जागरणमा गएका नेतालाई कार्यकर्ताले दिए उल्टै शिक्षा
काठमाडौं । वैशाख २५ गतेदेखि चलाएको नेपाली कांग्रेसको जागरण अभियानप्रति तल्लो तहका नेता, कार्यकर्ता त्यति आकर्षित र उत्साहित देखिका छैनन् । आन्तरिक एकता, संगठनको सुदृढिकरण र सरकारका गलत कृयाकलापको भण्डाफोर गर्ने उद्देश्यले ७७ वटै जिल्लामा अभियान चलाइएपनि जिल्लास्तरका नेता, कार्यकर्ताले ‘हामीलाई जागृत गर्नुभन्दा तपाईहरू नै जागृत भएर आउनुहोस्’ भन्दै केन्द्रीय नेताहरूलाई आचरण सुधार गर्न सुझाव दिएका छन् ।
पार्टीको नीति स्पष्ट नहुनु र केन्द्रीय नेताहरूबीच मेल नहुँदा जागरण अभियान उपलव्धीविहीन जस्तै भएको छ । जागरणबारे केन्द्रका नेताहरूबीचमै स्पष्ट धारणा पाइदैन । संस्थापन पक्षले ल्याएको कार्यक्रम भएकाले रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्ण सिटौलालगायतका नेताहरू कार्यक्रममा खासै उत्साहित देखिएका छैनन् भने मन्तव्य दिने क्रममा नेताहरूबीच नै घोचपेच भइरहेको छ ।
जागरण अभियानमा कार्यकर्ताको उपस्थिति न्यून देखिएको छ भने जल्दावल्दा प्रश्नमा केन्द्रका नेताहरूले आवाज उठाउन नसकेको कार्यकर्ताले नेताहरूलाई प्रतिप्रश्न गरिरहेका छन् ।
वाईडवडी खरिद प्रकरण, वालुवाटारको जग्गा प्रकरण, संवैधानिक निकायमाथि सरकारको हस्तक्षेप, हत्या, बलात्कारलगायतका विभिन्न विषयमा नेपाली कांग्रेसले बुलन्द आवाज निकाल्न नसकेको भन्दै नेता, कार्यकर्ताहरूले नै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टीभित्रको गुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले सार्वजनिक कार्यक्रममा बताउने गरेका छन् । तर गुटबन्दी उनीहरू आफैले गरिरहेका छन् ।
शुक्रबार प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको बताए ।
देउवाले अन्तरघात मुक्त कांग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् । सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै कांग्रेसभित्र सशक्त एकताको खाँचो रहेको बताए ।
पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभित्र सैद्धान्तिक, नीति, कार्यक्रममा आधारित एकता आवश्यक भएको बताए ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि पार्टीभित्रको गुटउपगुटप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीभित्रको जागरण अभियानका लागि स्वजागरण अभियान आवश्यक रहेको बताएका छन् ।
केन्द्रीय नेता चन्द्र भण्डारीले सबैभन्दा पहिला पार्टी सङ्गठन चुस्त दुरुस्त बनाऊ तब मात्र तिमीहरूले भनेका कुरा कार्यान्वयन हुनसक्छन् भनेर कार्यकर्ताहरूले आफूहरूलाई नै सुझाव दिएको बताएका छन् । त्यस्तै नेताहरूले सरकारले गरेको कमी कमजोरीलाई जोडतोडका साथ उठाउन नसकेकोमा कार्यकर्ताले दुखेसो गरेको पनि बताएका छन् । ‘तिमीहरू आफू सदनमा बोल्न नसक्ने अनि हामीलाई के भन्न यहाँ आइरहेका छौ’ भनेर कार्यकर्ताले प्रश्न गर्दा आफूहरू नाजवाफ बन्नुपरेको भण्डारीले बताएका छन् ।
‘देशमा यति ठूलो भ्रष्टाचार भएको छ । विदेशीलाई खुलमखुल्ला नागरिकता वितरण गरिँदै छ । देश समाप्त हुने खतरा बढ्दैछ । तिमी के हेरेर बसिरहेका छौ ? काँग्रेसको दायित्व के हो ? काँग्रेसको इतिहास के हो ? के तिमीले सम्झेका छौ । अब तिमी गर्ने सक्दैनौँ भने पुरानो नेतृत्वलाई परिवर्तन गर, नयाँ नेतृत्व ल्याएर आऊ ।’ भन्ने कार्यकर्ताको सुझाव रहेको बताउँदै नेता भण्डारीले आफ्ना कमी कमजोरी र विरोधलाई छल्नका निम्ति त यो जागरण अभियान सुरु गरिएको होइन भन्ने कार्यकर्ताका प्रश्नले आफूहरू लज्जित हुनुपरेको बताएका छन् ।
काँग्रेसले दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसूची सार्वजनिक गरेको छ । दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ । त्यसअघि नै साङ्गठनिक संरचना निर्माण गरेर मात्र जागरण अभियानमा जानुपर्ने नेता गगन थापाले बताएका छन् ।
पार्टीको विधानप्रति जिल्ला सभापतिहरू समेत असन्तुष्ट छन् । जिल्ला सभापतिहरू पनि संयोजकका हैसियतमा मात्र रहेकाले जागरणको कुनै अर्थ नरहने थापाको भनाइ छ ।
मुख्य कुरा कमिटी हुनुपर्ने बताउँदै नेता थापाले जिल्ला कमिटी, प्रदेश कमिटी, गाउँ कमिटी, निर्वाचन क्षेत्र कमिटी, गाउँकमिटी, भ्रातृ संगठनहरूलाई चलायमान नगराइ जागरण अभियानबाट राम्रो प्रतिफल आउन नसक्ने बताएका छन् ।
नेताहरूबीचको गुटबन्दीले पार्टी कमजोर भएकोमा जिल्लास्तरका नेता, कार्यकर्ताले चिन्ता व्यक्त गर्दै केन्द्रका नेताहरूले पहिला आफूहरू सच्चिनुहोस् भनेका छन् । केन्द्रको गुटबन्दीले भ्रातृ संगठनहरू समेत भुत्ते भएको र लामो इतिहास भएको कांग्रेस अचेत जस्तो देखिएको उनीहरूको विश्लेषण छ ।
कांग्रेस आफ्नै पार्टीभित्रको समस्याले जकडीएको छ । तसर्थ उनीहरूले केन्द्रमा बस्ने मात्रै सर्वज्ञ हुन्छन् वा सरकारले मात्रै गल्ती गर्छ भन्ने मानसिकता त्यागेर आफैलाई सच्याउन आवश्यक रहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।