पाँच भन्सारमा प्रभु बैंकको काउण्टर थपिने
काठमाडौं । प्रभु बैंकले थप ५ वटा भन्सार कार्यालयहरुमा काउण्टर खोली बैंकिङ कारोबार सञ्चालन गर्ने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुररजटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ वैशाखदेखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।
नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोबार गरिरहेको छ ।
नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने विश्वास लिईएको छ ।
बैंकको सेवा प्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैंकिङ सेवाहरु प्राप्त गर्नेछन् । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।