कांग्रेसको प्रशिक्षण प्रतिष्ठानमा पहराई नियुक्त

गुल्मी । नेपाली कांग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा गुल्मीका छन्द पहराई सहित ३८ जना केन्द्रिय सदस्यमा नियुक्त हुनु भएको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) ‘ग’ बमोजिम कांगे्रस उपसभापति तथा त्यस प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले शुक्रवार गुल्मीका पहराई सहित ३८ जनालाई नियुक्त गर्नु भएको हो ।
नियुक्ति पाउनेमा कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु देउवा पनि डढेलधुराबाट केन्द्रिय सदस्यमा नियुक्त हुनु भएको छ । प्रतिष्ठानको केन्द्रिय सदस्यमा नवनियुक्त पहराईले पार्टीका १५ देखि २० वटा सम्मका विभाग मध्ये यो विभाग महत्वपुर्ण विभाग भएको बताउनु भयो ।
स्वतः पार्टी उपसभापति प्रतिष्ठानको संयोजक हुने भएकोले पहिला अहिलेका बरिष्ठ नेता रामचन्द्र पौड्याल संयोजक हुनुहुन्थ्यो, –पहराईले भन्नु भयो–‘अहिले विमलेन्द्र निधी संयोजक हुनुहुन्छ ’ उहाँको संयोजकत्वमा हामी ३८ जना शुक्रवार उहाँबाट नियुक्त भएका हौं ।’ उहाँका अनुसार प्रतिष्ठानका यी सदस्यहरुले पार्टीको नीति तथा कार्यक्रमबारे कार्याकर्तालाई प्रशिक्षण दिदै हिड्छन् र त्यसको प्रभावबारे अनुसन्धान गर्ने गर्छन् ।
नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सचिव तथा पछिल्लो अधिवेशनमा पार्टी सभापतिको उम्मेदवार समेत रहेका पहराई गुल्मी क्षेत्र नम्वर २, प्रदेश ‘ख’ बाट प्रदेश सांसदको उम्मेदवार भई नेकपाका नेता दिनेश पन्थीबाट झिनो मतले पराजित हुनु भएको थियो । प्रतिष्ठानको कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल रहेको पहराईले बताउनु भयो ।