द्विविधामा नपरौं, जसरी पनि बन्छ रङ्गशाला
सीताराम कट्टेल, अध्यक्ष–धुर्मुस सुन्तली फाउण्डेशन
अहिले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणाधीन अवस्थामा छ । यसका अगुवा धुर्मुस सुन्तली हुन् । भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माणको सम्झौता माघ १६ गते सार्वजनिक रूपमै घोषणा भएको थियो । फागुन १ गतेदेखि पूर्वाधारका लागि साइट अफिस खडा गरेको धुर्मुस सुन्तली फाउण्डेशनले त्यसलगत्तै पूर्वाधारका कार्य शुरु ग¥यो । यी सामाजिक अभियन्ता एवं कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ श्रमशिविरमा खट्न र श्रोत जुटाउन समेत भ्याएका छन् । निर्माणस्थल आवतजावतका क्रममा गत साता यहाँ रहेका धुर्मुससँग फाउण्डेशन र रङ्गशालाका बारेमा शिशिर सापकोटाले गरेको कुराकानी आजको अंकमा ।
रङ्गशालाका लागि यसअघि कहाँ कहाँ जग्गा हेर्नु भयो ?
रुपन्देही, हेटौंडा, पोखरा, काठमाडौं आसपास, ललितपुर र भक्तपुर लगायतका ठाउँमा हे¥यौं ।
त्यहाँ किन सम्भव भएन र यहाँ आइपुग्नु भयो ?
क्रिकेट आफैमा प्राविधिक खेल भएकाले कतिपय ठाउँ प्राविधिक कारणले उपयुक्त देखिएन । हामीले एउटा न एउटा ठाऊँ त रोज्नु पर्ने थियो । अनि हाम्रो प्राथमिकता थियो कि देशमा पहिलो अन्तराष्ट्रिय स्तरको रङ्गशाला बन्दैछ, त्यो सकेसम्म देशको मध्यभागतिर होस् र सबै दर्शकलाई केन्द्र परोस् । यी सबै कुराको सुझबुझसहित हामीले उपयुक्त ठाउँ रोजेर निर्णय गर्नुपर्ने थियो, केन्द्र भागका हिसाबले चितवन प्राथमिकतामा प¥यो ।
पहिले त रुपन्देहीको सैनामैनामा बन्ने भयो भन्ने कुरा आएका थिए, त्यहाँ के भएको हो ?
शुरुमा त्यहाँबाट अफर आएको हो । हामी प्राविधिक टोलीसहित त्यहाँ पुग्यौं र पहिलो चरणमा सम्भावनाका विषयमा सकारात्मक कुराकानी भए । त्यहाँको अवस्था हेरियो । ठाउँ नि हेरियो । त्यतिञ्जेल अन्य ठाउँबाट पनि लिखित मौखिक अनुरोध आएका थिए । हामी ती ठाउँमा पनि पुग्नु पर्ने थियो । जनताको तर्फबाट पहिलो पटक बन्ने रङ्गशालाका लागि हतारमा निर्णय गर्ने अवस्था पनि थिएन । यो परियोजनालाई जनताको साझा परियोजना बनाउनु थियो र छ । मुख्य कुरा देशको केन्द्रीय भागमा बनाउने कुराले प्राथमिकता पाएको हो । तर उहाँहरूले हामीलाई जुन जमिन देखाउनु भयो त्यो अत्यन्तै लोभ लाग्दो थियो । त्यो ठाऊँको माया ममता अझै पनि छ किनकि पहिलो हेराई त्यहाँ भएको हो । म माफी चाहन्छु उहाँहरूले साथ दिन्छौं भन्दा पनि त्यो ठाउँमा बनाउन सकिएन ।
यहाँ सम्भव हुनुमा क–कस्को भूमिका के कस्तो रह्यो ?
