भरतपुर महानगरपालिकाको सार्वजनिक सुनुवाईमा गुनासोका वर्षा
चितवन÷भरतपुर महानगरपालिकाले थुप्रै गुनासा र सुझावसहित सार्वजनिक सुनुवाईको सामना गरेको छ । लोकतन्त्र दिवशका दिन महानगरको वडा नं. १६ मा आयोजित दोश्रो चौमासिक समीक्षा तथा सुनुवाई कार्यक्रममा अधिकांश सहभागीले विकासे योजनाहरू अल्पत्र परेको गुनासो गरे ।
प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले पेश गरेको प्रतिवेदनमा टिप्पणी गर्दै प्रा.डा. केशवभक्त सापकोटाले अहिलेसम्मको पूजीगत खर्च ३३ प्रतिशत मात्र हुनु महानगरले प्रगति गर्न नसकेको प्रष्ट हुन्छ भन्दै यो खर्च बढाउने उपायतिर लाग्न सुझाव दिनुभयो । साथै उहाँले सडक निर्माण र विस्तारमा भएको गुणस्तर र समयको भ्रष्टाचारलाई हेर्ने निकायलाई पनि सचेत हुन आग्रह गर्नु भयो ।
नेपाली काँग्रेसका सूर्य बस्नेतले महानगरमा लेखा समिति गठन नगर्दा भ्रष्टाचारले प्रश्रय पाएको जिकिर गर्नुभयो । वीरेन्द्र घिमिरेले खोलाको बालुवा र गिट्टीबाट उठेको राजस्वमा सोही वडाको हक लाग्ने कि नलाग्ने ? भनी प्रश्न गर्नुभयो । सुरवीर पोखरेलले वडा नं. २४ लाई वातावरणमैत्री वडा घोषणा गर्नुको आधार खोज्नुभयो । श्री मा.वि. ढड्डाघारीका अध्यक्ष भोजराज पौडेलले सामुदायिक विद्यालयको अनुगमन नहुँदा शैक्षिक गुणस्तर खस्केकाले अनुगमन र मूल्यांकनको समुचित व्यवस्था गर्न आग्रह गर्नुभयो । मोहनपुर टोल विकास संस्थाका सचिव राजकुमार श्रेष्ठले सरकारले कक्षा ८ सम्म निःशुल्क भनेको तर मोहनपुर स्कुलले कक्षा अनुसार सयका दरले मासिक शुल्क लिने गरेकोमा कसले न्याय दिन्छ ? भन्नुभयो ।
त्यस्तै, भ्रष्टारविरुद्ध अभियान वडानं. ४ का प्रतिनिधि यमलाल कँडेलले धारापानी बाल उद्यानलाई बजेट नछुट्टयाइएको गुनासो गर्दै भन्नुभयो,–महानगरले कम्तिमा पनि ५० वर्ष फेर्न नपर्ने गुरुयोजना बनाउनुप¥यो । महिनैपिच्छे फेर्दा धेरैलाई भ्रम भयो र काम गर्न दुःख भयो ।
शिक्षक यमुना बरालले विद्यालयले श्रेणीअनुसार शुल्क लिन सक्ने भनिएको छ तर कुन विद्यालय कुन श्रेणीको हो ? भनी छुट्टयाउने आधार छैन भन्दै बैंकको साइन बोर्डमा जस्तै विद्यालयको साइनबोर्डमा पनि श्रेणी छुट्टयाउनु पर्ने बताउनु भयो । कृषक नवीन धितालले किसानहरू अपहेलित भएको दुःखेसो गर्दै भन्नुभयो,–हाम्रो उत्पादनको मूल्य पनि छैन र बिक्री पनि हुन्न, यस्तो अवस्थामा किसान कसरी बाँच्न सक्छन् ?
भ्रष्टाचार विरोधी सहयोगी समूहका संयोजक क्षेत्रप्रसाद सापकोटाले प्रायः सरकारी कार्यालयहरूमा तल्लो तहका कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नभएको गुनासो गर्नुभयो । साथै उहाँले लागूऔषध सेवन गर्ने लगायतका वदमासलाई तह लगाउन सुरक्षा निकाय सक्रिय हुनुपर्ने सुझाव पनि दिनुभयो ।
मधु धितालले शहीद चोकदेखि शिवघाट ठूलोगढी हुँदै विजयनगर जाने बाटो वर्षौंदेखि अल्पत्र परेको भन्दै कहिले बन्छ ? भनी सोध्नुभयो । सक्रिय आमा समूहकी सदस्य कालिका गौतमले गैंडाले सताएर एकातिर ज्यान जोगाउन मुश्किल परेको र अर्कातिर खेतीपाती स्याहार्न नपाइएको गुनासो गर्दै गैंडालाई हाने मान्छेलाई कार्वाही हुने, मान्छेलाई हाने गैंडालाई केही नहुने अवस्थामा गैडापीडितले के गर्ने ? भनी सोध्नुभयो ।
ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले सामुदायिक वनसँग सरोकार भएका काममा सो वनको समितिसँग मिलेर काम गर्नुपर्ने सुझाउनु भयो । पूर्वमाओवादी केन्द्र १६ का सहसंयोजक रहेका विजय परियारले नक्सापास नै नभएको ठाउँमा पिच हुनु भ्रष्टाचार नभए के हो ? भनी प्रश्न उठाउनु भयो ।
फलोरबाट बोल्ने हरिप्रसाद अधिकारी, विष्णुमाया पाण्डे र अपांग समाजकी कोषाध्यक्ष लगायतले आ–आफ्नो क्षेत्रको गुनासो पोख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण गरिरहेकी भ्रष्टाचार विरुद्ध अभियानकी शर्मिला पण्डितले फलोरबाट बोल्न हात उठाउने अन्यलाई बोल्न रोकेपछि बोल्न इच्छुक धेरै निरास भए । निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो गरी शुरु भएकोमा सहभागीले आपत्ति जनाएका थिए । ढिलो शुरु गर्ने अनि बोल्न नदिने भनेका थिए ।
