धुर्कोटले निकाल्यो स्थानीय विषयवस्तुकै पाठ्यक्रम
गुल्मी । ‘नेपाल एकिकरण पुर्व धुर्कोटका पहिलो राजा को थिए ? उत्तर–खड्गराज मल्ल । कति सालमा कसलाई हराएर उनले राज गरेका थिए ? उत्तर–१४६५ सालमा । त्यस अघि मगर वंसजका जड्या राजालाई हराएर खड्गराज मल्लले राज गर्न सुरु गरेका थिए ।
उनि पछिका राजा को हुन् ? उत्तर–मणिक मल्ल । धुर्कोटका अन्तिम राजा को थिए ? उत्तर–भुपेन्द्र मल्ल । यी मल्ल वंशका राजा कहाँबाट र को को लिएर आएका थिए ? उत्तर–जुम्लाबाट शिकार खेल्दै रतन पाण्डे, मैते धामी, टोटे ढोली, धनविरे कुमाल, लाम्चे कामी, गधले गायन, पिरु मिजार, भण्डारी र अहिले धुर्कोटमा भएका सबै जातजाती लिएर आएका थिए ।
त्यति बेला धुर्कोटमा कति मौजा थिए र एक मौजामा कति कुरिया बस्थे ? उत्तर–१४ मौजा थिए । एक मौजामा ५० घरधुरी बसोवास गर्थे । धुर्कोट राज्यका अन्तिम राजा भुपेन्द्र मल्ललाई कसले कति सालमा पराजित गरेका थिए ?
उत्तर–१८४३ साल आश्विन १३ गते नायवबहादुर शाहको नेतृत्वमा आएको नेपाली सेनाले धुुर्कोट राज्यमा आक्रमण गरेको थियो । राजा मल्लले आत्मसमर्पण गरि नयाँगाउँ भन्ने स्थानमा गई बसे पछि विना रक्तपात राजा पृथ्वी नारायण शाहको नेपाल एकिकरणको पश्चिम क्षेत्रको अभियान सफल भएको थियो ।
धुर्कोटका मल्ल राजाहरुको अस्तित्व कहिले सम्म रह्यो ? कर्णेल वावु साहवको राज्यकाल सम्म । यहाँका मल्ल राजाले राजकीय भत्ता खाई रहे, त्यति बेला सम्म उनिहरुको अस्तित्व रहेको थियो । ’
यसरी आफ्नै गाउँको ईतिहास, वर्तमान र भविश्य समेटेर जिल्लामै पहिलो पटक आफ्नै सामाजिक विषय वस्तुमा आधारित पाठ्यक्रम तयार पारेको छ, गुल्मीको धुर्कोट गाउँपालिकाले ।
स्थानीय सामाजिक विषय वस्तुमा आधारित कक्षा १ देखि कक्षा ५ सम्मको सामाजिक विषयको पाठ्यक्रम तयार पारि पाठ्यपुस्तक छपाई गर्न लागेको त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काँशीराम पन्थीले बताए । यसै शैक्षिक सत्र देखि विद्यार्थीहरुलाई पढाउन सुरु गर्न लागेको धुर्कोटका शिक्षा अधिकृत मधु घिमिरेले बताए ।
घिमिरेले प्रदेश ५ मा यसरी स्थानीय विषयवस्तुमै पाठ्यपुस्तक निकाल्न लागेको धुर्कोट गाउँपालिका पहिलो भएको दावी गर्दै उनले भने कक्षा १ देखि कक्षा ५ सम्म धुर्कोटमा यसै शैक्षिक सत्र देखि पढाई सञ्चालन गरिन लागेको बताउँदै भने–‘यसपाली अर्को बर्षलाई समेत स्टक राख्ने गरि ५ हजार पुस्तक निकाल्न लागेका छौं । ’
धुर्कोटको सामाजिक, राजनैतिक र धार्मिक ,ईतिहास, धुर्कोट कै विभुतीको चर्चा समेटिएको सामाजिक विषयको पाठ्यक्रमले नयाँ पिढीलाई ब्यवहारिक र प्रभावकारी शिक्षा दिने धुर्कोट गाउँपालिका उपप्रमुख शिबहादुर केसीले बिश्वास ब्यक्त गर्दछन् ।
‘अहिले पाठ्यक्रम मात्र छपाई भएको छ । पाठ्यपुस्तक छपाईमा गएको छ, –उनले भने–‘आफ्नै वस्तुस्थित विद्यार्थीको मानसपटलमा घुम्ने भएकोले यो विषय आफैमा पनि ऐतिहासिक र ब्यबहारिक हुने कुरामा हामी विश्वस्त भएरै हात हालेका हौं, –उनले भने ।
अहिलेको पिढीलाई आफ्नै गाउँठाउको ईतिहास त परै जाओस् सिमाना समेत थाह छैन – गाउँपालिका प्रमुख पोखरेलले भने –‘पहिलो कुरा त आफु, आफ्नो परिवार, छरछिमेक र गाउँपालिकाको परिचय, स्थानीय परम्परा, मुल्य मान्यता, शिष्टाचार र नैतिक शिक्षा संगै त्यही अनुरुपको ब्यवहारका लागि वालवालिकालाई तयार पार्नु पाठ्य पुस्तकको मुख्य उद्देश्य हो ।’
उक्त पाठ्यपुस्तकमा आफु रहेको भौगोलिक, सामाजिक र आर्थिक, अवस्थाको वर्णन गरिएको छ । धुर्कोटको ईतिहास, स्थानिय कला संस्कृति, सम्पदा र पर्यटकिय क्षेत्रको पनि वर्णन गरिएको छ ।
छिमेकी स्थानिय तहको पनि परिचय गराएको छ । गाउँपालिकाले सम्पादन गर्ने काम, संघ संस्थाले उपलब्ध गराउने सेवाबारे पनि प्रशिक्षित गर्ने सामग्री पाठ्यपुस्तकमा समेटिएको छ ।
त्यहाँका महत्वपुर्ण ब्यक्तिहरुको परिचय गराईनुका साथै धुर्कोट प्रति विद्यार्थीहरुलाई अपनत्व सिर्जना गराई पुर्ण समर्पित गराउने सामग्री समेटिएको छ । नेपालको परिवर्तनकारी आन्दोलनमा वलिदानी दिने सपुतहरु को को थिए ?
परम्परागत खेती र आधुनिक कृषि ब्यवसायबाट हुने उत्पादनको फाईदा÷वेफाईदाबारे पनि पाठ्यपुस्तकमा समेटिएकोले विद्यार्थीहरुलाई ब्यबहारिक शिक्षा तर्फ त्यहाँको स्थानिय सरकारले उन्मुख गराउन खोजेको छ ।
धुर्कोटको ईतिहास सहितको पाठ्य सामग्री तयार पार्न धुर्कोट परमानन्द बहुमुखी क्याम्सका क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारी लगायतका बौद्धिक सर्कलहरुको महत्वपुर्ण योगदान रहेको त्यस गाउँपालिकाले जनाएको छ ।