सबैभन्दा ठूलो भूमिका त यहाँको भरतपुर महानगरपालिकाको रह्यो । उसले पहल नगरेको भए हामी यहाँ आउने थिएनौं होला । त्यसपछि चितवनवासीको पनि रह्यो । अनि हाम्रो फाउण्डेशनको कार्यसमिति र प्राविधिकको पनि महत्वपूर्ण भूमिका रह्यो ।
पहिलो चरणमा २० बिघा ६ कठ्ठाको सम्झौता भएको जानकारीमा आएको हो, पछि फेरि यसको क्षेत्रफल बढ्यो र बढ्दैछ भन्ने सुनिन्छ के कसो हो ? प्रष्ट पारि दिनुहुन्छ कि ?
जति हो त्यति नै छ, अहिले बढेको छैन । भोलिका दिनमा कुनै संरचना नअट्ने भयो भने त्यतिबेलाको निर्णय फेरि होला । पहिले हामीले क्रिकेटको लागि मात्र त्यति जग्गाको आवश्यकता महसुस गरियो वा भनौं हामीलाई पुग्छ भन्ने लाग्यो । पछि हामीले रङ्गशालालाई बहुद्देश्यीय बनाउने भइयो । त्यसमा अझै खेलकुद विद्यालय बनाउने भएपछि जग्गा नपुग हुन्छ कि भन्ने पनि लाग्छ । बहुद्देश्यीय रङ्गशालाको संरचना साँघुरो भएर भनेजस्तो कलात्मक सुन्दरता झल्किएन भने हामी आफैलाई, देख्नेलाई र सहयोग गर्ने दाताज्यूहरूलाई पनि नमज्जा हुन्छ ।
शुरुमा काभ्रेपलाञ्चोक पाँचखालको पहरी बस्तीमा भूकम्पले भत्केका घर बनाउनु भयो, त्यसमा स्थानीय र सहयोगीको जनश्रमदान रह्यो केही तपाईंहरूका फ्यानको आर्थिक सहयोग रह्यो, त्यसको जानकारी आयो भने सरकारको सहयोगको आधिकारिक जानकारी आएन, शुरुको बस्ती निर्माणमा सरकारको सहयोग रह्यो कि रहेन ? रह्यो भने के कस्तो रह्यो ?
हरेक परियोजनामा सरकारसँग समन्वय भएको छ तर सरकारले हाम्रा कुनै पनि परियोजनामा हालसम्मआर्थिक सहयोग गरेको छैन ।
सिन्धुपाल्चोकको गिरानचौरमा बस्ती बसाल्दै गर्दाको बीचमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिले यसमा सरकारको पूर्ण सहयोग र उहाँहरू(तपाईंहरू) सितको सहकार्यमा यी बस्ती बनिरहेका छन् भन्नुभएको थियो, के त्यो सत्य हो ? सरकारको सहयोग थियो भने के कति र कस्तो सहयोग थियो ?
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हामीले त्यहाँ बस्ती बसाल्न स्वीकृति पाएका हौं । त्यसबेला सरकारले भूकम्पपीडितलाई जे जति सहयोग ग¥यो उहाँहरूको नाममा बैंकमा जम्मा हुने रकम हो । हामीलाई भनेर छुट्टै रकम आएको होइन ।
त्यसपछि तपाईंहरूले बनाएको बर्दीवासको मुसहर बस्तीमा पनि सरकारी सहयोगको अवस्था के रह्यो ? अनि सन्तपुर बस्तीमा सरकारले के कति र कस्तो सहयोग ग¥यो ?
यी दुई परियोजनामा स्थानीय निकाय, खानेपानी विभाग र विद्युत प्राधिकरणको आवश्यक भूमिका रह्यो । तर सरकारले अहिलेसम्म यो परियोजनालाई यति छुट्टयाइएको छ भनेर हाम्रो लागि बजेट छुट्टयाएको छैन र थिएन ।
नमूना नेपाल बनाउँदै हुनुहुन्थ्यो त्यो परियोजना रोकेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालातिर लाग्नुभयो, यसमा पनि सरकारको भूमिका के रहने र सहयोग कति र कसरी रहने सम्झौतामै उल्लेख छ कि आश्वासन मात्रै ?
