गरे नहुने के छ र ! एउटा दृष्टान्त गाईपालक कृषक किसानको

बिहान ५ बजेदेखि शुरु भएको उस्तै तालिकाको दैनिकी राति ९ वजेसम्म अविश्राम जारी छ विगत २० वर्षदेखि । श्यामकृष्ण तिमल्सिना र सुप्रियाको जोडी निकै जमेको छ गाईपालनमा । एकजना सहयोगी कामदारको साथ छ दम्पतिलाई । अस्तव्यस्त काठमाडौंमा मस्तले गाई पालेको यो जोडीले काँडाघारीमा पनि पूmलै पूmल देखेको छ । राम्रो कर्म गर्नुपर्छ अनि राम्रै चल्छ गाई फार्म पनि । र त प्रतिफल पाइन्छ भन्ने कुराको अनुभवसिद्ध गरेका छन् यिनको परिवारले ।


२०५६ साल माघ १ गतेदेखि दुईवटा गाईबाट शुरु भएको पेशाले २०७५ को अन्त्यसम्ममा सफल व्यवसायीको परिचय बनाइसकेको छ । २०६७ सालको मध्येतिर यस.सु. गाई फार्म दर्ता गरी व्यवसायिक गाइपालन गरेका यिनीहरूको फार्ममा अहिले २४ वटा गाई र एउटा साँढे छ । दैनिक २२० लिटर दूध विक्रि हुने यस फार्ममा बिहान ८ बजे र बेलुका ६ बजे दूध लिनेको लाम नै लागेको हुन्छ । दूध पूरै नकट्दा दही जमाउँछन् र दही पनि विक्रि हुन्छ । कहिलेकाहीँ पनिर पनि बेच्न भ्याउँछन् अनि गोबर पनि । यति धेरै गाईको स्याहार सुसार गर्नु, स्वास्थ्य र सरसफाईको हेरविचार गर्नु, गाई दुहुनु, दूध बेच्नु र अन्य काम पनि भ्याउनु चानचुने कुरा होइन । आफ्नो जीवनलाई गाईपालन नामको एउटै सङ्घर्षको धारमा उद्याएका छौं र त एक छोरा र एक छोरीको पढाइ खर्च खानपान र घरव्यवहारको जोहो गर्दै घरघडेरी जोड्न सकेका छौं दम्पतिले सम्पतिको कुरामा खुशी व्यक्त गरे ।


यहीँ गाईपालनको सफलताको कथा भन्नु पर्छ छोरो एग्री विज्नेश पढ्न अमेरिका गएको छ । अब त हामी पनि रुपैयाँ पैसाबाट डलरमा परिणत भईसकेका छौं मीठो हाँसो छाडिन् सुप्रियाले । दुःखपछिको सुख आनन्ददायी हुन्छ भन्ने कुराको दृष्टान्त दिदै दुवैले संगै भने,– कोही केमा कोही केमा रमाएका छन् हामी त यसैमा रमाएका छौं । एउटै काममा निरन्तर लागिपरेपछि काम जतिसुकै गाह्रो होस् त्यसको प्रतिफलमा रमाउन सकिन्छ भन्ने कुरा हामीले अनुभूत गरेका छौं ।
गाईपालन सानो कर्म होइन त्यसमा पनि राजधानी शहर काठमाडौंमा अझ कठिन कुरो हो । हिउँद र गृष्ममा हरियो घाँस दिन सम्भव छैन, वर्षामा पनि मुस्किलले फेला पर्ने घाँसको आस नगरि पराल र दानापानीको जोगाड गरिएको छ । आधुनिक गोठ भएर मात्र हुँदैन त्यसको सरसफाई र खानपानको समय मिलाउनु पर्छ । ६÷६ महिनामा नाम्लेको औषधि खुवाउनुपर्छ ।

बेला बेलामा खोरेत र भ्यागुतेको भ्याक्सिन लगाउनु पर्छ । समग्रमा भन्नु पर्दा सरसफाई र खानपानको समयोचित व्यवस्थापन हुन सके गाईलाई रोग लाग्ने सम्भावना पनि कम हुन्छ । गाईपालनसम्बन्धी तालिम पनि लिईसकेका श्यामकृष्णले आफ्ना अनुभव सुनाउँदै भने,– गाईपालनमा कामदारको अभाव र बाच्छाहरूको व्यवस्थापन ठूलो चुनौतिका रूपमा उभिएको छ । यसैबीच कलेज पढ्दै गरेकी उनकी छोरीले थपिन् ‘गाईपालन गर्ने हुन् वा कृषि तथा पशुपालन व्यवसाय अपनाउने हुन् उनीहरूलाई कम्जोर हैसियतको मानिसका रूपमा हेर्ने र हेप्ने गलत प्रबत्ति र दृष्टिकोण हावी छ । त्यसकै डर र चिन्ताले पनि धेरैले यो पेशा अपनाउन चाहेका छैनन् र चाहेकाले पनि न्याय र सम्मान पाएका छैनन् । काम जुनसुकै होस् काम गर्नेलाई ठूलो र नगर्नेलाई स्वतः सानोको वातावरण महसुस नभएसम्म यो पेशामा कामदारको अभाव रहिरहन्छ ।


