सेनाको छवि धमिल्याउन सक्रिय कुन हो त्यो शक्ति ?
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सुधार गर्दै जाने योजनाअनुसार विभिन्न निर्णयहरु गर्दै आएका छन् । सेनाको छविलाई अरु उज्यालो र परिस्कृत बनाउने ‘सैनिक आचारसंहिता २०७६’ जारी भएको छ ।
‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबार शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाही गरिने चेतावनी दिएका छन् ।
सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना भएको स्वीकार गर्दै सेनापति थापाले भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार नहुने भएकाले आर्थिक अपारदर्शिता, ‘चेन अफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्नु परेको बताएका छन् ।
सेनाको छवि धमिल्याउन अझै पनि केही शक्ति सक्रिय रहेको बताउँदै सेनापति थापाले पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्ने बताएका छन् ।
आर्थिक अनियमितताविरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गरेका छन् ।
आर्थिक अभाव छ भनेर अनियमितता गर्ने छुट कसैलाई नहुने बताउँदै सेनापति थापाले पदोन्नति र शान्तिसेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराई दबाब दिने प्रयास नगर्न चेतावनी दिएका छन् ।
सेनाले प्रत्येक वर्ष पहिलो महीनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिइने भएको छ । प्रधानसेनापति थापाले सो कार्यक्रममा आचारसंहितासम्बन्धी पुस्तक पनि लोकार्पण गरेका छन् ।
जानेर वा अन्जानमा हुने कुनै पनि घटनालाई कम गर्दैै लैजाने उद्देश्यले आचारसंहिता बनाएको बताइएको छ । आचारसंहितामा नेपाली सेनाले सामाजिक सञ्जालमा वर्दिसहितको फोटो हाल्न बन्देज लगाएको छ । सेनाका विषयमा आक्षेप लाग्ने कुरामा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल मार्फत सेयर, लाइक र कमेन्ट गर्न वन्देज लगाइएको बताइएको छ । शान्ति मिसनमा जाने अधिकारीले युनिटका लागि उपहार ल्याउने वाध्यात्मक प्रचलन रहेकोमा त्यो रोक्न समेत कडाइ गरिएको बताइएको छ ।
जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार लघु किताबका रुपमा प्रकाशित आचारसंहिता नयाँ भने होइन । यद्यपि, केही विषय परिमार्जन गरिएका छन् ।
‘पहिले भएकै आचारसंहिताहरुलाई संग्रहित गरेर कार्यान्वयनका लागि पहल गरिएको हो’, सहायक रथी पाण्डेले भने । आचारसंहितामा सैनिक अधिकारीले गर्नु पर्ने व्यवहार र आचरणका बारेमा व्याख्या गरेको छ ।
विभिन्न खण्डमा रहेको पुस्तिकामा सैनिक आचरण, मूल्य–मान्यता, आर्थिक कारोबार तथा बजेट, मिडिया नीति, सामाजिक सञ्जाल प्रयोगको परिधि लगायतका विषय समेटिएका छन् ।
सामाजिक सञ्जाल प्रयोगको हकमा धार्मिक सहुष्णिुतामा खलल पुग्ने विषय पोष्ट गर्न वा लाइक, कमेन्ट वा शेयर गर्न नहुने भनिएको छ । सेनाको विषयमा आक्षेप लाग्ने विषयमा पनि लाइक, कमेन्ट वा शेयर गर्न पनि निषेध गरिएको छ ।
सैनिक अधिकारीलाई सामाजिक सञ्जालमा बर्दीको फोटो पोष्ट गर्न पनि निषेध गरिएको छ ।
आचारसंहिताको सामाजिक सञ्जालको परिधि खण्डमा भनिएको छ, ‘कुनै राजनीतिक पार्टी वा अन्य कुनै व्यक्तिसँग सम्बन्धित अनावश्यक टिप्पणी गर्न पाइने छैन ।’ गोप्य सैनिक सूचना चुहाउन नहुने पनि भनिएको छ ।
संहितामा ठेकेदारले प्रलोभन देखाउन सक्ने जनाउँदै कुनै पनि किसिमको उपहार लिने कार्यमा संलग्न नहुन पनि भनिएको छ । यसअघि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने अधिकारीले युुनिटका लागि विभिन्न किसिमका उपहार ल्याउने बाध्यात्मक प्रचलन रहे पनि अब कुनै किसिमको उपहार ल्याउनु नपर्ने भनिएको छ ।
कुनै पनि पोष्टिङका क्रममा सैनिक अधिकारीलाई मायाको चिनो दिने परम्परालाई भने यथावत् राखिएको छ । अन्य किसिमका उपहार भने मान्य नहुने आचारसंहितामा उल्लेख छ ।