कांग्रेसलाई म्युजियममा राख्ने कि डा. भटट्राईलाई चिडियाखानामा ?!

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । कांग्रेसकै सहयोगमा गोरखाबाट निर्वाचन जितेका भट्टराईले यति छिट्टै गुन विर्सिएका मात्र छैनन् कांग्रेसलाई नराम्रोसँग होच्याएर अभिव्यक्ति दिएपछि कांग्रेसका नेता धनराज गुरुङले भट्टराईप्रति दह्रै कटाक्ष गरेका छन् । गुरुङले भट्टराईप्रति व्यंग्य गर्दै ट्वीटमा लेखेका छन् “एक जना पार्टी फेर्दै हिड्ने श्रदेय नेताले ‘नेपाली कांग्रेसलाई म्युजिमयमा राख्नुपर्छ’ भनेका रहेछन् । तर पार्टी फेर्दै हिड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकि राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको ।”
माओवादीबाट फुटेर नयाँ शक्ति पार्टी खोलेका भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर हालै मात्र समाजवादी पार्टी बनाएका थिए । नयाँ पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै भट्टराईले ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र स्थापनामा उस्को ठुलो भूमिका रह्यो । अब काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्छ,’ भनेका थिए । जनताको समृद्धि र विकास गर्ने पार्टीको रुपमा नयाँ पार्टी आएको उल्लेख गर्दै भट्टराईले अब, समाजवादी पार्टीले यसको नेतृत्व गर्ने बताएका थिए ।
नयाँ शक्ति पार्र्टी गठन गर्दा पनि भट्टराईले माओवादी, एमाले, कांग्रेस, मधेशवादी, राप्रपा कुनै पनि दलले मुलुकमा परिवर्तन र जनतालाई राहत दिन नसक्ने ठोकुवा गर्दै आफ्नो पार्टीले मात्र देशको विकास र जनताको जीवनस्तर उकास्न सक्ने दावी गरेका थिए । तर निर्वाचनमा जनताले नपत्याएपछि स्खलित भएका भट्टराई उपेन्द्र यादव नेतृत्वको पार्टीसँग मिल्न पुगेका हुन् । कांग्रेस नेता गुरुङले भने झै उनी सो पार्टीमा कति टिक्ने हुन् त्यो भने समयले देखाउँला ।