पूर्वराजा ज्ञानेन्द्रलाई जनताले घेरे
धार्मिक भ्रमणका नाममा जनमत बुझ्दै पूर्वराजा
जनकपुरधाम । केही दिन मध्यतराईको भ्रमण गरेर पूर्वराजा ज्ञानेन्द्र शाह झापा फिरेका छन् । जनकपुरधामस्थित जानकी मन्दिर, सप्तरीको छिन्नमस्ता शक्तिपीठ, सर्लाहीको दूर्गा भगवती मन्दिरलगायतको दर्शन गरेका थिए ।
फागुन २२ गतेदेखि नै मध्यतराईको भ्रमण गर्ने तयारी भएपनि पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्नराज्यलक्ष्मी शाह बिरामी भएका कारण भ्रमण स्थगित गरेर काठमाडौं फर्किएका थिए । आमाको स्वास्थ्यमा सुधार आएपछि झापा फर्किएका पूर्वराजाले बुधबार, बिहीबार, शुक्रबार र शनिबार प्रदेश २ को राजधानी तथा धार्मिक नगरी जनकपुरधामलाई मुकाम बनाएर विभिन्न जिल्लाको भ्रमण गरेका हुन् ।
उनको यो भ्रमण विशुद्ध धार्मिक भनिएपनि राजनीतिक जस्तो देखिएको छ । पूर्वराजाले पूजाआजासँगै स्थानीय जनतासँग भेटघाटमा आफूलाई केन्द्रित गरेका थिए । सडकमा मान्छेको समूह देखिनासाथ गाडी रोकेर कुराकानी गर्नुले पनि यो उनको धार्मिक भ्रमण मात्र होइन भन्ने प्रष्ट हुन्छ ।
मधेसी जनताको पीरमर्का र असन्तुष्टि सुन्नका लागि पूर्वराजाले सकेसम्म बढी समय व्यतित गरेका थिए । जनताले धर्म र देश रक्षाका लागि राजा चाहियो भनेर एकमात्र माग राखेको पूर्वराजाको भ्रमणमा सहभागी शिव सेनाका अध्यक्ष अनिल बस्नेतले बताएका छन् ।
पूर्वराजाका निजी सचिव डा.फणिराज पाठकले पूर्वराजाको भ्रमण विशुद्ध धर्मिक भएको दावी गर्दै पूर्वनिर्धारित भ्रमण भएकाले मधेसका जनतासँग संवाद हुनु स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।
पूर्वराजा शाहको स्वागतका लागि मन्दिरमा रातो कार्पेट बिछ्याइएको थियो भने समर्थकले फूलमाला र पूर्वराजा–रानीका तस्विर समातेर स्वागत गरेका थिए । मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा हस्तान्तरण गर्दै पूर्वराजा शाहलाई स्वागत गरेका थिए ।
पूर्वराजालाई तराईका विभिन्न ठाउँमा हजारौ सर्वसाधारणले घेरेका थिए । पूर्वराजालाई भेट्न र छुनका लागि सर्वसाधारणको तँछाड मछाड चलेको थियो । भिड नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । स्थानीय प्रशासनले पूर्वराजाको सुरक्षार्थ र भीड नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो । पूर्वराजाको स्वागतमा विभिन्न ठाउँमा गेट बनाइएको थियो । उनीहरुले ‘राजा आऊ, मधेस बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए । साथै राजतन्त्रकालमा झै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको फोटोसहितका ब्यानर बोकेका थिए । व्यानरमा ‘श्री ५ महाराजाधिराज र श्री ५ बडामहारानी’ भन्ने सम्बोधन गरिएको थियो भने स्वागत गेटहरुमा पनि सोही भाषा लेखिएको थियो ।
स्थानीयले पूर्वराजालाई राजतन्त्र हटेपछि मधेसले दुःख पाएको भन्दै हिन्दु धर्मको रक्षाका लागि राजा पुनः आउनुपर्ने बताएका थिए । पूर्वराजाले भने मुन्टो हल्लाउने बाहेक कुनै प्रतिक्रिया दिएनन् । तर, उनी आफ्नो स्वागतमा हजारौं सर्वसाधारणको उपस्थिति देख्दा दंग थिए ।
पूर्वराजाको स्वागतमा भेला भएका र नारा लगाउनेहरु धेरैजसो युवा र महिला थिए भने राजपा, कांग्रेसका नेता तथा कतिपय स्थानीय तहका जनप्रतिनिधि समेत सहभागि थिए । सर्लाही सदरमुकाममा पूर्वराजा आराम गरेको ठाउँमा भेट्न त्यहाँका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु पनि पुगेका थिए ।
आफ्नो पक्षमा सडकमा उर्लिएको भीड, राजतन्त्रको पक्षको नाराबाजी र मन्दिरमा समेत पुजारीहरुले राजतन्त्र पुनर्वहालीको आशिर्वचन दिँदा ज्ञानेन्द्र मुसुमुसु हाँस्दै मुन्टो मात्र हल्लाए कुनै प्रतिक्रिया भने दिएनन् । उनले जनकपुरमा सन्त महन्थहरुसँग भेटघाट पनि गरेका थिए ।
भ्रमणबारे सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया नदिएका पूर्वराजाले अनौपचारिक रुपमा जनताको चाहना जे छ, त्यो नै आफ्नो चाहना भएको बताउँदै जनता के भन्छन्, त्यो सुनेर बाहिर लगिदिन आग्रह गरेका थिए ।
पूर्वराजाले माटोको भार नलागोस् भन्नेमा सबै चिन्तनशील हुनुपर्ने बताउँदै देशको हितबाहेक आफ्नो पूर्खादेखि अरु केही नसोचिएको बताए । उनल आजको अवस्थाबारे जनता के भन्छन् भन्ने बुझिदिन आग्रह पनि गरे ।
मधेशको अवस्था कस्तो लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वराजा शाहले ‘मधेश होइन तराई भन्नुपर्ने बताएका छन् । उनले जनता वर्तमान सरकारको नेतृत्वप्रति असन्तुष्ट रहेको सहजै बुझ्न सकिने बताए । जानकी मन्दिरमा पूजा अर्चनापश्चात पूर्वराजा शाहले देशमा शान्ति र जनताको भलो चाहेको प्रतिक्रिया दिए ।
जनकपुरका एक नागरिक अगुवाले पछिल्लो समय मधेसमा सबैखाले उग्रवादी र राष्ट्रघाती प्रयोगहरु असफल भइसकेकाले अब बैदिक सनातन राज्य जोगाउन मधेसमा हिन्दु राज्यको माग उठ्ने आँकलन गरेका छन् । पूर्वराजाले मधेसी जनतासँग संवाद गर्ने उपयुक्त बेला नै यही भएकाले जनकपुरलाई केन्द्र बनाएर मधेस मिसन थालिएको हुन सक्ने उनको विश्लेषण छ । यद्यपि हिन्दुत्वको आन्दोलन पूर्वराजाले होइन, मधेसी जनताकै अगुवाइमा हुनसक्ने उनको विश्लेषण छ ।
मधेसी हिन्दुहरु वैदिक मान्यता र हिन्दु सनातन संस्कृतिसँग बढी नै कट्टर रहेको र धर्म परिवर्तनले उनीहरुलाई अहिलेसम्म प्रभाव पार्न नसकेकाले पूर्व राजाले अन्तिम अस्त्रका रुपमा मधेसमा हिन्दु कार्ड फाल्न खोजेको आँकलन तराईका विश्लेषकरुको छ ।