कांग्रेसमा चुलियो आन्तरिक विवाद
केन्द्रीय सभापतिलाई एम्वुस थाप्दै जिल्ला सभापतिहरु
काठमाडौं । ससाना कुरामा अल्मलिइरहेका नेता, कार्यकर्ताका कारण कांग्रेसको आन्तरिक एकता कमजोर हुँदै गएको छ । यसले गर्दा काँग्रेसको आन्तरिक जीवन नै संकटग्रस्त हुँदै गएको देखिएको छ । पार्टीभित्र सभापति शेरबहादुर देउवाका क्रियाकलापप्रति व्यापक आलोचना भइरहेको छ । देउवाले वहुमतको बलमा आफ्ना आलोचकहरुलाई पेल्दै गएपछि पार्टीभित्र झन्झन् विवाद देखिन थालेको छ ।
जिल्ला सभापतिहरुका सुझाव र महासमिति वैठकको निर्णयविरुद्ध देउवा अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवाप्रति रुष्ट बन्दै गएका छन् ।
पार्टीको अनुशासन र निर्वाचन समिति गठनलाई लिएर पार्टीभित्रै निकै विवाद बढेको थियो । पौडेल र सिटौला पक्षले सहमतिमा समितिहरु गठन गर्नुपर्ने बताएपनि देउवाले आफूखुशी समितिको संयोजक र सदस्य तोकेर पौडेल र सिटौलालाई भाग छुट्याएर सदस्यको नाम दिन भनेका थिए । कृष्ण सिटौला र रामचन्द्र पौडेलले पठाएका नामहरु समेटेर देउवाले समितिलाई पूर्णता दिएपछि तत्सम्वन्धी विवाद टुंगिएको छ । तर सभापति देउवाले आफ्ना अनुचरहरुलाई संरक्षण गर्नकै लागि दलमा जथाभावी निर्णय लादेको भन्दै देशभरका जिल्ला सभापतिहरु देउवाविरुद्ध लडाइँ गर्ने तयारीमा छन् ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको बिहीबार बसेको बैठकले चैत २० र २१ गते राजधानीमा भेला गर्ने निर्णय समेत गरेको छ । पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन एक तिहाइ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर चाहिन्छ । उनीहरुले हस्ताक्षर अभियान चलाउने तयारी गरिसकेका छन् । स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान हटाउने तथा आरक्षणको सुविधा दो¥होयाउन नपाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने माग केन्द्रीय कार्यसमितिले सम्बोधन नगरेपछि जिल्ला सभापतिहरू विशेष महाधिवेशनको छलफलमा जुटेका हुन् ।
पुस पहिलो साता सम्पन्न महासमिति बैठकमा ५० भन्दा बढी जिल्ला सभापतिले स्वतः प्रतिनिधिको प्रावधान हटाउन प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि छलफल हुने क्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमिति बैठकबाट माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । तर केन्द्रीय कार्यसमितिको फागुन १२ को बैठकले स्वतः प्रतिनिधिको व्यवस्था यथावत् राख्ने निर्णय गरेको थियो । त्यस्तै आरक्षणको सुविधा दोहो¥याउन नपाउने व्यवस्थासमेत विधानमा थपिएन ।
सभापति देउवा आफ्नै पूर्वप्रतिबद्धताबाट पछि हट्दै स्वतः प्रतिनिधि यथावत् राख्नुपर्ने पक्षमा उभिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित संस्थापनइतर समूहका नेता विपक्षमा उभिएका थिए । सहमति नभएपछि बहुमतबाट विधान पारित भएको थियो । संस्थापन इतरपक्षीय नेताहरूले निर्णयमा फरक मतसमेत लेखेका थिए ।
देउवा पक्षले पेलेर पारित गरेको विधानमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशन र पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेश सभाका सांसद र सांसदका उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था छ ।
विधानजस्तो विषयमा बहुमतबाट पारित हुनु दुर्भाग्य भएको भन्दै ५६ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै स्वतः प्रतिनिधिको प्रावधान नहटाइए र आरक्षणको सुविधा दोहो¥याउन नपाउने व्यवस्था विधानमा थप नगरिए विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने चेतावनी दिएका थिए । तर सभापति देउवाले उनीहरुको चेतावनीलाई वेवास्ता गर्दै अघि बढेपछि चिढिएका जिल्ला सभापतिहरूले देउवाविरुद्ध विशेष महाधिवेशनको एम्वुस थाप्ने तयारीमा लागेका हुन् ।
गत शुक्रवार अनामनगरमा भेला भएका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुले देउवालाई सभापतिबाट अपदस्थ गर्ने योजनाका साथ विशेष महाधिवेशन बोलाउनकै लागि महासमितिका सदस्यको हस्ताक्षर अभियान चलाउने निष्कर्ष निकालेको एक सभापतिले बताएका छन् ।
सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान थालिने तयारी भइरहेको यो अभियानमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहको सक्रियता देखिए पनि दुवै समूहमा नलागेका र १३ औं महाधिवेशनमा देउवाका पक्षमा रहेका कतिपय जिल्लासभापति समेत यतिबेला देउवालाई अपदस्थ गर्ने रणनीतिमा सक्रिय भएर लागेको बताइएको छ । देउवालाई सभापतिबाट हटाउने तयारी भएपनि नयाँ सभापति कसलाई बनाउने भन्नेमा भने जिल्ला सभापतिहरु अल्मलमा देखिन्छन् ।
