कांग्रेसभित्रको विवाद उत्कर्षमा
देउवाले पेल्ने, पौडेलले रोक्ने / काम लागेन पानी कूटनीति
काठमाडौं । सरकारको आलोचनामा कांग्रेस नेताहरु सवै एकमुख भएपनि पार्टीभित्रको निर्णय र गतिविधिमा भने चारतिर फर्किएका छन् । आन्तरिक विवाद र गटबन्दी अन्त्य गर्ने भन्दा पनि झन्झन बढाउँदै लाँदा कांग्रेस दिशाहीन बन्दै गएको छ ।
सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरुको अभियान निस्तेज पार्न पेलेर अघि बढ्ने रणनीतिमा रहेको देखिन्छ भने रामचन्द्र पौडेल पक्ष पार्टीका हरेक निर्णय सहमतिमै हुनुपर्ने र एकलौटी ढंगले अघि बढे सभापतिबाटै ठेल्ने रणनीतिमा रहेको देखिन्छ । पौडेल शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गगन थापालगायतका नेताहरुले छुट्टै वैठक बोलाएर देउवालाई साइजमा ल्याउन छलफल गरिरहेका छन् ।
यता देउवा निवासमा बसेको उनका समर्थकहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउदलगायतको वैठकले पार्टीलाई अनिर्णयको बन्दी बनाइराख्नु नहुने भन्दै कठोर निर्णय गरेर अघि बढ्न सभापति देउवालाई उकासेको स्रोतको दावी छ । तर कहाँ कस्तो निर्णय गर्ने भन्ने कुनै निर्णयमा नपुग्दा देउवा माथि अरु वैचारिक हमला हुने अवस्था देखिएको छ ।
आउँदो वैठकमा सवै मुद्दाको छिनोफानो गर्न आफू तयार रहेको देउवाले आफू निकट नेताहरुलाई बताएका छन् । पार्टीको विधान वहुमतबाट पारित गराएपछि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले फरकमत राखेका थिए भने फागुन १४ गते बोलाइएको केन्द्रीय समिति वैठक वहिस्कार गरेपछि कांग्रेसभित्रको विवादले नयाँ मोड लिएको हो ।
अनुशासन समितिको नाममा देउवाले विरोधी पक्षका नेताहरुलाई पेल्ने सम्भावना बढेको भन्दै पौडेललगायतका नेताहरु असन्तुष्ट देखिएका छन् । नेविसंघको तदर्थ समितिलगायत अरु केही विषयमा देउवा र उनका आलोचक नेताहरुबीच तिक्तता बढेको देखिन्छ ।
देउवा पक्ष र पौडेलपक्ष एकअर्कालाई गलाउने र थकाउने रणनीतिमा लागेका छन् । यसका लागि उनीहरुले आआफ्नो समूहको बैठक बोलाएर आफू अनुकुलको रणनीति बनाउन व्यस्त छन् । दुवै पक्षका आआफ्नै स्वार्थका कारण यसबीचमा भएका सहमतिका प्रयासले समेत मूर्त रूप पाउन सकेको छैन । दुवै पक्ष आ–आफ्नै अडानमा रहेकाले यही चैत ४ गतेका लागि बोलाईएको केन्द्रीय समिति वैठक बस्न नसक्ने र बसिहाले पनि निकै ठूलो चर्काचर्की हुने देखिएको एक नेताले बताएका छन् ।
एक हप्तासम्म जिल्ला भ्रमण गरेर काठमाडौँ फर्केका देउवाले पौडेल–सिटौला पक्षलाई कसरी सहमतिमा ल्याउने भन्दा पनि कसरी साइजमा ल्याउने भन्ने विषयमा आफूनिकटका नेताहरुलाई बोलाएर छलफल गरेको बुझिएको छ । छलफलमा सहभागी नेताहरुले पौडेल र सिटौलाले विभिन्न बहानामा पार्टीलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै लामो समयसम्म निर्णय नगर्दा क्षति हुने भएकाले बहुमतकै आधारमा भए पनि निर्णय गरेर अघि बढ्न सभापति देउवालाई सुझाव दिएको बुझिएको छ ।
