‘बुद्धका उपदेश राष्ट्रिय एकताका मार्गदर्शन’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश राष्ट्रिय एकताका लागि मार्गदर्शन हुने बताउनुभएको छ ।
गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी समुदायलाई शुभकामना दिदैं राष्ट्रपतिले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा आजको महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प साकार पार्न आ आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरिएको छ । राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको दिनमा सबैमा एकापसमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
यसैगरी राष्ट्रपति भण्डारीले किराँत समुदायको महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत किराँत समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना समेत दिनुभएको छ ।
यसैवीच शनिबार बुद्ध जन्यतीको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी पुग्नु भएको थियो । राष्ट्रपतिले एक भव्य समारोहकाबीच बुद्ध जयन्ती र लुम्बनी भ्रमण वर्षको उद्घाटन गर्नु भएको थियो ।
समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी ओली शुक्रबार नै लुम्बिनी पुग्नु भएको थियो । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा विभिन्न देशबाट बौद्धप्रति आस्था राख्नेहरूको ठूलो उपस्थिति रहेको थियो ।
ओलीले लुम्बिनी विकास कोष परिसरमा फलफूलका विरुवा रोप्नुभएको थियो ।
- आइसिटी अवार्डको नोमिनेसन खुला
- लगानीयोग्य वातावरण बनाउन बजेट केन्द्रित हुने