गुल्मी उद्योग वाणिज्य संघको चुनावी परिणामपछि कसले के भन्यो ?

गुल्मी । कम्युनिष्ट निकट साझा प्यानललाई अत्याधिक मतले पराजित गर्दै नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलले पुरै सिटमा जित हासिल गरेपछि हामीले दुई ठुला दल नेकपा र कांग्रेसका जिल्ला पार्टी प्रमुख, नवनिर्वाचित अध्यक्ष र संस्थापक अध्यक्षको प्रतिकृया मागेका थियौं जुन यस्तो छ–

चोटिलो जवाफ होः कांग्रेस सभापति श्रेष्ठ
चुनावी परिणाम पछि नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको प्रतिकृया माग्दा उनले झण्डै चार दशक पछि पहिलो पटक अध्यक्ष पद सहित दुई प्यानल विच भएको यो निर्वाचन असहज परिस्थितीका कारण भएको प्रतिकृया दिए । गुल्मी उद्योग वाणिज्य संघ मै बसेका केहि नेतृत्वले समानान्तर संस्था खोल्न जुन उद्यत गर्नु भयो त्यसैले असहज परिस्थिती सिर्जना गरेको हो ।
हामी पनि मिलेरै जानु पर्छ भन्ने मान्यता नै राख्दै आएका थियौं । एकातिर गुल्मी उद्योग वाणिज्य संघमा भागबण्डाको सहमति गर्ने अर्को तिर समानान्तर संस्था गठनमा उद्यत हुँदै पकड जमाउन खोज्ने जसले गर्दा हामी तीन महिना अघिको सहमति तोड्न बाध्य भएका हौं ।
उद्यत भएको प्रति यो निर्वाचनको परिणाम चोटिलो जवाफ हो । समानान्तर संस्था भनी श्रेष्ठले हालै गुल्मी तदर्थ समिति गठन गरिएको चेम्वर अफ कमर्सलाई ईङ्गित गरेका हुन् । जुन संस्थाले चैत्र २० देखि ३० गते सम्म प्रथम गुल्मी महोत्सव आयोजना गरेको छ ।
आफ्ना पार्टीमा आश्था राख्ने ब्यवसायीहरु प्रति बिश्वास बढेको यो नतिजाबाट स्पष्ट भएको कांग्रेस सभापति श्रेष्ठको दावी छ ।
लामै बोलेर हारको खार पोखे नेकपा अध्यक्षले
महासंघको चुनावी नतिजा पछि नेपाल कम्युनिष्ट पार्टी गुल्मीका अध्यक्ष वालसिंह काउछाले लामो कुरा गर्दै आफ्ना ब्यवसायीहरुको हारको खार पोखेका छन् । उनले नेपाली कांग्रेसले सामाजिक संस्थामा खुलेरै राजनीति गर्नु स्थानिय तहको निर्वाचनमा पराजयको पीडाले रन्थनिनु रहेको आरोप लगाए ।
उनले भने –‘ पुरानो पार्टी भएकोले सामाजिक संघ संस्था र उपभोक्ता समितिमा नेपाली कांग्रेसमा आश्था राख्ने अलि बढि नै सख्यामा रहनु स्वभाविकै हो । जव स्थानिय तहमा पराजय भए कांग्रेसजन त्यस पछि आफ्नो पकड भएका सामाजिक संघ संस्था र उपभोक्ता समितिमा राजनीतिकरण गरेर चुनावी माहोल सिर्जना गरि स्थानिय सत्ता गुमाउने भन्दै नेकपा’ को हौवा पिट्ने गरिएको छ । त्यस्तो हौवाले हाम्रो सत्ता गुम्दैन थप फस्टाउँछ ।’
