सिटिजन्स बैंकद्वारा त्रिवेणी सामुदायिक पुस्तकालयलाई सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भीमढुंगा, रामकोटमा रहेको उक्त संस्थालाई ५० हजार आर्थिक सहयोग गरेको हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकद्वारा सो संस्थालाई ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।
सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य, वातावरण, कृषि र पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने वातावरण बनाउन त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रतत्पर रहेको छ । उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने पुस्तकालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरतास्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।