आर्थिक सहयोग के कति गर्ने भन्ने कुरा सरकारलाई थाहा होला । हामी एक÷दुई व्यक्तिले यत्रो आँट गरेर अघि बढ्न खोज्दा सरकारले हामीलाई ठूलो व्याकअपसहित ढाडस दिनुपर्ने हो । हामीजस्ता सामाजिक अभियन्तालाई तिमीहरूको कन्सेप्ट ठिक छ, हामी व्याकमा छौं भनेर काँध थापेर साथ दिनुपर्ने हो तर भइरहेको छैन । यद्यपि स्थानीय सरकार भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएर भए पनि ठूलै सहयोग ग¥यो, त्यस बाहेक अहिलेसम्म आर्थिक सहयोग छैन । हेरौं के गर्छ । यो वर्षको बजेटमा यो रङ्गशालाका लागि भनेर रकम छुट्टयाउँछ कि नाइँ !
रङ्गशाला निर्माणको महाअभियानमा फाउण्डेशनका कार्यक्रम के के छन् ? अर्थात् कम्तिमा तीन सय करोड रुपैयाँ जम्मा गर्न के के गर्दै हुनुहुन्छ ?
जिल्ला जिल्लामा सहयोग सङ्कलन समिति बनाउनु प¥यो भनेर आर्थिक श्रोत जुटाउने तयारी भईरहेको छ । देश विदेशमा विभिन्न कार्यक्रम र भेटघाट मार्फत सहयोग सङ्कलन गर्ने क्रम जारी छ ।
अहिलेसम्म के के काम भयो र अहिलेको प्रगति हेर्दा रङ्गशाला निर्माणको काम निर्धारित समयमै सकिएला ?
डिजाइन र डीपीआरको काम पनि भईरहेको छ । माटो परिक्षण, इआइएको काम, जमिन सम्याउने, दुवो रोप्ने, स्वास्थ्य परीक्षण भवन लगायतका काम भईरहेका छन् । कार्यालय भवन विस्तार, सुरक्षा पोष्ट, गोदामघर, मजदुरघर, शौचालय, स्नानघर, गेट, साधारण भ्यू टावर लगायतका पूर्वाधारका संरचना बनिसकेका छन् । रङ्गशाला बन्ला त ? बने त ठिकै छ नबने पैसा फिर्ता गर्न पनि मिलेन भन्ने अन्योलमा भएको सुनेको छु । म त्यो अन्योलबाट मुक्त भईदिन अनुरोध गर्छु र भन्छु कि चिन्ता नमान्नुस् तपाईंको योगदान खेर जाँदैन, हामीले डिजाइन गरेकै स्तरको अन्तर्राष्ट्रिय रङ्गशाला बन्छ ।
रङ्गशालाको पश्चिमपट्टि शान्तिचोकबाट रामपुर जोड्ने बाटो खोल्न स्थानीयले कति मिटर छोड्ने र रङ्गशालाले कति छोड्ने भन्ने अन्योललाई कसरी मेटाउनुहुन्छ त ?
अझै पनि कुन भागमा के कति जमिन चाहिने हो भन्ने फाइनल भएको छैन । डीपीआर आएपछि फाइनल हुन्छ र यो अन्योल पनि मेटिन्छ भन्ने कुरामा म विश्वस्त छु । मलाई लाग्छ यहाँका स्थानीय पनि समझदार हुनुहुन्छ ।
तपाईंहरूको समाजसेवाको टर्निङ प्वाइन्ट भूकम्पले भत्काएका घर बनाउनु थियो र मुख्य उद्देश्य पनि त्यहीँ राख्नुभएको छ । अझै पनि भूकम्पले भत्केका धेरै घर बनेका छैनन् । तर, तपाईंहरू त बीचैमा त्यो उद्देश्यलाई छाडेर अन्य कार्यमा लाग्नुभएको छ, यसबारे केही भन्नुहुन्छ कि ?
