गुल्मीदरबारमा राष्ट्रपति दौड
गुल्मी÷गुल्मीदरबार गाउँपालिकाले पहिलोपटक आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निकै रोचक भयो । ‘राष्ट्रका लागि खेलकूद स्वास्थ्यका लागि खेलकूद’ भन्ने नाराका साथ लोकतन्त्र दिवशका दिन शुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।
शिक्षा, युवा तथा खेलकूद शाखाद्वारा सञ्चालित गाउँपालिका भित्रका तीनवटा विद्यालयको प्रांगणमा खेलाइएका १५ वटा खेलमध्ये प्रतियोगिताको आकर्षण भलिबल भएको खेल हेर्न आएका दर्शकले बताए । भलिबल तर्फको उपाधिसहित अंक तालिकाको आधारमा राष्ट्रपति रनिङ शिल्डको प्रथम ट्रफी रुन्खा दह मा.वि.ले उचालेको छ ।
यसैबीच गाउँपालिकाका कर्मचारी र विभिन्न विद्यालयका शिक्षकबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिक्षकको टिम विजेता बनेको छ । पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायत सयौं स्थानीयको पनि सहभागिता थियो ।
सो गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको शुभारम्भ समारोहका विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेत हुनुहुन्थ्यो । गाउँपालिकाका सामाजिक विकास संयोजक हिराबहादुर खत्रीको सभापतित्वमा सम्पन्न शुभारम्भ समारोहमा शिक्षा अधिकृत दीपक भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण राजारुन्खा मा.वि.का शिक्षक टोपबहादुर थापाले गर्नुभएको थियो ।