फलोरबाट आएका सुरक्षासम्बन्धी जिज्ञासा मेटाउँदै जिल्ला प्रहरी प्रमुख तथा एसपी सुशिलसिंह राठौरले दुव्र्यसनीमा लागेका छोराछोरीलाई आपूmले नसके प्रहरीलाई जानकारी गराउनु जिम्मेवार अभिभावकको कर्तव्य भएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले टेण्डर हुँदा बाटो पिचको मात्रै हुने तर त्यससँग सम्बन्धित खानेपानीको पाइप, ढल, विद्युत, टेलिफोन लाइन र बाटो पर्ने रुखविरुवाको बारेमा मतलब नहुने प्रबृत्तिले गर्दा काममा ढिलाइ हुने र योजना अल्पत्र पनि पर्ने गरेको दृष्टान्त सुनाउनु भयो । उहाँले विकास भनेको बाटोघाटोका अतिरिक्त सदाचार र संस्कार पनि भएकाले यिनको पनि विकास गर्नु जरुरी रहेको बताउनु भयो । साथै कर्मचारीको मनोबृत्ति सुधारमा आफ्नो प्रयास जारी रहने पनि उहाँले बताउनु भयो ।
भ्रष्टाचार विरुद्ध अभियानका संयोजक तथा पूर्वसांसद भीमबहादुर श्रेष्ठले केन्द्रकै मिलेमतोमा खर्बौंको राजस्व चुहावट भएको दावी गर्दै लोकतन्त्रको उपलब्धि पशुपति शर्माको गीत लुट्न सके लुट वा लुटतन्त्र नै भएको भन्नुभयो । यस अभियानले कसैको लुटलाई छुट नदिने पनि उहाँले बताउनु भयो ।
कार्यक्रमको सभापतित्व गरेकी नगरप्रमुख रेणु दाहालले लेखा समिति गठन नभएको प्रतिक्रियामा गठन हुन लागेको बताउँदै भन्नुभयो,– संसदमा जस्तो बाध्यता नभए पनि गठन गर्नुपर्ने सुझाव आउन थालेकाले गठन हुँदैछ । मूल कुरा त्यो समिति भन्दा पनि नियत हो, समिति गठन हुँदैमा भ्रष्टाचार रोकिने र नहुँदैमा भ्रष्टाचार मौलाउने कुरा हुँदैन तर पनि समिति गठन हुन्छ । साथै उहाँले विभिन्न जिज्ञासको संक्षिप्त जवाफ दिदै जनताका सुझावलाई आत्मसात गर्दै अघि बढ्न आप्mनो प्रयास जारी रहने बताउनु भयो ।
प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले विचारमा विविधता भए पनि विकासमा एकता नै अहिलेको आवश्यकता भएकाले विकासलाई साझा अभियानका रूपमा अघि बढाउन चितवनवासी एक हुनुपर्ने बताउनु भयो । चितवनमा उदाहरणीय काम हुनुपर्छ किनकि यो जिल्लालाई सबैले ध्यान दिएर हेरेका हुन्छन् । यहाँ के हुँदैछ भन्ने चासो देशभरि नै हुन्छ ।
नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले मेयर दाहाललाई काँग्रेसको बलले जिताएकाले काँग्रेसले मेयरसँग गुनासो राख्न गाह्रो मान्नुपर्ने अवस्था नरहेको मन्तव्य राखेको प्रतिक्रियामा नेकपाका कृष्णराज न्यौपानेले उतिबेला भोट साटासाट गरेको कुरा उतिबेलै सिद्धिएकाले अब काँग्रेसले त्यसो भन्न नमिल्ने भनेपछि फलोरमा बसेका काँग्रेसका कार्यकर्ताले वक्ता न्यौपानेको विरोध गर्दा कार्यक्रममा एकछिन कोलाहल मच्चिएको थियो । बोल्ने पालोमा रहेकी उपप्रमुख पार्वती शाहले पुरानो कुरालाई लिएर कोलाहल नगर्न अनुरोध गर्दै भनिन्,–अब मिलेर विकास गरेर भरतपुरलाई समृद्ध गराउनु पर्छ ।
कार्यक्रमको समापनसम्म आफ्ना जिज्ञासाको जवाफ आउला कि भनी पर्खिएका कतिको जवाफ आएन भने जो केही प्रश्न तेस्र्याएर कडा रुपमा बोले उनीहरू जवाफको प्रतीक्षा गर्न नसकि हिंडिसकेका थिए ।
बाजागाजासहित शुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको अधिकांश समय मञ्चमा आसिनहरूकै भाषणमा खर्च भएकाले तामझाम अनुसारको उपलब्धि नभएको गुनासो सहभागीको थियो । हाम्रा गुनासा सुन्न नसक्ने हो भने सार्वजनिक सुनुवाईको के अर्थ ? केही सहभागीले प्रश्न तेस्र्याए । जवाफ नपाएकाले पनि मिडियासित आक्रोस पोखे ।
महानगरले यस अवधिमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग भएको सम्झौतलाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा व्याख्या गरेको छ । यसका साथै जनगुनासा अनुसार सुधारका कार्यक्रम विस्तार गर्दै लैजाने पनि केही प्रश्नको जवाफमा सरोकारवालाले बताएका छन् ।