चीनको राजकीय भ्रमणमा जाँदै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका लागि यही वेशाख ११ गते त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । बेइजिङमा २५ देखि २७ अप्रिलमा हुने दोश्रो बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी हुने गरि हुन लागेको राष्ट्रपति भण्डारीको यो चीन भ्रमणलाई औपचारिक भ्रमण बनाउन लागिएको हो ।
राष्ट्रपति भण्डारीले बेइजिङ पुग्नु अघि चीनको सान्सी प्रान्तको पनि भ्रमण गर्ने र तिब्बत हुँदै काठमाडौँ फर्कने बताइएको छ ।
सान्सीको राजधानी सियान र तिब्बतको राजधानी ल्हासामा त्यहाँका प्रादेशिक नेताहरुसँग राष्ट्रपतिको भेटवार्ता हुने परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।
वैशाख ११ देखि १९ गतेसम्म हुने राष्ट्रपति भण्डारीको चीन भ्रमण राजकीय हुने परराष्ट्र मन्त्रालयले पनि घोषणा गरेको छ भने चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ पत्रकारहरुसँग कुराकानीको क्रममा पनि सो कुरा बताएका छन् ।
राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ समकक्षी सी जिनपिङले रात्रिभोज पनि आयोजना गर्ने भएका छन् । त्यसअघि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसहितको टोलीसँग द्विपक्षीय वार्ता गर्ने र सो क्रममा पारवहन प्रोटकलमा हस्ताक्षर हुने बताइएको छ ।
चिनियाँ समकक्षी सीका अलावा राष्ट्रपति भण्डारीले अन्य चिनियाँ शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल लगायतका उच्च सरकारी अधिकारी हुने छन् ।
राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारीको बैठकलाई सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
नेपालमा गणतन्त्र स्थापना भएको दश वर्षपछि राष्ट्रपतिको यो नै पहिलो औपचारिक चीन भ्रमण हुनेछ । यसअघि नेपालका राष्ट्रपति डा. रामवरण यादवले सांघाई वल्र्ड एक्स्पो र बोआओ एशिया फोरममा सहभागी हुने क्रममा दुई पटक चीन भ्रमण गरेका थिए । सांघाईमा तत्कालीन प्रधानमन्त्री वेन जियाबाओ र पछि बोआओमा राष्ट्रपति सीसँग भेटवार्ता भएपनि यादवको भ्रमणलाई ‘राजकीय’ बनाएर राजधानी बेइजिङ निम्त्याइएको थिएन ।
बीआरआई फोरममा सहभागी हुने क्रममा चीनका राष्ट्रपति सीको निमन्त्रणामा नेपालसँगै मंगोलिया, चिली, पोर्चुगल र स्वीटजरल्याडका राष्ट्रपतिले चीन भ्रमण गर्नेछन् ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले शुक्रबार बेइजिङमा नेपालका राष्ट्रपति भण्डारीसहित विभिन्न ३७ देशका राष्ट्र तथा सरकार प्रमुख बीआरआई मञ्चमा सहभागी हुने जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्री वाङका अनुसार, हालसम्म ३७ वटा मुलुकका राष्ट्रनायक र नेताहरू त्यस मञ्चको गोलमेच शिखर सम्मेलनमा सहभागी हुनेछन् । तीमध्ये दक्षिण एशियाबाट नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि हुनेछन् ।
त्यस्तै अष्ट्रेलिया, अजरबैजान, बेलारुस, ब्रुनाई, कम्बोडिया, चिली, साइप्रस, चेक, इजिप्ट, इटली, सिंगापुर, थाइल्याण्ड, सर्बिया, भियतनामबाट प्रतिनिधिहरू रहने जनाइएको छ । संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक पनि सम्मेलनमा सहभागी हुने मन्त्री वाङ यीले जानकारी दिए ।
राष्ट्रपति सी जिनफिङले शिखर मञ्चको उद्धाटन समारोहमा सहभागी भएर सम्बोधन गर्नुका साथै विदेशी नेताहरूसँग हुने गोलमेच शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् ।