प्रतिवन्ध र आन्दोलनको विकल्प खोज्न जरुरी
टिप्पणी
सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार देखिन थालेको छ भने उनकै पार्टीका कतिपय नेताले पनि वार्ताका लागि नेतृत्वलाई दवाव दिन थालेका छन् । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । जति नै आन्दोलन गरेपनि, बम पड्काएपनि, क्रान्ति गरेपनि अन्तत त्यसको समाधानको विकल्प भनेको वार्ता नै हो । २०५२ सालदेखि १० वर्ष चलेको हिंसात्मक द्वन्द्वका बेला संसदीय प्रणाली स्वीकार्न तत्कालीन माओवादी तयार थिएन । तर परिस्थितिले उसलाई शान्ति प्रक्रियामा आउन वाध्य बनायो । हिंसाको राजनीतिले सफलता प्राप्त गर्न सक्दैन, जनताले दुःख र राज्यले क्षति व्यहोर्नुपर्ने मात्र हो भन्ने कुरा माओवादीको १० वर्षे द्वन्द्वले देखाइसकेको छ । सभामुख कृष्णबहादुर महरा मार्फत सरकारसँग सम्पर्क गरेर चन्द समूहका केही नेताले वार्ताको वातावरण बनाउन खोजेको देखिन्छ । चन्द नेतृत्वको पार्टीका पोलिटव्यूरो सदस्य पदम राईले भनेझै निरन्तर लडेपनि अथवा पार्टी बलियो भएपनि आफैले जितेर राज्य सत्ता कब्जा गर्ने अवस्था छैन ।
बम विस्फोट गराउनुका साथै चन्दा आतंक मच्चाएको भन्दै सरकारले चन्द नेतृत्वको पार्टीका गतिविधिमाथि फागुन २८ गते प्रतिवन्ध लगाएको थियो । लोकतन्त्रमा पार्टीमाथि प्रतिवन्ध लगाउनु पनि शोभनीय देखिदैन । तसर्थ सरकारमाथि पनि प्रतिवन्धको विकल्प खोज्न दवाव परिरहेको छ । प्रहरीले सो पार्टीका नेता, कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । चन्दको पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य मोहन कार्की, बसन्त श्रेष्ठ, महिला संगठनकी अध्यक्ष बन्धु चन्दलगायत सयौं कार्यकर्ता पक्राउ परिरसकेका छन् । आफ्ना नेता, कार्यकर्ता पक्राउको विरोधमा चन्दको पार्टीले नेपाल बन्द आव्हान समेत गरेको थियो ।
प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि खुला रुपमा हिडडुल गर्न समेत अप्ठ्यारो परेकोले धेरैजसो कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका छन् भने धेरैले वार्ता गर्नुपर्ने दवाव दिइरहेका छन् । अन्य पार्टीहरुले पनि चन्दको पार्टीमाथि लगाइएको प्रतिवन्ध सरकारले हटाउनुपर्ने र चन्द शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने सुझाव दिएका छन् । तर चन्दले जनताको वास्तविक मुक्ति ल्याउन र देशलाई बचाउन नयाँ संघर्ष जरुरी भएकाले नै आफूहरुले संघर्ष गरिरहेको दावी गरेका छन् । सरकारका कारण देश र जनता असाध्यै जोखिममा पर्दै गएको र देशको अवस्था दिनानुदिन विग्रदै गएकाले नयाँ संर्घषमा एक भएर लाग्नुको विकल्प नभएको उनको जिकिर छ । मुलुकको रक्षाका लागि आफू नेतृत्वको नेकपाले निरन्तर आन्दोलन गरिरहेको तर्क गर्दै चन्दले आफ्नो आन्दोलनलाई सहयोग गर्न आम जनतालाई आग्रह गरेका छन् । वहुदलीय प्रतिस्पर्धामा आए उनले जनताबाट सहयोग र जनमसर्थन पाउन सक्छन् । जनताले विकल्प खोजिरहेका हुन्छन्, हालका ठूला दलको विकल्प पनि खोज्न सक्छन् । तर विकल्प खोज्ने नाममा हिंसालाई रोज्न सक्दैनन् । तसर्थ सरकारले चन्द समूहलाई वार्तामा बोलाउनु र सो समूह पनि वार्तामार्फत वहुदलीय प्रणालीमा आएर सक्रिय राजनीतिमा भाग लिँदै आफ्नो राजनीतिक यात्रामा अघि बढ्नुको विकल्प छैन ।