नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विद्रोहको कलाविहीन नाटक : अध्यक्ष दाहाल
अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले आफूलाई नै पहिलो चरणमा मार्ने टिम परिचालन गरेको जानकारी सरकारले गराएको उल्लेख गर्दै उनीहरुको गतिविधि देखेर आफूलाई दया जागेर आएको प्रतिक्रिया पनि दिनुभयो ।
उहाँले आफ्नो नक्कल गर्ने भ्रम पारेर अघि बढे परिणाम दूर्भाग्यपूर्ण भन्दै चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढन पनि आग्रह गर्नुभयो ।
उहाँले चन्दलाई यो २०५२ साल नभई २०७५ साल भएकाले परिस्थितिलाई हेरेर अघि बढन गम्भीर हुन पनि सचेत गराउनुभयो ।
आफ्नै सचिवालयमा सचिव भएर काम गरेका चन्दले आफैलाई पहिलो चरणमा मार्ने योजना बनाएको सुन्दा आफूलाई दया लागेर आएको अध्यक्ष दाहालको भनाइ छ । अध्यक्ष दाहालले आफ्नो नक्कल गरेर कहीँ पनि नपुगिने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले सरकारले संविधान र कानुनअनुसार काम गर्ने उल्लेख गर्दै परिस्थितिको गम्भीर विश्लेषण गरेर अघि बढन पनि चन्द नेतृत्वको नेकपालाई पटक–पटक आग्रह गर्नु भयो ।
अध्यक्ष दाहालले सरकारले छिट्टै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पुनर्गठन गर्न लागेको पनि जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबबहादुर देउवा र आफूसँग मंगलबार दुवै आयोग पुनर्गठनको विषयमा छलफल गर्नु भएको र त्यसलाई पुनर्गठन गरेर शान्ति प्रक्रिया बाँकी काम पूरा गर्ने सहमति गरिएको पनि बताउनुभयो ।
उहाँले शहीद तथा बेपत्ता परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा पनि पार्टी नेतृत्वबीच सहमति भएको दाबी गर्नुभयो ।
सत्तापक्ष र प्रतिपक्ष कसैले पनि यो परिवर्तनका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्मान गर्ने कुरामा विवाद गर्न नहुने पनि अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले शहीद तथा बेपत्ता परिवारका एक जना सदस्यलाई रोजगारी दिने विषयमा पनि प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको पनि बताउनुभयो ।