राउतको अवतरणले रन्थनिए फोरम र राजपा

काठमाडौं । तराईमा सिके राउतले ‘जनमत’ नामक छुट्टै पार्टी गठन गरेपछि तराई केन्द्रित अन्य दलहरुमा मानसिक दवाव बढेसँगै एकतामा तातो लागेको देखिएको छ । धेरै वटा पार्टी हँुदा जनमत बाँडिने र उग्रविचार राख्ने सिके राउततिर आकर्षिक हुन सक्ने आशंका गर्दै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर अघि बढ्ने कुरामा वार्ता शुरु भएको छ ।
तर एकताका लागि दुवै पार्टीले शर्त राखेकाले तत्काल पार्टी एकीकरण हुने सम्भावना न्यून देखिन्छ । प्रदेश नं. २ मा फोरम र राजपाको सरकार छ भने केन्द्र सरकारलाई दुवै पार्टीले समर्थन गरेका थिए । राजपाले सरकारलाई समर्थन मात्र गरेको थियो भने फोरम सरकारमै सहभागी छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले पार्टी एकताका लागि फोरमले पनि सरकार छोड्नुपर्ने शर्त राखेको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर वार्ताका लागि केन्द्र सरकार छाड्नुपर्ने शर्त राखेका हुन् । ‘यथास्थितिवादलाई मलजल गर्ने, परिर्वतनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्नेलाई बल पुग्ने गरी दुई तिहाईको संसदीय गणितलाई ग्यारेन्टी गर्नु दुर्भाग्यपूर्ण’ भन्दै राजपाले केन्द्रीय राजनीतिको दुई ध्रुव सत्तापक्ष र प्रतिपक्षमा रहेर वार्ता हुन नसक्ने तर्क गरेको छ ।
फोरम अध्यक्ष यादवले राजपालाई जवाफी पत्र लेख्दै सरकारमा सहभागिताले पार्टी एकतामा बाधा नहुने तर्क गरेका छन् । यो नीतिगत सवाल नभई रणनीतिक र कार्यनीतिक सवाल भएको वताउँदै फोरमले पार्टी एककीकरण गर्न पार्टीहरुबीच उद्देश्य, नीति, कार्यक्रम, सिद्धान्त र विचार मिल्नुपर्ने तर्क गरेको छ ।
पार्टी एकता हुनासाथ सरकार वा विपक्षमा कहाँ बसेर के गर्ने वा कस्तो भूमिका खेल्ने भन्ने निर्णय गर्ने गरी एकता प्रक्रिया अगाडि बढाउन सकिने फोरमले जनाएको छ ।
संघीय समाजवादी फोरमसँग एकता र सहकार्य गर्न राजपाले वार्ता कमिटी समेत गठन गरेको छ । दुबै पार्टीबीच एकताका लागि पत्र आदान–प्रदानपछि राजेन्द्र महतोको संयोजकत्वमा राजपाले वार्ता समिति गठन गरेको हो ।
शुक्रबार बसेको पार्टीको अध्यक्ष मण्डल बैठकले फोरम नेपालसँग वार्ता गर्नका लागि गठन गरेको समितिका सदस्यहरुमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा रहेका छन् ।
यता फोरमले विभिन्न राजनीतिक दलसँग एकताका लागि वार्ता गर्न भन्दै यसअघि नै सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको थियो । उपाध्यक्ष चेम्जोङ, महासचिव शाह, उपमहासचिव प्रकाश अधिकारी र शहरी विकासमन्त्रीसमेत रहेका पार्टी सचिव मोहम्मद इस्तियाक राई सदस्य रहेका छन् ।
एक साताअघि राजधानीको एक होटलमा गोप्य बैठक बसेर राजपाले फोरमसँग एकता गर्न प्रक्रिया अगाडि बढाउने निर्णय लिएको थियो । फोरमको वार्ता समितिले पार्टी एकताको आह्वान गर्दै राजपालाई पत्र पठाएको लामो समय भइसक्दा पनि राजपासँग औपचारिक वार्ता हुन सकेको थिएन । सिके राउतले पार्टी गठन गरेपछि भने राजपा एकताका लागि तयार भएको हो ।
एकता कुन मोडालिटीमा गर्ने भन्ने विषयमा भने दुवै पार्टी अन्यौलमा रहेको बताइएको छ । राजपाले संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएको छ । फोरमसँग एकता गर्नका लागि पनि सरकार छाड्नुपर्ने र संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाउनुपर्ने शर्त राख्ने देखिन्छ ।
‘जबसम्म संविधान संशोधन हुँदैन, त्यतिबेलासम्म राजपाले सरकारलाई पुनः समर्थन गर्न पनि सक्दैन र फोरमसँग एकता भएपछि आधा सरकारमा बस्ने र आधा बाहिर बस्ने भन्ने कुरा त हुँदैन,’ राजपाका वार्ता समिति सदस्य वृशेषचन्द्र लाल भन्छन् ।
वार्तामा सफलता प्राप्त भएको खण्डमा ससाना पार्टी एकीकृत भएर तराई केन्द्रित दलहरुको एकीकृत पार्टी बन्यो भने त्यसले सिके राउतको पार्टीलाई कमजोर पार्न सक्ने तराईका कतिपय विश्लेषकहरुको तर्क छ ।