अनुशासन समितिले थाल्यो काम
देउवालाई कारवाही गर्ने विरोधीको अभियान
काठमाडौं । पार्टीमा दलको भन्दा पनि गुट वा केही व्यक्तिको स्वार्थ प्रवल देखिँदा तीन तहको निर्वाचनमा पराजय भोगिसकेको नेपाली कांग्रेसभित्रको त्यो रोग अझै निर्मूल हुन सकेको छैन । झन्झन् बढ्दै गएको देखिन्छ । पार्टीभित्र सुदृढ एकता बनाएर पार्टीलाई सशक्त भूमिकामा अगाडि बढाउनु पर्ने दायित्व लिएका नेताहरु नै व्यक्तिगत र गुटगत स्वार्थ अनुसार चल्दा पार्टी झन्झन् कमजोर बन्दै गएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मात्र होइन, कोइराला, सिटौलाहरुसँग समेत देउवाको दुरी बढ्दै गएको देखिन्छ । कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता विषयमा दिएका अभिव्यक्ति र त्यसबारे जनमतसंग्रह गर्नुपर्ने कथनले पार्टीभित्र संस्थापन पक्षका कैयन् नेता र कार्यकर्ताहरु सशंकित भएका छन् ।
संविधानमा उल्लेख गरिएका र जनआन्दोलनले उपलव्धिका रुपमा स्थापित गरिसकेका विषयलाई महामन्त्रीले चुनौती दिएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । पौडेल, सिटौला र कोइराला गुटका जिल्ला सभापतिहरुले पार्टी सभापति नै फेर्नुपर्ने कसरत शुरु गरेकै अवस्थामा देउवालाई कारवाही गर्नुपर्ने माग गर्दै अनुशासन समितिमा उजुरी समेत परेको छ । यसले गर्दा देउवाका विरुद्ध पार्टीमा ठूलै मोर्चाबन्दी बढ्दै गएको देखिन्छ ।
भिष्मराज आङ्दम्बेको संयोजकत्वमा गठित अनुशासन समितिले काम शुरु गरेको छ । चैत महिनाभित्र पार्टीमा आफूलाई चित्त नबुझेका विषय र व्यक्तिका बारेमा स्पष्ट आधारसहित उजुरी गर्न आव्हान गरेपछि सो समितिमा नेताहरुविरुद्ध धमाधम उजुरी पर्न थालेका छन् । गत सोमबार आङदम्बेको संयोजकत्वमा देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य रहेको समिति गठन भएको थियो ।
आङदम्बे, कँडेल र राठौर देउवा पक्षका हुन् भने गुरुङ पौडेल पक्षका र चौधरी सिटौला पक्षका हुन् । समितिले सामाजिक सञ्जालको समेत अनुगमन गरेर पार्टीका नेता, कार्यकर्ताले अनुशासनहीन अभिव्यक्ति दिएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ । तीन सय जना भन्दा बढीसँग स्पष्टिकरण समेत मागिसकेको सो पार्टीभित्र अनुशासनको कारवाही अघि बढ्दा कैयन् ठूला नेताहरुको समेत स्वार्थ बाझिने गरेको भन्दै वैशाखमा केन्द्रीय सदस्य रमेश रिजालले अनुशासन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।
समितिमा प्राप्त उजुरीको छानविन गर्ने क्रममा देउवाविरोधीहरुलाई कमजोर बनाउन सक्ने रणनीति रहेको देउवाका आलोचकहरुको तर्क छ । त्यसो गरिएमा पार्टीमा प्रतिशोधको अवस्था आउन सक्ने र देउवा एवं उनका आलोचकबीच दुरी बढ्ने विश्लेषकहरुको टिप्पणी छ ।
सभापति देउवाले केन्द्रीय सदस्य शेखर कोइरालालगायत पार्टी अनुशासनविरुद्ध अभिव्यक्ति दिएका सबैमाथि कारवाही हुने चेतावनी यसअघि नै दिइसकेका छन् । चुनावमा अन्तर्घात गरेको र पार्टीलाई सहयोग नगरेको भन्दै रुष्ट भएका सभापति देउवाले भिष्मराजलाई प्रयोग गरेर आफ्ना विरोधीलाई तह लगाउने योजना बनाए भने त्यसले पार्टीभित्रको अन्तरकलह अरु बढ्ने नेताहरुले चेतावनी दिइरहेका बेला देउवा विरुद्ध नै समितिमा निवेदन परेको छ । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा कांग्रेसका महासमिति सदस्य समेत रहेका गोरखाका राजेन्द्र बजगाईंले देउवाले बारम्बार पार्टीको हित विपरित काम गरेको भन्दै उजुरी दर्ता गरेका छन् ।
कांग्रेसको संसदीय दल तथा प्रमुख प्रतिपक्ष दलका नेता देउवाले खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न दिएर संसदीय मर्यादामा चोट पुगेको र कांग्रेसको साख गिरेको भन्दै बजगाईंले
देउवालाई पार्टीको विधान अनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् । जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाएर देउवालाई हटाउने तयारी स्वरुप यही चैत २० र २१ गते सभापतिहरुको भेला काठमाडौंमा डाकेका छन् भने महासमिति सदस्यले उनीविरुद्ध अनुशासन समितिमा कारवाहीको माग गर्दै उजुरी दिनुले देउवालाई सभापतिबाट हटाउने अभियान शुरु भएको रुपमा हेरिएको एक नेताले बताएका छन् ।
यता काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी सभापति देउवाविरुद्ध मिथ्या आरोप लगाएको भन्दै पार्टीका महासमिति सदस्य बजगाईलाई कारवाहीको माग गरेको छ । दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरेर पार्टीका नेताविरुद्ध हुने यस्ता गतिविधि सह्य नहुने चेतावनी समेत दिएका छन् ।
अध्यक्ष बस्नेतले बजगाईलाई पार्टीको हित र आचरण विपरित पार्टी नेतालाई मिथ्या आरोप लगाएको भन्दै अनुशासनको कारबाही गर्न मागसमेत गरेका छन् । उनले पार्टी नेताको मर्यादा रक्षा र पार्टीको रक्षाका लागि तरुण दल ठोस कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् । देउवाविरुद्ध कारवाहीको माग हुनु र कारवाही माग गर्नेमाथि तरुण दलमार्फत उल्टै कारवाहीको चेतावनी दिनु पनि गुटबन्दीकै असरका रुपमा हेरिएको छ ।
पार्टीभित्र देउवा, कोइराला, सिटौला र पौडेलका पक्षमा गुटबन्दी बढ्दै गएको छ भने त्यसको प्रभाव भ्रातृ संगठन एवं तल्लो तहका समितिहरुमा समेत पर्दै गएको छ । सबै भन्दा पुरानो र प्रजातान्त्रिक पार्टीमा बढ्दै गएको गुटबन्दी र आरोप–प्रत्यारोप हुनु कांग्रेसजनमा मात्र होइन देशकै लागि पनि राम्रो होइन ।