कांग्रेस शीर्ष नेताको गुटबन्दीको शिकार
नेतृत्वलाई नेता/ कार्यकर्ताको चेतावनी - गुटबन्दी अन्त्य गर्ने कि पार्टी सिध्याउने ?
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । शीर्ष नेताहरु नै विभिन्न गुटमा विभाजित भइरहेका छन् भने आरोपप्रत्यारोपले गर्दा तल्लो तहसम्म दुष्प्रभाव बढ्दै गएको छ । केन्द्रीय कार्यसम्पादन समिति, संसदीय बोर्ड, केन्द्रीय विभागका संयोजक चयन, भ्रातृ संगठनहरुको नेतृत्व लगायतका विषयमा सहमति जुट्न नसकेपछि केन्द्रीय समिति वैठक समेत बस्न सकेको छैन । बुधबारका लागि बोलाइएको वैठक पनि अनिश्चित नै देखिन्छ ।
पार्टीभित्र तेस्रो समूहको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्ण सिटौला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अविश्वासको सिकार बनेको देखिन्छ काँग्रेस । देउवा र पौडेलमा ६० र ४० को भागवण्डा मिलाएर अघि बढ्ने अनौपचारिक सहमति भइरहेका बेला सिटौला पार्टीभित्र राजनीतिक फुटवल बन्न पुगेका छन् । कहिले पौडेलले भकुन्ड्याएर देउवातिर पठाउँछन् भने देउवाले पौडेलतिर । त्यसैले उनको समूह यता न उताको हुन पुगेपछि आफू अपमानित भएको भन्दै पूर्वमहामन्त्री सिटौलाले पदाधिकारी वैठक नै वहिष्कार गरेका छन् ।
आफू देउवा र पौडेल कुनै पनि गुटमा नभएको स्पष्ट पार्दै सिटौलाले आफूहरुलाई पार्टीले उचित स्थान दिनुपर्ने धारणा राखेका छन् । बाहिर भागबण्डाको राजनीति गर्न हुँदैन भन्ने र कोठाभित्र भागवण्डा मिलाउने नेताहरुका कारण कार्यकर्ता पनि निरास बनेको अवस्था छ । पार्टीभित्र देखिएको लथालिंग चालालाई सञ्चारमाध्यमहरुमा फूलबुट्टा भरेर प्रस्तुत गर्नुपर्ने दायित्व पाएका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सिटौलाले वैठक वहिस्कार गर्नु असन्तुष्टि नभएर स्वास्थ्यको कारण हो भने । तर सिटौला रिसाएरै वैठकमा नगएको र एक पटक गएका बेला पनि जुरुक्क उठेर हिडेको एक नेताले बताएका छन् ।
काभ्रेको भकुन्डेबेँसीमा केही दिनअघि आयोजित कार्यक्रममा देउवा र सिटौलाबीच भएको आरोपप्रत्यारोपले पनि नेतृत्वसँग सिटौला क्रुद्ध छन् भन्ने प्रष्ट भएको छ । सो कार्यक्रममा दुवैले एकअर्कालाई होच्याउँदै पार्टी कमजोर बनाउन भूमिका खेलेको आरोप लगाएका थिए ।
विधान सम्वन्धी विवाद मिल्न नसक्दा नेपाली कांग्रेसमा दिनप्रतिदिन तनाव बढिरहेको छ । फागुन १२ गतेको केन्द्रीय समिति वैठकले विधानलाई वहुमतका आधारमा पारित गरेपनि त्यसमा संस्थापन पक्ष वाहेक अरु सन्तुष्ट देखिदैनन् । पौडेल–सिटौला पक्षका साथै ५१ जिल्लाका सभापतिहरुले केन्दीय सदस्य पनि वडा स्तरबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि हुनुपर्ने, पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र हुनुपर्ने, पार्टीको देशभित्र र बाहिरका शुभेच्छुक संस्था तथा विदेशस्थित संस्थाहरूमा तुरुन्त नेतृत्व चयन गर्नुपर्ने, तहगत संरचनामा नेतृत्व चयनका लागि अधिवेशन गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।
देउवाले आफ्नै कोटाबाट समावेश गरेर सिटौलालाई शान्त बनाउन खोजेपनि पार्टीभित्रको गुटबन्दी रोकिने सम्भावना देखिदैन । सभापतिले २२ जना सदस्य मनोनित गर्न पाउँछन् । ती मध्ये वरिष्ठ नेता, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव वाहेक आठ जनाको नाम दिन पौडेललाई देउवाले आग्रह गरेका छन् भने सिटौलालाई देउवाको १२ जनाको कोटाबाट समावेश गर्ने बताइएको छ । तर सिटौला वैठकमै नगएपछि देउवालाई समस्या परेको देखिन्छ ।
