बारमा कम्युनिस्ट र कांग्रेसको टक्कर
कसले मार्ला वाजी ?
काठमाडौं- वकिलहरुको साझा संस्था नेपाल बार एसोसिएशनको चुनाव यही चैत १६ गते भोलि हुँदैछ । चुनाव नजिकिएसँगै वकिलहरु नेतृत्व हत्याउने होडमा लागेका छन् । विशेष गरेर कांग्रेस र कम्युनिष्ट समर्थित वकिलले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यसलाई सत्तारुढ नेकपा र विपक्षी कांग्रेसबीचको प्रतिस्पर्धा भन्दा दुईमत नहोला ।
नेकपा समर्थित अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठको प्यानललाई प्रगतिशील, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह नाम दिइएको छ । यो प्यानलले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकार ः स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा अघि सारेको छ ।
उता कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार सुनिल पोखरेल नेतृत्वको प्यानललाई वृहत् लोकतान्त्रिक, समावेशी तथा पेशागत समूह भनिएको छ । यो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र नीर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा बनाएको छ ।
नेपाल बार एशोसियसनको निर्वाचनमा यसपटक दुवै प्यानलबीच राम्रो टक्कर हुने कानून व्यवसायीहरु बताउँछन् । विगतमा भन्दा यसपटक फरक परिदृश्य नरहेको र सधैं बामपन्थीहरु मिलेरै लडेकाले अहिले उनीहरुको शक्ति नथपिएको दावी कांग्रेस समर्थित कानुन व्यवसायीहरुको छ ।
यो चुनावमा कम्युनिस्टहरुलाई पराजित गर्दा कांग्रेसमा उर्जा थपिने र दुई तिहाईको सरकार चलाइरहेको नेकपालाई धक्का पुग्ने उनीहरुको विश्लेषण छ ।
उता नेकपा निकट कानुन व्यवसायीहरु भने अघिल्लो चुनावमा अन्तरघातका कारण एक सय भोटको अन्तरमा पराजित भएको भन्दै यसपटक त्यो अवस्था नरहेकाले आफूहरुको जित सुनिश्चित बनेको दावी गरिरहेका छन्् ।
प्रधानन्यायाधीश सुशीला कार्की माथिको महाअभियोग प्रकरणदेखि दीपकराज जोशीलाई जोगाउने प्रकरणसम्म आइपुग्दा कांग्रेस निकट वकिल नेतृत्वको नेपाल बार बद्नाम भएकाले बलियो बारका लागि यसपटक बामपन्थी प्यानलले जित्ने दावी उनीहरुको छ ।
दुवै समूहले आफू समर्थित वकिलहरुको संख्या तुलना गर्दै आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरेपनि मतदाताले एजेण्डा र व्यक्तिसमेत छनौट गर्ने भएकाले दलीय आधारमा मात्र मत खस्ने देखिदैन । मधेसवादी दल र राप्रपा आवद्ध वकिलहरुको मत कहिल्यै पनि संगठित रुपमा एकै ठाउँमा जाने गरेको छैन ।यसले दुई प्यानलको आँकलनलाई पनि तलमाथि पार्ने देखिन्छ । थोरै मतको हारजित हुने अवस्थामा राप्रपा समर्थित र स्वतन्त्र वकिलहरुको मत निर्णायक हुन सक्ने देखिन्छ ।
को–को छन् उम्मेदवार ?
वामपन्थी निकट चण्डेश्वर श्रेष्ठको प्यानलबाट प्रदेश उपाध्यक्षमा १ देखि ७ सम्म क्रमशः मानबहादुर रुम्दाली राई, रामचन्द्र सिंह, इश्वरीप्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, लीलाधर मरासिनी, मीनबहादुर महत र उमेशप्रसाद विष्ट छन्् । त्यस्तै महिला उपाध्यक्षमा रक्षा बस्याल, महासचिवमा सुरेन्द्रवहादुर थापा र कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेललाई अघि सारिएको छ । सदस्यहरुमा खुलातर्फ भीमसेन बञ्जारा, गंगासागर खत्री, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन्् ।
त्यस्तै दलितबाट मोहन साशंकर, मधेशीबाट पन्चनारायण मण्डल, विरेन्द्रकुमार ठाकुर अािदवासीतर्फ विनाकुमारी सिंह चौधरी, बद्री नगरकोटी, महिलातर्फ कल्पना भण्डारी र अन्जु कायस्थलाई उम्मेदवार बनाइएको छ ।
कांग्रेस निकट सुनिल पोखरलेको प्यानलबाट प्रदेशतर्फ उपाध्यक्षहरुमा १ देखि ७ सम्म क्रमशः डिल्लीवहादुर कार्की, सुधीरकुमार कर्ण, राजेश्वर अधिकारी, निरन्जनलाल राजभण्डारी, सुनिलकुमार श्रेष्ठ, उत्तम आचार्य र ठेकेन्द्रराज जोशी उम्मेदवार बनेका छन्् ।
त्यस्तै महिला उपाध्यक्षमा कबिता थापा कार्की, महासचिवमा लिलामणी पौडेल र कोषाध्यक्षमा तेजवहादुर रावल उम्मेदवार छन्् ।
सदस्यहरुमा खुलातर्फ टेकप्रसाद सुवेदी, गोपी शर्मा सुवेदी, खेमराज न्यौपाने, शिवप्रसाद रेग्मी, कृष्ण घिमिरे र रमेशकुमार ढकाल उम्मेदवार छन्् । अन्य सदस्यहरुमा मधेसीबाट शेषमान यादव, मनोजकुमार चौधरी, आदिवासी जनजातिबाट अमृत लामा, कैलाश गुरुङ महिलाबाट शिवाली जोशी र सोनी रघुवंशी छन्् ।