यति धेरै गाई पाल्नुभएको रहेछ, अनुदान पनि पाउनुभएको छ कि ? भन्ने जिज्ञासामा तिमल्सिना परिवारको संयुक्त भनाइ आयो,– अहिलेसम्म लिएको भन्नु डेढ लाख हो । सुनिन्छ, सरकारले कृषि र पशुपालनमा राम्रै अनुदान दिएको छ । तर त्यस्तो अनुदान सक्कली कृषकले भन्दा नक्कली कृषकले धेरै पाएका छन् । हामी त गाईपालनमै व्यस्त हुन्छौं । यस्तै व्स्तताले गर्दा हामी जस्ता गाईपालकको संगठन पनि छैन । भए पनि मलाई थाहा छैन । यो एक किसिमको मिनी जेल हो भन्दा फरक पर्दैन । अनि कसैका पछि लाउन र अफिसहरू धाउन भ्याउँदैनौं, नक्कलीको त ध्याउन्न नै पेशामा नभई अनुदान पड्काउनमा हुन्छ । अनुदान पाएपछि पेशा छोड्छन् । त्यसैले अनुदान दिने निकायले फिल्डमै पुगेर फार्मको निरीक्षण गर्ने र सत्यतथ्य बुझ्ने गर्नुपर्छ ।
चुनौतिका पछाडि अवसर पनि छन् त्यहीँ अवसरलाई क्याच गर्न सके सन्तुष्टि नमिल्ने होइन । आफ्नै फार्मबाट उत्पादित ताजा दूध र त्यसका परिकार खान र ख्वाउन पाइएको छ । इमान, जमान र लगनले काम गर्ने भएपछि कोही आफन्त र कोही पराईले हेप्न पनि सक्दैनन्, सकेका छैनन् । आर्थिक रूपमा पनि सबल हुन सकिदो रहेछ जो हामीले अनुभव गरेका छौं यो नै हाम्रो खुशी र सन्तुष्टिको कुरा हो ।
२०५२ सालमा कलेज पढ्न राजधानी छिरेका श्यामकृष्णले टर्निङ प्वाइन्टको कुरामा सिनामंगलका पाउरोटी बाजेलाई प्रेरणाको कारक सम्झिए । हुन त हजुरबा हजुरआमाले नै घरमा गाई पाल्नुभएको थियो तर त्यो व्यवसायिक थिएन । सिनामंगल गैरीगाउँमा जाँदा पाउरोटी बाजे भनेर चिनिने एकजना अग्रजले व्यवसायिक रूपमा गाईपालन गरेको देखें, उहाँका कुरा सुनें अनि मलाई प्रेरित ग¥यो उहाँका कुराले ।
सरकारसँग केही गुनासो छ कि भन्ने जिज्ञासामा उनले भने,– गुनासो पनि के भन्ने ? अनुभवका आधारमा भन्नुपर्दा पशुपालनलाई प्राथमिकता दिने हो भने दानापिठोको बढ्दो भाउलाई सरकारले नियन्त्रण गरी अनुदानको समुचित र समयोचित व्यवस्थापन गर्नुपर्छ । विदेशी किसान धनी छन् तर नेपाली किसान गरिब छन् किन ? त्यसको समीक्षा गर्दै आधुनिक बिऊबिजन र अत्याधुनिक प्रविधिमा नेपाली कृषकलाई सहुलियत र अनुदानको न्यायिक व्यवस्था गरी बजारको सहजीकरण गर्नुपर्छ ।


श्यामकृष्णले गाईपालनका लागि नयाँ पुस्तालाई सन्देश दिदै भने,–सानो कमाइका लागि विदेश जाने सोच नबनाउनुस् । स्वदेशमै केही गर्ने सोच बनाउनुस् । गरे नहुने केही रहेनछ भन्ने कुरा मैले र मजस्ता धेरैले अनुभव गरेका छौं । यहीँ केही गरेका अग्रजहरूसँग सुझाव र सहयोग लिने कोसिस गर्नुस् । जे काम गरे पनि इमानदारितापूर्वक गर्नुस् । नैतिकता नगुमाउनुस् । पेशा र व्यवसायको मर्यादा राख्नुस् । काम सानो र ठूलो हुँदैन । काम काम नै हो । काममा लगनशील होऊँ, निरन्तरता दिऊँ त्यसबाट जिन्दगीमा भरपुर आनन्द पनि आउँछ जो मैले पनि पाएको छु ।