उनले थपे–‘तीन महिना अघि नै भद्र सहमति भएको थियो । अध्यक्षमा श्रीप्रसाद भलामी चयन गरिएको थियो । अन्य पदमा पनि हाम्रो भद्र सहमति भई सकेको थियो । ब्यवसायीहरुको सामाजिक संस्थामा यस्तो छलछामको राजनीति गर्लान् र यसरी धोका देलान् भन्ने लागेको भए हाम्रा साथीहरु पनि चुनावी तयारीमा उनिहरु झै पहिल्लै देखि जुट्ने थिए ।
उनिहरुको चुनावी अन्तिम तयारी पुरा गरि जसरी मतदान प्रकृयामा जाने उहाँँहरुले रणनिती अगाडी सार्नु भयो, यसले ब्यवसायीहरु र सिंङ्गो गुल्मीका अन्य सामाजिक संघ संस्थालाई समेत राम्रो गर्दैन । यसले हामीलाई पनि पाठ सिकाएको छ ।
जहाँ सम्म गुल्मी महोत्सव गुल्मी उद्योग वाणिज्य संघले मात्रै आयोजना गर्नु पर्छ भन्ने केहि मानिसहरुको ढिपी छ त्यो गलत हो । किन कि उद्योग वाणिज्य संघ गुल्मीका सबै बिषयमा ठेक्का लिने संस्था होईन, न त त्यो कैसैको पेवा हो ।
भर्खरै चेम्वर अफ कमर्स गुल्मीमा तदर्थ समिति गठन गरिएको छ उहाँहरु त्यसलाई कम्युनिष्टहरुको समानान्तर संस्था ठान्नु हुन्छ त्यो गलत हो । जवकी त्यसको केन्द्रिय अध्यक्ष नै नेपाली कांग्रेसका हुनुहुन्छ । त्यस संस्थाले गर्न लागेको गुल्मी महोत्सव किन मान्य नहुने उहाँहरुलाई ?
कुनै पनि महोत्सव कुनै पनि संस्थाहरुले गर्न पाउने ऐन कानुनमै ब्यवस्था छ । गुल्मी उद्योग वाणिज्य संघका केहि साथीहरुलाई कानुन विपरित सिन्डिकेट लगाउने अधिकार कसले दियो ? के सिङ्गो गुल्मी तम्घास गोडाचार मान्छेको मात्रै हो ?
म दवावमा परेर हो ः नवनिर्वाचित अध्यक्ष
विजय घोषणा पछि छोटो प्रतिकृया दिदै नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद भलामीले आफ्नो कारणले नभई अन्य कारणको नैतिक दवावमा परि निर्वाचनमा जानु परेको बाध्यता सुनाए । ‘मलाई त पहिले नै साथीहरुले सर्वसम्मत अध्यक्षमा चयन गर्नु भएको थियो । चुनाव मेरा लागि गरिएको होईन । मतदान मै जान खोजेका पनि थिएनौं हामी तर अकस्मात एउटा परिस्थिती सिर्जना भयो । त्यसैको दवावमा म परेको हुँ’–अध्यक्ष भलामीले भने ।
स्थापना काल पछिको यति लामो समय सम्म सबै पक्ष मिलेर महासंघ चलाउनु भयो । अहिलेको निर्वाचनले दुई ठुला शक्ति विच कित्ताकाटको अवस्था सिर्जना भएको छ, यस्तो अवस्थामा कसरी अगाडी बढ्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने–‘हाम्रो विधानमा केहि ब्यवस्थाहरु छन् । त्यही ब्यवस्थाको जगमा टेकेर मैले छुटेका साथीहरुलाई समेट्ने छु । भलै पदाधिकारीमा त लैजान नमिल्ला तर अन्य तहमा निर्वाचनबाट बाहिरिनु भएका साथीहरुलाई अबस्य समेटिने छ ।’
