वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै हुने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालले पनि गर्न पाउने भएका छन् ।
स्वास्थ्य परीक्षणका आवश्यक मापदण्ड पूरा गरेका सरकारी अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।
लामो समयदेखि निजी मेडिकल संस्थाहरूबाट हुँदै आएको कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट पनि गराउने गरी काम सुरु भएको मन्त्रालयका सह–सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
केही समयअघि मात्रै मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पूरा भएका स्वास्थ्य संस्थालाई सूचीकरण हुन आह्वान समेत गरिसकेको छ ।
सरकारी अस्पतालले भने सूचीकरण हुनु पर्ने नियम नभएको बताउँदै घिमिरेले आवश्यक मापदन्ड पुगेका अस्पतालले मन्त्रालयमा सूचना दिएपछि स्थलगत निरीक्षण गरी कामदारको स्वास्थ्य परीक्षणका लागि स्वीकृत दिने बताएका छन् ।
मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने संस्था ३७ वटा रहँदै आएकोमा अब मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्ड पूरा भएका जुनसुकै पनि स्वास्थ्य संस्था स्वास्थ्य परीक्षणमा आबद्ध हुनसक्ने भएका छन् ।
१० महिनादेखि बन्द रहेको मलेसिया रोजगारीमा नयाँ कामदार भर्ना प्रक्रियाका लागि मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड एक साता अगाडि मात्रै पठाएको थियो ।
यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने ३७ वटा स्वास्थ्य संस्थासहित अन्य विभिन्न मुलुकमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २ सय २६ वटा स्वास्थ्य संस्थालाई मात्रै सरकारले स्वास्थ्य परीक्षण अधिकार दिएको थियो ।
६ वर्ष अगाडि २०६९ सालदेखि स्वास्थ्य परीक्षणका लागि नयाँ स्वास्थ्य संस्थाहरू सूचीकरण हुन पाएका थिएनन् । रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा समेत हुने भएपछि कामदार सहज हुनुका साथै आर्थिक भार समेत कम हुने विश्वास गरिएको छ ।