एकतालाई पूर्णता दिन ओली–दाहाल गृहकार्य
सचिवालयका चार नेता बाइपास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरु पार्टीको एकतालाई पूर्णता दिने तयारीमा जुटेका छन् । साथै, केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा चन्द्रागिरीमा गोप्य छलफल भएको छ । बिहीबार साँझ नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेल लगायतका नेताहरुले आवासीय छलफल गरेर शुक्रबार साँझ मात्र फर्किएको बताइएको छ ।
पार्टी भित्र देखिएको विवाद, पार्टी एकता, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण, चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण लगायतको विषयमा छलफल केन्द्रित भएको स्रोतले बताएको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर केन्द्रमा नेकपा बनाएपनि जिल्ला, स्थानीय र भ्रातृ संगठन तथा जनवर्गीय संगठनहरु अझसम्म एक हुन सकेका छैनन् । संघ र प्रदेशको निर्वाचनमै गठवन्धन बनाएर चुनाव लडेका दुई पार्टीले गत २०७५ साल जेठ ३ गते एकताको घोषणा गरेका थिए । पार्टी एकता भएको एक बर्ष पुग्न लाग्दा पनि केन्द्रीय नेताहरुलाई जिम्मेवारीको बाँडफाँड गरिएको छैन भने तल्लो तहसम्म एकताले पूर्णता पाएको छैन ।
पार्टी एकतामा भएको ढिलाईले केन्द्रीय नेताहरु नै असन्तुष्ट बनेका छन् भने कार्यकर्ताहरुमा निरासा छाइरहेको छ । नेता, कार्यकर्तामा बढेको असन्तुष्टिले पार्टी पूर्णरुपमा एक नहुने र फुट्ने स्थितिमा पुगेपछि अध्यक्षद्धय ओली र दाहाल पार्टी एकतालाई पूर्णरुप दिन गम्भीर बनेका हुन् ।
ओली र दाहालवीच भएको २३ घण्टा लामो छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल सहभागी थिए । चार नेताहरुबीच दुई दिन चलेको छलफलमा केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनको एकता प्रक्रियालाई अन्तिमरुप दिन खाका तयार भएको महासचिव पौडेलले बताएका छन् ।
१० बैशाख कम्यूनिष्ट पार्टी स्थापनाको दिनभन्दा अघि नै एकता प्रक्रियालाई अन्तिम रुप दिन दुई अध्यक्षले गृहकार्य थालेको बताइएको छ । उनीहरुले तयार गरेको प्रस्ताव पार्टी सचिवालयको वैठक राखेर चाँडै अनुमोदन गराउने बताइएको छ ।
छलफलमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई सहभागी नगराएपछि उनीहरु रुष्ट बनेका छन् । उनीहरुले छुट्टै प्रस्ताव सचिवालयमा पेश गर्ने तयारी गरेको बुझिएको छ । जसले गर्दा ओली–दाहालको प्रस्ताव सहमतिमा पारित हुने देखिदैन । वहुमतका आधारमा पारित भए असन्तुष्टि झन् बढ्ने देखिएको छ ।
पार्टीभित्र चरम असन्तुष्टि बढ्दै गएपछि त्यसलाई शान्त पार्न ओली र दाहालले केही दिनअघि माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, झलनाथ खनाललगायतका नेताहरुसँग अलगअलग कुराकानी गरेका थिए ।
माधव नेपालले विधि, प्रक्रिया र मापदण्ड वेगर जिल्ला नेतृत्वको नाम पारित गर्न खोजिएमा त्यसको प्रतिवाद गर्ने र समानान्तर समिति बनाउने गम्भीर चेतावनी दिएपछि अध्यक्षद्वयले गम्भीरतापूर्वक लिएको बुझिएको छ ।
फागुन ३० गते पछिल्लो पटक जिल्ला नेतृत्वको सुची टुंग्याउने विषयमा अध्यक्षद्वय ओली र दाहालले केही नेताहरुसँग छलफल गरेका थिए ।
नेता नेपालले ४० वटा जिल्लामा समानान्तर संगठन बनाउने चेतावनी यसअघि नै दिइसकेका छन् । ओली र दाहालबीच बिहीबार राति भएको छलफलमा माधव नेपाललाई सहभागी नगराएपछि पार्टीभित्र तनाव थपिने देखिएको छ । पार्टीको नीति, कार्यक्रम र सिद्धान्त भन्दा पनि हरेक प्रदेश र जिल्ला तहमा आफ्ना मान्छे परुन् भन्ने विभिन्न नेताहरुको भित्री मनसाय देखिन्छ । यसले गर्दा ओली–दाहालको प्रस्तावलाई चित्त नबुझाएर नेपाल पक्षले समानान्तर संगठन बनाएर केन्द्रीय नेतृत्वलाई चुनौती दियो भने त्यसले नेकपालाई ठूलो धक्का पुग्ने देखिएको छ ।
७७ मध्ये पूर्व एमालेका ४५ र माओवादीका ३२ जनाले जिल्लाको नेतृत्व सम्हाल्ने समझदारी भएपनि नामको टुंगो लागेको छैन । दुवै पार्टीको संयुक्त कार्यदलले स्थानीय तहको एकीकरण टुंगो लगाएर ४० भन्दा बढी जिल्लामा तल्लो तहको विवाद शान्त बनाएको छ भने केन्द्रमै तनाव हुँदा पार्टीभित्रको आन्तरिक असन्तुष्टि र मनोवैज्ञानिक विभाजन तत्काल समाधान हुने अवस्था देखिदैन ।