जुम्ल्याहा बच्चाका बुवा फरक–फरक

चीनको जियामेनमा एक महिलाले फरक–फरक बाउका जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण गर्दा उनीहरुका पिता फरक–फरक पुरुष रहेको प्रमाणित भएको बताइएको छ । डिएनए टेस्टका क्रममा जुम्ल्याहाको डिएनए फरक–फरक पाइएपछि ती महिलासँग सोधपुछ भएको थियो । उनले आफूले आफ्नो लोग्ने बाहेकको परपुरुषसँग पनि यौन सम्पर्क राखेको स्वीकार गरेकी छिन् ।
सो घटनाले ती महिलाको पोल मात्र खुलेन चिकित्सा जगतमा एउटा नयाँ चमत्कार पनि थपिएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार जुम्ल्याहा बच्चा जन्मिने बित्तिकै बच्चाका पिता शियाओलोंगले जुम्ल्याहा मध्ये एउटा बच्चाको अनुहार आफूसँग ठ्याक्कै नमिल्ने भन्दै गुनासो गरिरहेका थिए । डिएनए रिपोर्टले उनको गुनासो सही सावित भएको छ ।
पहिलो डिएनए टेस्टमा पत्यार नलागेपछि उनले फुजियान झेंगताई न्यायिक प्रमाणीकरण केन्द्रमा गएर पुनः डिएनए टेस्ट गराएका थिए । त्यहाँ पनि जुम्ल्याहा मध्ये एउटा बच्चाको पिता अर्को पुरुष रहेको रिपोर्ट आएपछि डिएनए रिपोर्ट झुटो भन्दै आफ्नो कुनै पनि पुरुषसँग सम्बन्ध नरहेको जिकिर गरेकी ती महिलाले अन्ततः आफूले अर्को पुरुषसँग पनि सम्बन्ध कायम गरेको र एकरात सँगै बिताएको स्वीकारिन् ।
स्थानीय सरकारी अड्डामा बच्चाको जन्मदर्ता गराउँदा बाउआमाले आफ्नो बच्चा भएको प्रमाण स्वरुप डिएनए रिपोर्ट बुझाउनु पर्ने नियम रहेको छ । सोही मुताविक ती जुम्ल्याहाको पनि डिएनए परीक्षण गरिएको थियो ।