प्रहरीको निशानामा विप्लव

विध्वंसकारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउन प्रमको चेतावनी

काठमाडौं । सरकारले सबैभन्दा ठूलो सुुरक्षा चुनौती मान्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिवन्ध लगाएपछि प्रहरीले सो पार्टीका नेता÷कार्यकर्ताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
राज्य सत्ता नै फेरवदल हुनुपर्छ र संसदीय गणतन्त्र चाहिदैन भन्दै वर्तमान प्रणालीलाई चुनौती दिइरहेको विप्लवको पार्टीले बम विस्फोटदेखि चन्दा असुलीलाई तीव्रता दिएपछि सरकारले आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ ।
प्रहरीले विप्लव समूहका मध्यक्षेत्रीय कमाण्ड समालेका हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले काभ्रेको खानीखोला गाँउपालिका– ३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार ओलीसहित चन्द समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, एक गाडीचालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङसहितका कार्यकर्ता पक्राउ परेका हुन् ।
स्रोतका अनुसार काभ्रेको काफलडाँडाबाट भागेर अर्कै स्थानमा पुगेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो । प्रहरी त्यहाँ नपुग्दै गाडी चढेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
गत मंगलबार काभ्रेको काफलडाँडामा उनी रहेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी र चन्द समूहबीच गोली हानाहान भएको थियो भने ओली भाग्न सफल भएपनि दाङका नुमबहादुर विक र भोजपुरका डिकेन्द्र राईलाई समातेको थियो । त्यसयता प्रहरी ओलीको खोजीमा लागेको थियो । ललितपुरको नख्खुस्थित एनसेल गेटमा भएको विष्फोटमा ओलीलाई मुख्य योजनाकार मानिएको छ । उनलाई राज्यविद्रोहको मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।
यसअघि उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित पाँच जनालाई पक्राउ गरेको थियो । झापाका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई भैसेपाटीमा एनसेलको कार्यालयमा बम विस्फोट गराएको अभियोगमा पक्राउ गरिएको थियो भने विप्लवका अंगरक्षक सूर्यप्रसाद भुजेललाई सोही विस्फोटको योजनाकार भन्दै यसअघि नै पक्राउ गरेको थियो ।
मुलुकभर सो समूहका गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता सुवेदीले बताएका छन् । सरकारले सो समूहका प्रभावशाली नेताहरुलाई पक्राउ गरेर चन्दलाई कमजोर बनाउने रणनीति लिएको देखिन्छ । प्रहरीले नेता चन्ददेखि सो पार्टीका प्रमुख नेताहरुमाथि निगरानी बढाएको बुझिएको छ ।
सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको निष्कर्ष छ । गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ ।
यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनु पर्ने बताएका छन् ।
शुक्रबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चन्द समूहलाई शान्ति प्रक्रियामा आउन अनुरोध गरिएको बताए । चन्द समूहलाई आतंककारी गतिविधि नगर्न भन्दा विरोध जनाउनु आश्चर्यको विषय भएको उनले बताए ।
ओलीले सिके राउत समूहले विखण्डनको राजनीति छोडेर भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु पर्छ भनेर मूलधारको राजनीतिमा आएको बताए ।