पार्टीभित्रको अन्तरविरोध, विभाग तथा संगठनहरुको गठन हुन नसक्नु र जिम्मेवारी नै नपाउनु, जनतासँग जोडिने गरी प्रतिपक्षको एजेन्डा नै नभएकोमा नेता कार्यकर्तामा निराशा छ । पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालाले वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई जस्ता संस्थापन नेताको मार्गचित्र त्यागेर पार्टी गलत बाटोमा हिड्दा संकट आएको टिप्पणी गरेका छन् । पार्टी नेतृत्व नसुध्रिने हो भने आउँदा दिनहरुमा ठूलो दुर्घटनामा पर्ने समेत उनीलगायतका नेताहरुको चेतावनी छ ।
महामन्त्री शशांक कोइराला नै गुटको राजनीतिमा वरिष्ठ नेता पौडेल समूहमा देखिएका छन् । तर उनी आफू तटस्थ रहेको दावी गरिरहेका छन् । उनले देउवा र पौडेल, सिटौलाको झगडा आफूले मिलाउने दावी गर्दै आएका छन् ।
पौडेल समूहबाट महामन्त्रीमा विजयी भएका कोइराला आफू भावी सभापति भन्दै हिडेका छन् । कहिले देउवासँग त कहिले पौडेलसँग निकट देखिने उनको चरित्रले उनी कुन कित्तामा उभिन्छन् भन्ने अझै स्पष्ट छैन ।
बिहीबार पोखरामा वरिष्ठ नेता पौडेल र कोइरालाबीच अप्रत्यक्ष जुहारी नै चलेको थियो । जिल्ला कोषाध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी एक बनाउन महामन्त्रीको हैसियतमा आफू जे पनि गर्न तयार रहेको बताएका मात्र थिए, वरिष्ठ नेता पौडेलले चुनौती दिए, केन्द्रीय कार्यालयमा बसेर पार्टीको व्यवस्थापन मिलाइदिनुस्, त्यसो भएपछि पार्टी एक हुन्छ ।
पौडेलको यो अभिव्यक्तिले पार्टीभित्र गम्भीर संकट छ भन्ने देखाउँछ र कुनै पनि बेला कांगे्रस दुर्घटनाको शिकार हुन सक्छ भन्ने संकेत देखिन्छ ।
पोखरामा आयोजित कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनले पनि पार्टीभित्र व्याप्त गुट उपगुट अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएको छ । १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न कोषाध्यक्षको भेलाले पार्टीभित्र गुट उपगुट, भागबन्डा, तेरो–मेरो प्रवृत्ति छाडेर सही व्यक्ति सही स्थानमा हुनुपर्ने र विधिको सर्वोच्चतालाई व्यवहारिक रुपले कार्यान्वयन गर्न माग गरेको छ ।
घोषणा पत्र सार्वजनिक गर्दै कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले पदाधिकारी चयन गर्न पनि मतदान प्रक्रिया अपनाउनुपर्ने बताइन् । देशभरिका संघ, प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका पदमा चाँडै उपनिर्वाचन गर्न र त्यसमा नेपाली कांग्रेसले नै जित हासिल गर्न क्रियाशील रहने कांग्रेस जिल्ला कोषाध्यक्षहरुले घोषणा गरेका छन् ।
सरकारको दम्भका कारण देशमा अशान्ति छाएको भन्दै त्यसका लागि विरोधका कार्यक्रमसमेत गर्न पार्टीलाई अनुरोध गरेका छन् । पार्टीको आर्थिक अवस्था कमजोर हुन नदिन लेबी संकलन कार्यलाई तीब्र बनाउने उनीहरुले घोषणा गरेका छन् ।
जिल्ला कोषाध्यक्षहरुले पार्टीका भातृ संगठन एवं शुभेच्छुक संस्थाहरुको निर्वाचन समेत समयमै गराउन आग्रह गर्ने भएका छन् । उनीहरुले पार्टीको सदस्यता वितरण पारदर्शी, वैज्ञानिक एवं निष्पक्ष तवरले गर्न सूचित गर्ने भएका छन् ।
आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्ने र पुनः दोहोरिन सकौं भन्ने उद्देश्यले विभिन्न नेता तथा गुटले आफू अनुकुलका मानिसहरु विभिन्न समिति र प्रान्त, जिल्ला, गाउँ र नगरपालिकासम्म महत्वपूर्ण पदमा रहुन् भन्ने उद्देश्यले अघि बढेको देखिन्छ । यसले गर्दा नेपाली कांग्रेसको मुल नीतिमा समर्पित तटस्थ नेता, कार्यकर्ता अरु उपेक्षित हुन सक्ने र कांग्रेसले पनि भविष्यमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ ।
तल्लो तहका कार्यकर्ता समेत निरासा र गुटबन्दीको शिकार भइरहेका बेला केन्द्रका नेताहरुले देखाएको केटाकेटीपन एवं गुटबन्दीले पार्टीलाई कमजोर बनाउने देखिएको छ । यस्तो अवस्था रहिरहेमा आउँदो महाधिवेशनको सेरोफेरोमा वा त्यसपछि पार्टीमा कुनै ठूलो दुर्घटना भयो भने त्यसलाई अप्रत्यासित भन्न सकिने अवस्था देखिदैन । पार्टी नै कमजोर भयो भने गुट बलियो भएर के अर्थ ? नेताहरुको चेत खुल्न जरुरी छ ।