क्रिकेट रंगशालाको जमिन सम्याउन शुरू

चितवन÷गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्झौताको तेस्रो महिनामा जमिन सम्याउने कार्य शुरू भएको छ । त्यसका लागि भूमि पूजा गरिएको छ । वैशाख ११ गते पञ्चमी तिथिको साइत पारेर हिन्दू परम्परा र संस्कृति अनुसार यस कार्यमा कुनै समस्या नआओस् भनी भूमि पूजा गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका प्रतिनिधि चन्द्र खड्काले बताउनु भयो ।
स्थानीय पण्डित प्रेमप्रकाश पौडेलले सम्पन्न गराएको उक्त पूजामा मूलकर्ताका रूपमा प्रोजेक्ट म्यानेजर अर्जुनप्रसाद न्यौपाने हुनुहुन्थ्यो । यो पूजा गराएपछि विपत्ती टर्ने हिन्दू धर्ममा आस्था राख्ने धेरैको मान्यता छ । उक्त पूजापछि दैनिकजसो डोजरले जमिन सम्याउने कार्य भैरहेको छ । क्रिकेट ग्राउण्डको मूल आकार प्रकारको डिजाइनसहितको रेखदेखका लागि पाका क्रिकेटर कोमलबहादुर पाण्डे पनि केही दिनदेखि यहाँ खटिनु भएको छ ।

पाण्डेका अनुसार जमिनको सतह केही भाग समथर भए पनि धेरै भाग घोल किसिमको खाल्डाखुल्डी भएकाले कसरी सम्याउने भन्ने विषयमा छलफल चलिरहेको छ । बाहिरबाट माटो ल्याउँदा थप खर्चिलो र समय पनि बढी लाग्ने भएकाले यहीँ भित्रको समथर भागबाट करिब ३ फिट माटो काटेर घोलहरू पुर्न सकिन्छ । त्यसो गर्दा ग्राउण्डको सतह बस्तिभन्दा गहिरो देखिन्छ । क्रिकेट ग्राउण्डको पिचका लागि चुइँगमजस्तो तन्किने खालको एकदमै बलियो माटो चाहिन्छ र अत्यधिक मात्रामा त्यस्तो माटो पाउनु पनि दुर्लभ नै हुन्छ । त्यस्तो माटोको खोजी गर्न तनहूँको दमौली पुगियो, त्यहाँ पनि अब चाहिने जति माटो छैन । अन्यत्र पनि खोज्नु पर्ने भएको छ ।
इञ्जिनियर, फाउण्डेशनको अध्यक्षज्यूसहितको टिम बसेर निक्र्यौलमा नपुगी ग्राउण्ड सम्याउन कति दिन लाग्छ भन्न सकिन्न पाण्डेले भन्नुभयो ।