त्यसैमा केन्द्रित भएर अघि बढ्न पनि स्रोत व्यवस्थापनको कुरा जटिल छ । हामीले बाटो देखाइदिने हो । यसरी गर्न सकिदो रहेछ भन्ने कुरा पाँचखालको पहरी बस्ती र सिनधुपाल्चोकको गिरानचौर बस्तीले देखाएको छ । भूकम्पलगत्तै अन्य दाताले पनि धेरै सहयोग गर्नुभयो र धेरैले बस्ती बसाली दिने वाचा पनि गर्नुभयो । हामीलाई लागेको थियो अब छिट्टै सबै भूकम्पपीडितका घर बन्ने छन् ।
र हामी त्यतिबेला मधेश र पहाडको भौगोलिक भिन्नताले मडारिन थालेको कालो वादललाई चिर्न तराईतिर लाग्यौं । बाढीपीडित पनि दैवीप्रकोप पीडित नै हुन् भनेर लाग्यौं । त्यसै क्रममा महोत्तरीको वर्दीवासमा मुसहर बस्ती बसाल्यौं । रौतहटको सन्तपुरमा नमूना बस्ती बसाल्यौं । अहिले पनि कैयन् भूकम्पपीडितले वास पाएका छैनन् भन्ने सुन्दा लाग्छ, फेरि त्यतै फर्केर बस्ती बसालौं भन्ने तर अहिले रङ्गशाला निर्माणको महाअभियानमा छौं । स्रोत व्यवस्थापनको राम्रै व्याकअप भएको भए यो पनि त्यो पनि सँगै गर्न हुन्थ्यो भन्ने मनमा त लाग्छ तर के गर्ने !
धुर्मुस सुन्तली फाउण्डेशनमा अहिले कति सदस्य हुनुहुन्छ ? यसको लक्ष्य र उद्देश्य हासिल गर्न सदस्य बन्ने क्राइट एरिया के के हो ?
कार्यसमितिमा सातजना छौं । सबैगरी २५÷३० को हाराहारीमा छौं । सल्लाहकार, आजीवन र मानार्थ सदस्यको व्यवस्था गर्ने विषयमा पनि हामीले नसोचेका होइनौं तर कामको व्यस्तताले गर्दा भ्याइएको छैन । सकारात्मक सोच राखेर समृद्धिको महाअभियानमा साथ दिने जोसुकै यस फाउण्डेशनको सदस्य हुन सक्नुहुन्छ ।
राम्रो काम गर्दागर्दै पनि कहिलेकाहीँ आउने नकारात्मक समाचार र विचारले तपाईंहरूलाई हतोत्साही बनाउन्न ?
हामीलाई अहिलेसम्म त्यस्तो अवस्था त आएको छैन । यद्यपि यत्रो काम गर्ने क्रममा कसै कसैले यिनीहरूले यो काम के स्वार्थले गरे भन्ने सोच्नू, खुट्टा तान्ने प्रबृत्ति भएको हाम्रो समाजमा अनौठो मान्न मिल्दैन । उहाँहरूको विचार नकारात्मक भए पनि मैले यसलाई सकारात्मक नै सोंचेको छु । उहाँहरूकै प्रतिक्रियाका कारण हामी हरेक पल सचेत र सतर्क भएर काम गरेका हुन्छौं ।
जता गए पनि सेल्फी र क्लिक क्लिक, अनि भीडले घेरेको अवस्था, कार्यक्रमका निम्ता र भेटघाटका व्यस्तताले दिक्क लाग्छ होला, त्यो बेला कसरी समाल्नु हुन्छ आपूmले आफैलाई ?
