क्रिकेट रंगशालालाई स्थानीयको सहयोग जारी

चितवन / बुधवार अपरान्ह धुर्मुस आइपुग्ने खबरले भरतपुर १६ का स्थानीयको खुशी फेरि बढ्यो । भरतपुर १५ मा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका कारण अहिले खास भाग्यमानी देखिने १६ शान्तिचोकका वासिन्दा फाउण्डेशनलाई सहयोग गर्ने हतारमा थिए । मिलेसम्म अहिलेको सहयोग धुर्मुस÷ सुन्तलीलाई नै हस्तान्तरण गर्न लालयित स्थानीयको पर्खाइ अचानक बुधबार सकियो । भरतपुर महोत्सवमा सहभागी हुन आएका धुर्मुस छोंटो समय निकालेर यहाँका वासिन्दाको सहयोग लिन आइपुगे ।
ससम्मान सहयोग हस्तान्तरण गर्न सङ्ग छोइलिङ गुम्बामा लामबद्ध सङ्ग छोइलिङ आमा समूहले ओढाएको खादाले धुर्मुसको गला भरियो । उर्नी एकैछिनमा चुनाव जितेको नेताजस्ता देखिए । सहयोगी मनले भावुक हुँदै आफ्नो ल्याकत अनुसार सहयोग अर्पण गर्न पाएको र पछि पनि सहयोग गर्न इच्छुक रहेको बताए । समाजसेवी तथा साविकको स्थानीय निकायका प्रमुख लालबहादुर लामाले भावविभोर हुँदै नगद १० हजार अर्पिए । धुर्मुसले पनि भावुक हुँदै भने,–हामीलाई धेरै भन्दा धेरै आशिर्वाद दिनोस् ताकि समृद्धिको महाअभियानमा सफल हुन सकियोस् । सङ्ग छोइलिङ आमा समूहले २५ हजार दुई सय दियो । कृषि क्याम्पस रामपुरमा अध्ययनरत रुपन्देहीका नेत्रप्रसाद शर्माले आफ्नो जन्मदिनको अवसरमा उनका साथीहरूसहित मिलेर उठाएको दुई हजार दिए । सोही अवसरमा अभिभावकको सहयोगमा बालिका रेजिका भट्टराईले एक हजार र बालक एलिसन पाण्डेले एक हजार पाँच पनि सुम्पिए ।


यसअघि रङ्गशालाको कम्पाउण्डभित्र शान्तिदीप एकता टोल विकास संस्थाले संस्थागत सहयोगका रूपमा एक लाख ७१ हजार छ सय ४५ रुपैयाँ हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा अध्यक्ष मिनबहादुर लामा, उपाध्यक्ष अनिता हमाल, सचिव बाबुराम भट्टराई, कोषाध्यक्ष कोपिला सापकोटा, सदस्य डबलबहादुर रिजाल, प्रभा केसी र निर्मला अधिकारी लगायतको सहभागिता थियो । सोही अवसरमा सी स्टार एजुकेशनल कन्सल्टेन्सी प्रा..लि.का प्रबन्ध निर्देशक तथा नवलपुर कावासोतीका वासिन्दा वसन्त पोखरेलले आफ्नो जन्म दिनका अवसरमा ११ हजार एक सय २१ रुपैयाँ सपरिवार हस्तान्तरण गरे । यस्तै, भरतपुर १५ का समाजसेवी यमलाल आचार्यले पनि पाँच हजार एक सय रुपैयाँ सहयोग गर्दै निर्माणको बाँकी अवधिमा अझै थप्दै जाने प्रतिबद्धता जनाए । आचार्यको प्रतिबद्धतासँगै फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले रङ्गशाला निर्माणस्थल भरतपुर १५ र १६ का जनताको सहयोगले बढी महत्व राख्ने बताए । अलिक परकाले भन्नेछन् कि स्थानीयले कति सहयोग गरे ? यसअघिका विभिन्न कार्यक्रममा पनि स्थानीयले आर्थिक सहयोग गर्दै आएका छन् । साथै, श्रमदान पनि जारी राख्न तत्पर देखिन्छन् ।
सहयोग हस्तान्तरणपछिको प्रतिक्रियामा शान्तिदीप एकता टोल विकास संस्थाका अध्यक्ष मिनबहादुर लामाले भने,–हामी जुन उत्साह लिएर सक्दो सहयोग गर्न इच्छुक थियौं र छौं त्यो अनुसारको वातावरण साइट अफिसका कर्मचारीको भूमिकाले पनि निर्वाह गर्छ । फाउण्डेशनका प्रतिनिधिले स्थानीयको भावना पनि बुझ्नु पर्छ । हामी त्यति अबुझ र असमझदार छैनौं त्यो कुरा उहाँहरूले मनन् गर्नु पर्छ ।