‘पोई पर्यो काले’मा पूजाको पोई बन्दै सौगात

काठमाडौं । चलचित्र ‘पोई प¥यो काले’ को छायांकन जेठबाट शुरु हुने बताइएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्र कात्तिक ८ गते तिहारको लक्ष्मीपूजाको अवसर पारेर सार्वजनिक गरिने निर्माण युनिटले जनाएको छ ।
कमेडी र सामाजिक कथामा आधारित ‘पोई पर्यो काले’ नामकै कारण पनि चर्चामा रहेको चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् ।
यो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र सौगात मल्लले अभिनय गर्ने भएका छन् । पूजाले २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिइसकेको बताइएको छ ।
नायक मल्ल र नायिका शर्माले पहिलोपटक एकसाथ स्क्रिन सेयर गर्ने भएका हुन् । यो चलचित्रमा पूजाको श्रीमान्को भूमिकामा नायक सौगात मल्ल देखिने भएका छन् भने आकाशको भूमिका भने खुलाइएको छैन । चलचित्रमा नायिका श्रृष्टी श्रेष्ठको इन्ट्री हुने संभावना रहेको बुझिएको छ । प्रेममा रहेका सौगात र श्रृष्टी एकसाथ चलचित्रमा काम गर्दै आएकाले यसमा पनि श्रृष्टीको इन्ट्रि हुने संभावना रहेको बताइएको छ ।