त्यस्तो दिक्क लाग्दैन मलाई । यो उहाँहरूको हामीप्रतिको माया र सद्भाव हो । यो अधिकार उहाँहरूलाई छ किनकि उहाँहरूले नै हामीलाई धुर्मुस सुन्तली बनाउनु भएको हो ।
जता पनि सम्मान, कार्यक्रम र रंगशालाका लागि चेक र पैसा बुझ्न भ्याई नभ्याई छ, समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
समय व्यवस्थापन भन्ने कुरा आपूmमा निहीत चीज रहेछ । यसरी व्यवस्थापन गर्छु भनेपछि सकिंदो रहेछ । सितिमिति नरिसाउने म, समयको ख्याल नगर्ने, टार्ने वा ढिलो गर्ने मानिससँग नजानिदो गरी रिसाउन पुग्छु । समय हेर्नुस् त ५५ सेकेण्डको भूकम्पले के हालत भयो ! त्यसैले म समयप्रति सचेत छु र अरू पनि सचेत भइदिए हुन्थ्यो भन्ने लाग्छ ।
बाहिर तपाईंहरू समृद्धिको यात्रामा साथ दिने सहयोगी मनहरूको सम्मान र आशिर्वादसँग नतमस्तक हुनुहुन्छ, भित्र आफ्नो व्यक्तिगत जीवन नै छैन जस्तो, नजानिदो पीडा पनि त होला नि ? त्यस्तो अनुभूति पनि भन्नुस् न, ताकि तपाईंहरूको लोकप्रियतासँग लोभिनेहरूलाई थोरै राहत होस् ।
उस्तै मान्छे भए दिनदिनै डाँको छोडेर रुन्थे होलान् । सानो बच्चालाई छाडेर हिंड्दा कुनचाहिँ बाबुआमाको मन नरोला ! छोरीले तोतेबोलीमा बाबा भनेका बेला उनीसित खेल्ने क्षण कस्तो हुन्थ्यो होला । आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंशी म यहाँ छु, मजस्तै अरुको पनि यस्तो होला हुन त तर गत वर्षहरूमा दशैं र तिहारका दिनमा पनि हामी काममै थियौं । सामाजिक काममा लागेपछि कयौं दिन भोकभोकै बसिएको छ, कयौं रात सुतिएको छैन । यो के का लागि ? देशको विकास र तपाईं हाम्रै जीवन उत्थान र खुशीकै लागि हैन ! हो यहीँ कुरा कसै कसैले नबुझिदिदा कहिलेकाहीँ मन भक्कानिन्छ ।
प्रायः दम्पतिमा सम्पत्ति लगायत अन्य सानातिना कुरामा पनि ठूलो असहमति र असमझदारी हुन्छ, त्यसले कलह पैदा गर्छ, तपाईंहरू यति ठूला योजना परियोजनामा सँगै हुनुहुन्छ, यी विषय र घरायसी व्यवहारमा पनि कहिलेकाहीँ फरक विचार आउँछ होला, त्यसलाई कसरी मिलाउनु हुन्छ ?
हामी सम्पत्तिको पछि लागेका छैनौं । सम्पत्तिको पछि लागेको भए कलाकारिता नै हाम्रा लागि प्रशस्त हुन्थ्यो । सम्पतिका लागि पनि हाम्रो झगडा छैन । स्वभाव फरक भए पनि मन र विचार एउटै भएकाले हामीबीच द्वन्द्व पनि छैन । मन एउटै भएपछि सानातिना कुरामा विवाद पनि हुन्न । म उनको खुशीका लागि कतिपय विमति त्याग्न सक्ने मानिस हुँ । उनी पनि सिर्जनशील र क्षमतावान छिन् म उनको क्षमताको कदर गर्छु ।
अन्त्यमा, भन्न मन लागेका र भन्नैपर्ने कुरा अरू केही छन् भने ?
जनस्तरबाट बन्ने पहिलो अन्तर्राष्ट्रिय रङ्गशाला हामी नेपालीको साझा सपना हो । यो हामीले हाम्रै देशमा बनाउँदै छौं अरू देशमा हैन । हरेक नेपालीको सपना साकार पार्न यो रङ्गशाला कोशेढुंगा सावित हुनेछ । त्यसैले यो रङ्गशाला बन्दैन कि भन्ने द्विविधा नराख्न अनुरोध गर्छु । यसको सञ्चालन सामाजिक मोडालिटीमा हुनेछ । रङ्गशाला व्यवस्थापन समिति अन्तर्गत कोष खडा हुनेछ । सो कोषबाट खेलाडी र प्रशिक्षकको बृत्तिविकास तथा सामाजिक विकासमा समेत टेवा पुग्नेछ । त्यसैले सबैजना सकारात्मक बन्दिनुस् यो अभियानमा लाग्दिनुस् । राजनीतिक परिवर्तनका लागि धेरै आन्दोलन गर्नुभयो अब विकासका लागि आन्दोलित भइदिनुस् भन्न चाहन्छु ।