश गराउने सम्बन्धमा निर्णयका लागि केन्द्रीय सचिवालय बैठक डाकिएको हो ।

सरकार र नेकपासँग गोप्य रुपमा वार्ता गरेका उनी अन्ततः नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् । नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार गर्न राउत सहमत भएपछि आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीको विशेष सम्बोधन कार्यक्रममा राउत स्वयंपनि उपस्थित हुनेछन् । त्यहाँ उनले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्न लागेको विभिन्न स्रोतहरुले पुष्टि गरेका छन् । तर, उनी नेकपामा प्रवेश गर्ने भने यकीन भइसकेको छैन ।