जनमत वटुल्नका लागि ‘राजतन्त्र’ प्रयोग गर्दै राप्रपाहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनस्र्थापनाको माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ शुरु हुने चेतावनी दिएका छन् । शुक्रबार राप्रपाको १५ दिने ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को काठमाडौंमा समापन गर्दै अध्यक्ष थापाले पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध शुरु भएजस्तै आफ्नो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध शुरु हुने चेतावनी दिएका हुन् ।
उनले सबै धर्मको सम्मान हुनेगरी ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क गरेका छन् । केन्द्र र स्थानीय सरकार बलियो बनाउनु पर्ने र प्रदेश हटाएर संघीयता कायम राख्नुपर्ने तर्क पनि गरेका छन् ।
थापाले काठमाडौंबासीलाई जगाएर सम्पूर्ण नेपालीको सहयोगमा हिन्दु राष्ट्र पुनस्र्थापना गरिछाड्ने संकल्प पनि गरेका छन् । ०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएका काठमाडौंबासीले ०७४ मा पछाडिको १३ हजार मात्र भोट दिएको भन्दै उनले पटक पटक सरकारमा गएको जनतालाई मन नपरेको र अब त्यस्तो गल्ती पार्टीले नदोहोर्याउने भन्दै क्षमा समेत मागेका छन् । उनले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको एजेण्डा नछाड्ने बताएर जनताको समर्थन लिने प्रयास गरेका छन् ।
उता राप्रपा (संयुक्त) ले पनि राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र भ्रष्टाचार विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ । राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले सो चेतावनी दिएका हुन् । उनले समान विचारधारा भएका सम्पूर्ण राष्ट्रवादीलाई एकीकृत गर्दै जाने समेत बताएका छन् ।
जवराको तर्क छ –‘राष्ट्रपति निष्पक्ष नहुने हुँदा सबैलाई स्वीकार्य हुने राजसंस्थाको आवश्यक्ता छ । पृथ्वीनारायण शाह, बहादुर शाह लगायतका शाह वंशले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेको कारण राजसंस्थाको सम्मान गर्न आवश्यक छ ।’
केही महिना अघि मात्र राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) मिलेर राप्रपा (संयुक्त) बनेको थियो । उनले यो पार्टी अब कहिल्यै नफुट्ने र अझ बढी नेता, कार्यकताहरु समाहित हुने दावी पनि गरेका छन् । राष्ट्रलाई सही नेतृत्व गर्ने पार्टीको रुपमा राप्रपा संयुक्त उदय हुने पनि उनको दावी छ ।
राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने अध्यक्ष जवराले बताएका छन् ।
तराईमा केही दिनअघि आयोजित कार्यक्रममा सहभागी अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मधेस लगायतका पिछडिएका क्षेत्र, समुदायको नाममा सत्तारुढ पक्षले नारा मात्र लगाउने काम गरेको आरोप लगाएका छन् । मधेस लगायत सबै पिछडिएका क्षेत्र, समुदायको पक्षमा राप्रपा (संयुक्त) ले ठोस नतिजा हासिल गर्ने लक्ष्य लिएको उनले बताएका छन् ।
अध्यक्ष लोहनीले भने ‘राजा सहितको प्रजातन्त्रको मोडलमा विश्वका धेरै प्रजातान्त्रिक मुलुकहरुले समाजिक न्याय, विकास र समृद्धि प्राप्त गरेको छ । यो यथार्थ हो । त्यसकारण राजा सहितको प्रजातन्त्रको अवधारणालाई पच्छगामी देख्नु गल्ती हो ।’