थापाले थपे पदाधिकारी
तामाङ गणतन्त्र विरोधी संघर्षको कमान्डर
काठमाडौं । कमल थापाले नेतृत्व गरेको राप्रपामा २३ जना पदाधिकारी थपिएका छन् । दिपक वोहोरा राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले उनका मानिसलाई समेत समेटेर पदाधिकारी मनोनित गरेका हुन् । मनोनित हुनेहरु प्रायः सबै थापाका प्रियपात्र रहेको बताइएको छ ।
मनोनित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा वुद्धिमान तामाङ र राजिव पराजुली छन् भने उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, सुश्री रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठ छन् ।
यस्तै राप्रपाको महामन्त्रीमा राजेन्द्र लिङदेन र डा. धवल शमशेरलाई मनोनित गरिएको छ । प्रवक्तामा सुशील श्रेष्ठ, भुवन पाठक र निलकण्ठ काफ्ले छन् भने सहमहामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दिपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई, भरत रायमाझी रहेका छन् ।
त्यस्तै सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ, मदनबहादुर कार्की र सहायक प्रवक्तामा रमानन्द न्यौपाने छन् । इन्द्रबहादुर ठकुरी र प्रदिपकुमार उदयलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।
राप्रपाले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा जनसंघर्ष परिचालन समिति गठन गरेको छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध मत राख्दै आएको सो पार्टीले आफ्नो संघर्षलाई प्रभावकारी बनाउन जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न गठन गरिएको समितिको सल्लाहकार पार्टी अध्यक्ष कमल थापा आफै बसेका छन् ।
यसैगरी वरिष्ठ नेताहरु दीपक बोहोरा र बालाराम घर्तीमगर पनि सल्लाहकार राखिएका छन् । सदस्य–सचिव महामन्त्री भास्कर भद्रा रहेका छन् । नवगठित जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्ष छन् ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकमा बोल्दै अध्यक्ष थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिएका छन् ।
संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको पनि थापाले बताएका थिए ।