रंगशालामा बढ्यो चहलपहल
चितवन÷यहाँ बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मानिसको चहलपहल बढेको छ । माटो परीक्षण, लेवलिङ, दुवोको व्याड, माटो र झार प्रशोधन गृह तथा प्राथमिक उपचार कक्ष लगायतका कार्य भैरहेको अवस्थामा अवलोकनकर्ताको भीड पनि बढ्दै गएको छ ।
मजदुरीका लागि भेट्नेको संख्या पनि थपिइराखेको छ । सोही शनिवार चितवनकै लिटिल फलावर स्कुलका खेल प्रशिक्षक राजु खड्काको टिम आएर रङ्गशालाको गतिविधि बुझेर सघाउने विश्वास दिलाएर गयो । त्यस लगत्तै एसईई मिस एण्ड मिष्टर चितवनका कन्टेस्टेडले पनि सहयोग गरे ।
प्रवेशद्वार आवतजावतमा सुरक्षा गार्ड र अन्य सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि खटिएका छन् ।
श्रमशिविर
नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति चितवनका अध्यक्ष चक्रबहादुर कार्कीको नेतृत्वमा अघिल्लो शनिवार २५ जना स्वयंसेवकका रूपमा तीन घण्टा खटिए । बिहिवार शान्तिदीप एकता टोल विकास संस्थाका अध्यक्ष मिनबहादुर लामाको आव्हानमा संस्थाका ६५ सदस्यले श्रमदान गरे । त्यसैगरी शनिवार सक्रिय टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पौडेलको अगुवाईमा ५० सदस्यले निःशुल्क सघाए । पालुवा टोल विकास संस्थाले यसअघि शुरुवाती चरणमै श्रमदान गरेको थियो भने फेरि पनि गर्दैछ ।
अहिले मैदान सम्याउने क्रममा यहाँभित्र रहेका रुख कटानको काम पनि भैरहेको छ । रुखकटान शुरु भएपछि मैदानको काम हेरिरहेका पाका क्रिकेटर कोमल पाण्डे फुरुङ्ग परेका छन् । छिट्टै गेम खेल्नयोग्य मैदान बनाउन हौसिएका पाण्डेको निर्देशनमा दिनहूँ ३० को हाराहारी महिला मजदुरले मैदानको सरसफाई र अन्य काम गरिरहेका छन् ।
वैशाखमा दुई साताभन्दा बढी यतै बसेर धुर्मुस काठमाडौं फर्केका छन् । त्यस क्रममा उनी यसपाला पनि व्यस्त नै रहे । सहयोग लिने, छलफल र कार्यक्रममा भाग लिने क्रम टुटेन ।