आइसिटी अवार्डको नोमिनेसन खुला

काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुने बताइएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन बुधबारदेखि खुला भएको बताइएको छ । चौथो संस्करणका रुपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिने बताइएको छ ।
स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, डायस्पोरा आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी ९ विधामा अवार्ड सञ्चालन हुने बताइएको छ ।
जेठ १ देखि २५ गतेसम्म अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिले जनाएको छ । यसैगरी असारको पहिलो हप्तादेखि सर्टलिस्ट प्रकाशन गरी छनोटका अन्य अभ्यास सुरु हुने जुरी समूहमा रहेका हेमपाल श्रेष्ठले वताएका छन् ।
१० जनाको जुरी समूह रहेको छ भने ७ जना जुरी सल्लाहकारका रुपमा छन् । अवार्ड कार्यक्रम पारदर्शी र निष्पक्ष हुने आयोजक समितिका संयोजक राजन लम्सालले दावी गरेका छन् । यस वर्षको आइसिटी अवार्डका लागि ४ महिना अघिदेखि नै तयारी सुरु गरिएको आयोजकले जनाएको छ ।
अवार्डको प्रि–इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला’ आयोजना गरिएको छ । स्थानीय स्तरहरूमा विद्यार्थीका प्रोजेक्ट र स्टार्टअप्सका प्रडक्टहरूलाई प्रवद्र्धन गर्दै राष्ट्रिय प्लाटफर्म दिने उद्देश्यले स्टार्टअप मेला आयोजना गरिएको बताइएको छ । अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजी लगइन गर्नुपर्नेछ ।
स्टार्टअप आइसिटी अवार्डमा प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन् भने प्रडक्ट आइसिटी अवार्डमा एक वर्षभित्र सार्वजनिक भएका प्रडक्टहरूले सहभागिता जनाउन सक्ने बताइएको छ । पायोनियर आइसिटी अवार्ड आइसिटी क्षेत्रका प्रबुद्ध र अग्रजहरूका लागि गरिने सम्मान हो । अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरका रुपमा मनाइने आइसिटी अवार्डमा पायोनियर अवार्ड सबैभन्दा सम्मानित अवार्ड रहेको आयोजकको दावी छ ।
आन्टरप्रेनर्स आइसिटी अवार्ड उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रयास स्वरुप समावेश गरिएको बताइएको छ । आइटी क्षेत्रमा योगदान दिइरहेका र सफलता हासिल गरिरहेका व्यक्तिहरूका लागि यो अवार्ड आयोजना गरिने बताइएको छ ।
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था, विभाग वा कार्यालयहरूले प्राप्त गर्ने अवार्ड हो । सबैभन्दा राम्रोसँग प्रविधिको प्रयोग गरी जनतालाई सजिलो, छिटो र भरपर्दो सेवा प्रदान गर्ने सरकारी संस्थालाई सो अवार्डबाट सम्मानित गरिने बताइएको छ ।
नेपाली डायस्पोरा आइसिटी अवार्ड विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा विशेष योगदान दिइरहेका व्यक्तिहरूका लागि समर्पित रहेको बताइएको छ । राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूले बनाएको प्रडक्टका आधारमा प्रदान गरिने बताइएको छ । डिजिटल एजुकेसन आइसिटी अवार्ड सूचना प्रविधिलाई अधिकतम् प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएका स्कुल तथा सामाजिक संस्थाहरूलाई प्रदान गरिने बताइएको छ ।
मिडिया रिकग्निसन आइसिटी अवार्ड सूचना प्रविधि विटमा रिपोर्टिङ तथा लेखरचना प्रकाशन गर्ने पत्रकारहरूलाई प्रदान गरिने बताइएको छ । अवार्डका लागि अनलाइनबाट नोमिनेसन दर्ता गर्नुपर्ने बताइएको छ ।
अवार्डको नोमिनेसनका लागि आइसिटी अवार्ड डट ओआरजीमा गएर अनलाइन आवेदनमा क्लिक गरी विधा छानेर आवश्यक उल्लेख गरिएको फारममा जानकारी र डकुमेन्ट सवमिट गरेर नोमिनेसन दर्ता गराउन सकिने छ ।