उनले थपे–‘ निर्वाचनमा जसको पक्षमा परिणाम आए पनि महासंघलाई साझा ढंगले नै अगाडी बढाइने छ, भलामीले भने– ‘म सबै पक्ष संग सहयोग र साथको अपेक्षा राख्द छु ।’
यो दुर्भाग्य होः संस्थापक अध्यक्ष
नेपाल सरकारबाट वैधानिकता पाएको गुल्मी उद्योग वाणिज्य संघले २०४० सालमा हो । त्यस वैधानिक संस्थाका संस्थापक अध्यक्ष हुन् नन्दराम भुसाल । हुन त तदर्थ समिति २०३५ सालमा गठन भएको थियो । त्यस तदर्थ समितिका अध्यक्ष थिए भिमलाल मरासीनी । सचिव थिए नन्दराम भुसाल ।
परमानन्द भण्डारी, उत्तरकुमार श्रेष्ठ र कालिदास पौड्याल सदस्य रहेर ५ बर्ष सम्म तदर्थ समिति चलाउँदै तम्घासका व्यवसायीहरुलाई संगठित गर्ने काम गरेका थिए । २०४० सालमा नन्दराम भुसालले संघ दर्ता गराउन अगुवाई गरे । उनि काठमाण्डौमा दुई महिना सम्म खुरी खेलेर दर्ता गराएर फर्किएका थिए ।
उनै संस्थापक भुसाल भन्छन् –‘स्थापना काल देखि यस अघिको अधिवेशन सम्म मैले सामाजिक संस्थाका रुपमा डोराउँदै आएको हुँ । सवै राजनैतिक आस्था राख्नेहरुलाई समेट्नु पर्छ यो कुनै राजनैतिक गर्ने थलो होईन । सामाजिक संस्था हो । साझा ढंगले महासंघ चलाएकै कारण हामीले बाटो घाटो क्याम्पस स्थापना र सञ्चालन लगायत थुप्रै सामाजिक कार्य गर्दै आएका थियौं, यो पाराले अब त्यस्तो सामाजिक कार्य गर्न सकिन्छ जस्तो मलाई लाग्दैन । ’
उनले थपे–‘यस पाली पनि मिलेरै जानु पर्छ भनेर भरमग्दुर प्रयास गरिएको हो । तर यसपाली राजनीति गरियो, हामी ब्यापारिहरुका लागि यो दुर्भाग्य हो । २०४० देखि २०४३ साल सम्म मैले संस्थापक अध्यक्षका रुपमा महासंघ चलाएँ । पछि २०४८ साल देखि २०६० साल सम्म १२ बर्ष सहित १५ वर्षसम्म चलाएँ । सुरुको कार्यकाल बाहेक यस अवधीमा मैले एकल राजनीति नेतृत्व चलाउन दिईन । अहिले जे भएको छ त्यो दुर्भाग्य हो, यसले हामी ब्यापारीहरुलाई फाईदा गर्दैन ।’
उनका अनुसार उनि पछि कांग्रेस निकट कै ब्यवसायी नरप्रसाद श्रेष्ठ अध्यक्ष भए । त्यस पछि कम्युनिष्ट निकट डिल्लीराज भुसाल अध्यक्ष भए । त्यस पछि कांग्रेस नेता त्रैलोक्य प्रताप सेन अध्यक्ष भए ।
२०४८ देखि २०६० सम्म लगातार १० बर्ष कांग्रेस निकट नै रहेका नन्दराम भुसाल अध्यक्ष रहे । उनि पछि कम्युनिष्ट निकट कृष्णप्रसाद अध्यक्ष भए । उनि पछि नेपाली काग्रेसका अखिलेश्वर प्रसाद पाण्डे अध्यक्ष भए ।
यस अघिको तीन बर्षे कार्यकाल कम्युनिष्ट निकट दुर्गाप्रसाद पाण्डले नेतृत्व लिए पछि आलोपालो प्राणीको सहमति अनुसार कांग्रेस निकट श्रीप्रसाद भलामीलाई कम्ुयुनिष्टहरु कै प्रस्तावमा अध्यक्ष सर्वसम्मत चयन भई रहेको तीन महिना पछि एक्कासी भाँडिएर निर्वाचन गर्नु परेको हो ।