गाजीपुरमा भ्यू टावरको शिलान्यास
चितवन÷भरतपुर महानगरपालिका वडा नं. १७ गाजीपुरमा बन्न लागेको भ्यू टावरको शुक्रबार शिलान्यास भएको छ । मदन भण्डारी स्मृति पार्कमा बन्ने सो भ्यू टावरको राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिकी सभापति पार्वती रावलले शिलान्यास गर्नुभयो ।
शिलान्यास समारोहमा प्रमुख अतिथि रावलले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य बाधक तत्व दलाल, नोकरशाही, पूँजीवाद र साम्राज्यवाद भएको बताउनु भयो ।
उहाँका अनुसार त्यसका विरुद्ध संघर्ष गर्दै प्रतिगामी उत्पादन सम्बन्धका बिरुद्ध प्रगतिशील उत्पादन सम्बन्धबाट मात्र समृद्धि सम्भव छ । साथै उहाँले मदन भण्डारीले देखेका सपना पूरा गर्न छरिए रहेका कम्युनिष्ट पार्टीहरू एकताबद्ध भई शक्तिशाली नेकपा बनेको र वर्तमान सरकार नेकपाले नेतृत्व गरेको र समाजवादको दिशामा अघि बढ्ने लक्ष्य र कार्यक्रमहरू तय गरेको विचार व्यक्त गर्नुभयो ।
नेकपाका युवा नेता प्रकाश कँडेलले दिएको जानकारी अनुसार मदन भण्डारी स्मृति पार्क निर्माण समितिले आयोजना गरेको उक्त समारोहको अध्यक्षता समितिका अध्यक्ष गौरस तामाङले गर्नुभएको थियो । ७५ लाख रुपैयाँ अनुमानित बजेटमा बन्ने उक्त भ्यू टावर ४ तलाको हुनेछ ।