आगामी केन्द्रीय समिति बैठकबाट अनुशासन र निर्वाचन समिति तथा नेविसङ्घको तदर्थ समितिको टुंगो लगाउनुपर्ने सुझाव दिएको एक नेताले बताएका छन् ।
देउवा पक्ष पौडल र सिटौला समूहसँग सहमतिको प्रयासका लागि संवाद गर्ने तर आफ्नो अडान नछोड्ने रणनीतिमा देखिन्छ । सहमतिका लागि प्रयास गरेको हो, सहमति जुटेन भन्दै देउवाले वहुमतबाट निर्णय गर्दै अघि बढ्ने रणनीति लिएको बुझिएको छ । पौडेल–सिटौला पक्षले वैठक वहिस्कार गरेपनि ४ गते वैठक बस्ने र पार्टीका विभाग र समितिलाई पूर्णता दिने तयारीमा देउवा पक्ष रहेको बुझिएको छ ।
पार्टीमा अनुशासन भङ्ग गर्नेलाई कारबाही हुनुपर्ने तर कारबाही गर्ने निकाय वा समिति बनाउँदा निष्पक्ष रूपमा काम गर्न सक्ने, सबैले पत्याउने खालको मान्छे छनोट गर्नुपर्ने र त्यो सवै नेताको सहमति र सल्लाहमा गठन गर्नुपर्ने पौडेल पक्षको माग छ । रामचन्द्र पौडेल भन्छन् ‘अनुशासन र निर्वाचन दुवै समिति अर्धन्यायिक हुन् । यसमा सिनियर मान्छे राख्नुपर्छ । हाम्रो भनाइ यो हो ।’ सहमतिको वातावरण नबनाई बलमिचाइँ गरे आफूलाई मान्य नहुने पौडेलले चेतावनी पनि दिएका छन् । प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको पौडेल–सिटौला पक्षको बैठकले पनि बहुमतको निर्णय मान्य नहुने पूर्ववत् अडानलाई कायमै राख्ने सहमति गरेको छ । समझदारी नभई बहुमतबाटै निर्णय लिन खोजिए बैठकमा सहभागी नहुने पनि सो वैठकले निर्णय गरेको पौडेल पक्षका एक नेताले बताएका छन् ।
उता पौडेल निकट ५६ जिल्लाका जिल्ला सभापतिले समेत पार्टी केन्द्रीय समितिको बहुमतले पारित विधानमाथि प्रश्न उठाउँदै संयुक्त विज्ञप्ति निकालेका थिए । जिल्ला सभापतिसहितको देउवा विरोधी खेमाले सभापतिले गठन गर्न लागेको अनुशासन समिति, निर्वाचन समितिलगायत मुद्दामा पछिल्लो समय असहमति जनाउँदै आएका छन् ।
आफ्नाविरुद्ध चर्को आलोचना गर्ने केन्द्रीय स्तरका नेताहरुलाई कारबाही गर्ने चेतावनी सभापति देउवाले दिइरहका बेला अनुशासन समितिमा पनि आफू निकट नेताहरुलाई चयन गर्न खोजेपछि पौडेल–सिटौला पक्ष सशंकित बनेको छ । देउवाले समितिको नेतृत्व भिष्मराज आङ्देम्बेका साथै सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई प्रस्ताव गरेका छन् । तर पौडेल र सिटौला पक्षले त्यो प्रस्ताव मान्न नसकिने बताउँदै आएका छन् ।
काँग्रेसले एक वर्षअघि तीनै तहको निर्वाचनपछि रमेश रिजालको संयोजकत्वमा अनुशासन समिति बनाएको थियो । जसमा संयोजक रिजालसहित कमला पन्त, हृदयराम थानी, उमाकान्त चौधरी र सुरेन्द्र पाण्डे सदस्य रहेका थिए । तर संयोजक रिजालले समितिबाट राजीनामा दिएपछि उक्त समिति गठन हुन सकेको छैन ।