जिल्ला सभापतिको गोप्य बैठकले देउवालाई विशेष महाधिवेशन बोलाउन बाध्य बनाउने योजनाका साथ महासमितिका सदस्यको हस्ताक्षर अभियान चलाउने सहमति गरेको बुझिएको छ । यो अभियानको नेतृत्व नुवाकोटका काँग्रेस जिल्ला सभापति जगदीश्वरनर सिंह केसीले लिएका छन् ।
देउवाले काँग्रेसलाई हानि पु¥याएको, कार्यकर्तालाई न्याय गर्न नसकेको, दलमा स्वेच्छाचारीता हावी गराएको र महासमितिको निर्णय केन्द्रीय समितिले उल्ट्याएकोमा जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् ।
२६ जिल्ला सभापति सहभागी गोप्य वैठकले महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याएपछि विधानलाई टेकेरै विशेष महाविधेशनका लागि ७७ जिल्लामै हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेको एक जिल्ला सभापतिले बताएका छन् । पार्टी संस्थापनले जितेका जिल्लामा सभापतिका निकटतम प्रतिद्वन्द्वी बनेका उम्मेदवारको नेतृत्वमा हस्ताक्षर अभियान चलाइने बताइएको छ ।
भेलामा जगदीश्वरनरसिंह केसी (नुवाकोट), मधु आचार्य (काभ्रे), सबुज बानियाँ (काठमाडौं), हिमालय कर्माचार्य (इलाम), लीला बोखिम (ताप्लेजुङ), विकास लामा (सिन्धुपाल्चोक), खड्गबहादुर शाही (मुगू), अमरसिंह पुन (रोल्पा) र नरेश श्रेष्ठ (खोटाङ) लगायतको सहभागिता थियो ।
यसले काँग्रेसले पार्टी विधान बहुमतबाट पारित गरेपछि सुरु भएको काँग्रेस नेताबीचको दूरी अझै बढाउने संकेत देखा पर्न थालेको छ । केन्द्रमा शीर्ष नेतृत्वबीच बढेको यो दूरी र खासगरी देउवाइतर खेमालाई जिल्लाबाट समेत बल पुग्नेगरी अभियान थालिएको हो ।
यसले गर्दा पनि केन्द्रमा असहमति जनाउँदै आएका नेताको हौसला अझ बढेको आँकलन गर्न थालिएको छ । आफूहरुको असहमति हुँदाहुँदै पनि सभापति देउवाले बहुमतका आडमा जबर्जस्ती विधान पारित गरेपछि उनीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेताले गत फागुन १४ गते बोलाइएको केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । असन्तुष्ट पक्षले बैठक बहिष्कार गरेपछि आफूविरुद्ध रहेको खेमालाई गलाएरै जाने रणनीतिमा लागेका देउवा यतिबेला एकाएक रक्षात्मक अवस्थामा आइपुगेको ती जिल्ला सभापतिहरुको निष्कर्ष छ ।
आफूविरुद्धको अभियानलाई तीव्र बनाएसँगै देउवा रक्षात्मक हुँदै विरोधीको अभियानलाई निस्तेज बनाउने रणनीतिमा जुटेका छन् भने देउवाविरोधीहरु उनलाई कमजोर बनाएरै छाड्ने रणनीतिमा लागेको देखिन्छ । नेताहरुको स्वार्थले पार्टी भने झन्झन् कमजोर बन्दै गएको छ ।
पूर्वसभापतिलाई विर्सियो कांग्रेसले
नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा पार्टीले औपचारिक रुपमा कुनै पनि कार्यक्रम गरेन ।
केन्द्रीय नीति अनुरुप कुनै औपचारिक कार्यक्रम पार्टीबाट नगरिए पनि केही जिल्ला कार्य समितिहरु र जिपी कोइराला फाउन्डेसनले दीप प्रज्ज्वलन गरेर कोइरालाको स्मृति गर्यो । माइतीघरमा बिहीबार साँझ फाउन्डेशनले गरेको दीप प्रज्वलन कार्यक्रममा पार्टीका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला उपस्थित थिए ।
पार्टीले भने आफ्ना पूर्वसभापतिलाई राम्रोसँग सम्झना गर्न समेत नभ्याएको भन्दै नेतृत्वको टिप्पणी हुन थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा कोइरालाप्रति खासै अनुराग नराख्ने व्यक्तिका रुपमा चिनिन्छन् भने अन्य नेताहरुले पनि कोइरालाको पुण्यतिथि समेत विर्सिएको कार्यकर्ताको टिप्पणी छ ।
पार्टीको केन्द्रीय कार्यालयमा कोइरालाको तस्बिर राखेर श्रद्धाञ्जलीको कार्यक्रम राखिए पनि थोरै मात्र नेता कार्यकर्ता भेला भएका थिए । कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र वीपी कोइरालाको स्मृतिमा पनि पार्टीले औपचारिक कार्यक्रम नगरेको बताइएको छ ।
पार्टीको क्यालेन्डरमा वरिष्ठ नेताहरुको जन्मोत्सव सात दिन मनाउने र स्मृति दिवस एक दिन मनाउने भनिएको छ । तर कोइराला बाँचुन्जेल जयजयकार गर्ने र कोइरालाले नै राजनीतिक बाटो देखाएका नेता, कार्यकर्ता समेत उनीप्रति उदासिन हुनुलाई कतिपय नेताले कृतघ्नता भनेका छन् ।
शान्ति प्रक्रियाका ‘नायक’का रुपमा परिचित कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । १० वर्ष सशस्त्र युद्ध गरेको तत्कालीन माओवादी कोइरालाकै पहलमा मूलधारको राजनीतिमा अवतरण गरेको थियो । कोइरालाको जन्म १९८१ असार १८ मा भएको थियो ।