सरकार छाड्ने उपेन्द्रको घुर्की

पोखरा । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए आफ्नो पार्टी जुनसुकै बेला सरकार छोडेर सडकमा जाने चेतावनी दिएका छन् । आफूहरू सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको दावी गर्दै यादवले सहमति पूरा नभए सडक आन्दोलनमा उत्रने बताए ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकतापछि बनेको समाजवादी पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रममा यादवले संविधान संशोधन गरेर त्रुटी नसच्याए सडक आन्दोलनको विकल्प नभएको भन्दै नेता कार्यकर्तालाई तयार रहन आह्वान समेत गरेका छन् ।
सरकारमा सहभागी हुनु अघि भएको सहमति कार्यान्वयन गर्ने बेला आएको वताउँदै यादवले संविधान संशोधन नभएर मुख्य बाटो नै सडक संघर्ष भएको बताए । उनले सरकारको भागिदारी पनि एउटा संघर्षकै बाटो भएको बताउँदै अबको यात्रा संसदीय र गैरसंसदीय पनि हुन सक्ने बताएका छन् ।
समाजवादी पार्टीका अध्यक्ष यादवले संघर्ष र आन्दोलनबाट जन्मिएको संघीयता अपुरो भएको बताएका छन् । प्रदेशलाई अधिकार नदिएर यसले कामै गरेन भन्ने प्रचार गरिनु संघीयतालाई नै कमजोर बनाउने खेल भएको उनले बताएका छन् । संघीयता, गणतन्त्र, समावेशी र धर्म निरपेक्षतालाई सुरक्षित गर्दै बाँकी अधिकारको लडाइँ लड्ने बेला आएको उनले बताएका छन् ।
यादवले दिदै आएको सरकार छोड्ने चेतावनीलाई सरकार र नेकपाले घुर्कीका रुपमा लिएको देखिन्छ । विगतमा सरकारमा जान पार्टी समेत फुटाउन तयार भएका यादवको स्वभावका कारण नेकपाका नेताहरूले उनी सरकार छोड्न सक्दैनन् भन्ने बुझाइमा रहेको पाइएको छ ।