‘भारतको भुलबाट नेपालले पाठ सिक्नुपर्ने’

काठमाडौं । नेपाली मुलका भारतीय प्राध्यापक तथा कूटनीतिज्ञ महेन्द्र पी लामाले नेपालसँगको सम्वन्धमा भारतीय कूटनीति असफल हुँदै गएको विश्लेषण गरेका छन् । गत आइतबार प्रकाशित एक पत्रिकालाई दिएको अन्तर्वार्तामा दुई वर्षसम्म मेहनत गरेर तयार पारिएको इपीजीको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएका कारण बीचमा अल्मलिएको लामाले बताएका छन् ।
भारतमा संघीयताको मुद्दा अहिलेसम्म समाधान नभएको अनुभव सुनाउँदै उनले संघीयता सम्वन्धी प्रश्न गहन रहेको र त्यसले उत्कृष्ट र निकृष्ट उदाहरण समेत प्रस्तुत गरेको बताएका छन् । नेपालले भारतको अनुभव र व्यवस्था हेरेर केही कुरा सिक्न सक्ने र भारतमा भएको भुलबाट पाठ सिकेर आफ्नो संविधानबाट हटाउनुपर्ने लामाको सुझाव छ भने भारतले राष्ट्रसंग सम्वन्ध राख्ने कि नेतासँग भन्ने कुरा स्पष्ट हुन नसक्दा छिमेक नीतिमा असफल भएको विश्लेषण गरेका छन् ।
नेपालविरुद्ध नाकाबन्दी लगाउँदा दिल्ली सरकारले काठमाडौंको सरकार मात्र सोच्यो तर नयाँ पिढीबारे सोचेन भन्ने लामाको विश्लेषण छ भने त्यसले ठूलो धक्का खाएको उनले स्वीकारेका छन् ।
नेपाल स्वतन्त्र राष्ट्र भएकाले उसले गर्ने निर्णय अरुको चासोको विषय हुनु नपर्ने उल्लेख गर्दै उनले नेपालमा चीनले जे गर्न खोज्दैछ, त्यस्तो कुरा अफ्रिका, अमेरिका, युरोपेली मुलुक र पाकिस्तानसँग पनि गर्न खोज्दैछ भनेका छन् । चीनलाई नेपालको ढोकाबाट रोक्न अमेरिकाले चासो देखाएको भन्दै उनले भारतलाई केन्द्र बनाएर इन्डो–प्यासिफिक रणनीतिमा ल्याउन खोजिएको र अमेरिकाले नेपालमा प्रभाव बढाउन खोजेको यो पहिलो घटना होइन भन्ने विश्लेषण गरेका छन् ।
सन् १९६० को दशकमा चीनले तिव्वतमा प्रभुत्व बढाउन थालेपछि चीनविरुद्ध अमेरिकाले युरोपसँग मिलेर तर्कवितर्क शुरु गरेको र नेपाललाई आधार बनाएर चीनविरुद्ध तिब्बतमा हमला गरेको लामाले स्पष्ट गरेका छन् ।