दीर्घकालीन विकासको सोचलाई उपलव्धिमा रुपान्तरण गर्न लगानी सम्मेलनमा

काठमाडौं । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्न सरकारले यही चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । कृषिको व्यावसायीकरण, पर्यटन, ऊर्जा, सडक, रेल, हवाई, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मेलन गर्न लागिएको हो ।
दीर्घकालीन विकासको सोचलाई उपलब्धिमा रूपान्तरण गर्न आयोजना गरिएको सम्मेलनमा नेपालको तुलनात्मक लाभ र बजार प्रवद्र्धन गर्न सकिने र निर्यातको सम्भावना रहेका क्षेत्रमा निजी लगानी प्रोत्साहित गरिने बताइएको छ ।
२०७३ सालमा पनि लगानी सम्मेलन भएको थियो । त्यसमा के–के उपलब्धि भयो र के–के गरियो भन्ने जानकारी दिनु पनि यो सम्मेलनको उद्देश्य रहेको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
२०७३ को लगानी सम्मेलनमा करिब १४ खर्ब रुपियाँको प्रतिवद्धता आएको थियो तर मन्त्री खतिवडाका अनुसार नेपालमा २७५ अर्ब रुपियाँको लगानी सम्झौता भएको छ । विदेशी सहायताको प्रतिवद्धता बढेको चर्चा गर्दै अर्थमन्त्री खतिवडाले ‘लगानीको सम्भावना र वातावरणलाई हामीले राम्रोसँग प्रस्तुत गर्न नसकेको हो कि ? सम्मेलनबाट यी कुरा पनि प्रष्ट हुनेछ ।’ भनेका छन् ।
सम्भावनालाई विश्वास र विश्वासलाई कार्यान्वयनमा लैजाने वातावरण सम्मेलनले बनाउने बताउँदै अर्थमन्त्री खतिवडाले सम्मेलनमा नेपालमा लगानीको वातावरणमा भएका सुधारलाई प्रस्तुत गरिने बताएका छन् । यसका लागि झण्डै एक दर्जन कानुनी सुधार गरिएको बताइएको छ ।
लगानी बोर्डलाई शक्तिशाली र प्रभावकारी बनाउने, सार्वजनिक खरिद ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन, औद्योगिक व्यवसाय ऐन र नियमावली, विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन संशोधन गरिएको बताइएको छ ।
सम्मेलनमा नेपालमा लगानीका अवसरहरु, आर्थिक रुपमान्तरणका लागि १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत डिजिटल अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण कृषि तथा वनजन्य उत्पादनमा लगानीको अनुभव र लगानीमा अन्तर्राष्ट्रिय अनुभव लगायतका बिषयमा छलफल हुनेछ ।
लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सहआयोजनामा हुने लगानी सम्मेलनमा विभिन्न मुलुकका संभावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली संघ, निजी क्षेत्र, विषयविज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च पदाधिकारीहरुको सहभागिता रहने छ ।
लगानी सम्मेलनमा ३८ मुलुकका ६ सय भन्दा बढी लगानीकर्ताले सहभागिता जनाउने बताइएको छ । हालसम्म ६ सय ३० जनाको सहभागिता हुने पक्का भइसकेको र अझै बढ्न सक्ने लगानी बोर्डले जनाएको छ ।
बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाएको थियो । सम्मेलनमा १६० जनाभन्दा बढी नेपाली लगानीकर्ता सहभागी हुनेछन्् ।
सम्मेलनको चैत १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ भने उद्घाटन सत्रमा ८ जना वक्ता रहेछन्् । सम्मेलनमा ४० जना विदेशी वक्ता हुने छन् ।
उद्घाटन शत्रको अध्यक्षता प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष ओलीले गर्ने छन् भने अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका यूनियन मन्त्री उ ताउन टून, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष शाहाद नासिम, दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोट र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मन्तव्य व्यक्त गर्ने छन् ।
त्यस्तै उद्घाटनपश्चात विभिन्न समूह बनाएर लगानीसम्बन्धी छलफल गर्ने कार्यक्रम छ । यस सत्रमा नेपालमा लगानीका सम्भावनाका विषयमा प्रस्तुति राखिने छ । बोर्डका अनुसार उद्घाटनपछि १५ गते नै हुने प्लेनरी सत्रमा ३ जना वक्ता छन्, जसको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नेछन्् ।
अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका संस्थापक अध्यक्ष सुरज वैद्यले प्रस्तुति राख्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।
उद्घाटनका दिन उर्जासम्बन्धी अर्को प्यानलमा छलफल हुनेछ । आर्थिक रुपान्तरणका लागि उर्जा उत्पादन नाम दिइएको उक्त सत्रमा उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले सभाको अध्यक्षता गर्नेछन्् ।
यसैगरी सूचना तथा सञ्चार प्रविधिलाई छुट्टै शत्रमा राखिएको छ । यस सत्रमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ । यसको अध्यक्षता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गर्नेछन्् ।
त्यसैगरी अन्य सत्रहरुको अध्यक्षता मन्त्रीले गर्ने भए पनि पर्यटनसम्बन्धी लगानीका विषयमा छलफल हुने सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले गर्ने भएका छन्् ।
औद्योगिक आधार निर्माण र रोजगारी सिर्जनाका लागि अर्को सत्रको अध्यक्षता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गर्नेछन्् ।
तेस्रो सत्रमा भौतिक, पूर्वाधार तथा यातायात क्षेत्रमा लगानीका विषयमा छलफल हुनेछ । यसको अध्यक्षता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले गर्नेछन्् ।
बोर्डका अनुसार यस शत्रमा मन्त्रालयकै सहसचिव गोपाल प्रसाद सिग्देल, पूर्वाधार विज्ञ एण्डरियस क्रेमर, विश्व बैंकका यातायात विज्ञ अर्नब बनयोपाध्या लगायतको प्रस्तुति हुनेछ ।
अर्को शत्रमा कृषि र वनका विषयमा लगानी सम्बन्धी प्रस्तुति राखिने बोर्डले जनाएको छ । यसमा पनि विभागीय मन्त्री चक्रपाणि खनालले अध्यक्षता गर्नेछन्् ।
मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्की, डाबर इण्डियाका विजनेश प्रमुख हरकिरात सिंह बेदी, विज्ञ राजीव गांधी, गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यान लगायतको प्रस्तुति रहने बोर्डले जनाएको छ ।
नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुले आफ्नो अनुभव सुनाउने सत्र पनि लगानी सम्मेलनमा राखिएको छ । यस सत्रमा नेपालका तर्फबाट एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेनले विशेष मन्तव्य राख्ने बोर्डले जनाएको छ ।
यसैगरी युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष राई, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, उद्योगी नन्दलाल शर्मा, स्टाण्डर्ड चार्टड बैंकका भियतनामका सीईओ निरुक्ट साप्रु, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो लगायतले नेपालमा लगानीका विषयमा आफ्ना अनुभव सुनाउने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरका लगानी प्रबद्र्धन इकाईहरुले आफ्नो अनुभव बाँड्ने कार्यक्रम समेत राखिएको छ । यस शत्रमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष हान्स पिटरले विशेष मन्तव्य राख्ने बोर्डले जनाएको छ ।
उनका साथै युएईका वैदेशिक व्यापार सहसचिव अब्दुल अल सालेह, इनभेष्ट इन्डियाका सीईओ दीपक बाग्लालगायतका चर्चित उद्योगी–व्यापारीहरुले आफ्नो अनुभव सुनाउने बोर्डले बताएको छ ।
पूर्वाधार विकासका लागि कसरी लगानी जुटाउने भन्ने विषयमा समेत छुट्टै छलफल हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार यस विषयमा छलफल गर्न मिगाका कार्यकारी प्रमुख केइको होण्डा, एआइआइबीका महानिर्देशक डोन ली, एलियान्ज इन्भेस्टमेन्टका उपाध्यक्ष एल्कि पाइफर, एफएमओको दक्षिण एशियाली उर्जा विभागका प्रमुख गिरत फिज्नत, ग्यारेन्टको कम्पनीका दक्षिण एशिया निर्देशक निशान्त कुमार, एक्जिम बैंक भारतका प्रमुख प्रबन्धक स्यामु अल जोसेफ र सिडिसीका स्रीनी नागराजनले आफ्नो विचार राख्नेछन्् ।
त्यसैगरी १६ चैतको समापन सत्रमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, स्काई पावरका अध्यक्ष एवं सीईओ क्रेरी एड्लर र ट्रकसेलका सीईओ कान लगायतले मन्तव्य राख्ने बताइएको छ ।