स्वास्थ्यका साथी कर्मा धेरै स्वस्थ छन् यिनकै भरमा
हिमाल पारीका जिल्ला भनेर चिनिने दुईमध्ये एक हो मनाङ । तत्कालीन राजा वीरेन्द्रले पनि मनाङलाई विशेष माया गरे भन्ने बुझिन्छ त्यहाँका प्रजालाई खुशी राख्न । हिमाली जडिबुटीको भण्डार भन्न सकिने मनाङका धेरै मानिस जडिबुटी पेशामा लागेका छन् । तीमध्ये एक हुन् कर्मा डेन्डू । वि.सं १९९३ मा जन्मेका कर्माले पुख्र्यौली थलो मनाङ छोडेको १८ वर्षमै हो । पहिले उनी असाम (भारत) पुगे । त्यहाँ करिब २५ वर्ष पुख्र्यौली पेशा जडिबुटीको व्यापारमै रमाए । त्यसपछि हानिए चितवन । उनले आफ्नो पहिचान बढाए र भने हामी खासमा लामिछाने गुरुङ हौं ।
मनाङ छोड्नेको संख्या बढिरहेको छ, नारायणीको छेउछाउमै तीन सय घर पुगिसक्यौं । चितवनमा उनी जमेका छन् भन्ने आधार उनको पसलको भीड हो । भीडले प्रिय छन् तर कमाइले प्रिय छन् कि छैनन् यसै भन्न सकिन्न । किनकि मान्छे दिलदार छन्, थोरै पैसाको पनि धेरै औषधि दिन्छन् र भन्छन् यतिको हो, बाँकी चिया सिया खाऊ । यो उनको थेगोजस्तै भएको छ ।
उहीले त बाजेको पालामा जडिबुटी बोक्थे डालामा, अहिले त यिनको पालामा किनेर राख्छन् बोरामा । पुख्र्यौर्ली घर मनाङ भएकाले यिनको सङ्गत उतैको छ । जडिबुटी मगाउँछन् उतैबाट, पिन्नी पिन्छन्, किन्नी किन्छन् तर मिलाएर पनि दिन्छन् ।
पेट दुखेको, गानोगोलाको, कब्जियतको, पायल्सको, मधुमेहको, बाथको, ज्यान दुखेको र अन्य धेरै प्रकारका जडिबुटीको प्रशोधन र मिश्रण गराइ सर्वसुलभ दरमा बेच्ने कर्माको कर्मले धेरैको स्वास्थ्यलाई लाभ पु¥याएको छ । नारायणगढको पुतलीबजार नजिकै रहेको उनको पसलमा माग्ने पनि जान्छन्, ठग्ने पनि जान्छन्, सेतो पानी बग्ने पनि जान्छन्, पेट दुख्ने पनि जान्छन्, ओंठ सुक्ने पनि जान्छन् । अनि धनी पनि जान्छन्, गरिब पनि जान्छन्, स्वदेशी पनि जान्छन्, विदेशी पनि जान्छन्, परदेशी पनि जान्छन् मधेशी पनि जान्छन् ।
त्रिफला चुर्णदेखि पाँचऔंले, सतावरी र यार्सासम्मका जडिबुटी यिनको पसलमा छ । शिलाजित, चिप्ले किरा, हिङ, बिरेनुन, कालोकाफल लगायत सयौंथरी जडिबुटीले घेरिएका हुन्छन् । हिमाली जडिबुटी नाम दिइएको पसलमा यिनकै छोराले बाउ बाजेको बिंडो थामेका छन् । यिनको पसलमा साइन बोर्ड त छैन तर छोराको भन्दा चालू देखिन्छ । हँसिला र रसिला कर्माको पसलमा केटाकेटीदेखि बुढाबुढीसम्म आउँछन् पालो कुरेर औषधि लान्छन् । मलाई यस्तो हुन्छ के गरुँ के औषधि खाऊँ दिनुस् भनेपछि दिल खोलेर दिन्छन्, हात खोलेर लिन्छन् ।
कैयन्ले त उनको पसलबाट हजारको लगे भने लाख कमाउँछन् । उनको पसलबाट मात्रा थप्दै लिदै गरेर दह्रो व्यापार गर्नेको संख्या पनि उल्लेख्य छ । उमेरले ८० कटेका कर्माले कहिलेकाहीँ त्यो भिडबाट पैसा लिन बिर्सन्छन् त कहिलेकाहीँ एउटालाई दिनुपर्ने औषधि अर्कैलाई दिन पुग्छन् । यस्तो अवस्थामा लिने दिने दुवै सतर्क हुनुपर्ने देखिन्छ ।
(खासै मिडियामा आउन नचाहने यिनले यति कुरा ग्राहकसँग बोलेको शैलीमा बताए र एक क्लिक फोटो खिचेपछि मैले भनें, छापिदिन्छु है । फेरि भीड बढ्यो । म आफ्नो बाटो लागें ) ।