मालपोत र नापी भ्रष्टाचारका अखडा !
१३१ भ्रष्ट कर्मचारी निलम्वित
काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चालेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी बढाउनुका साथै पक्राउ गर्दै कारवाही गरिरहेको छ । जनताको प्रत्यक्ष सरोकार जोडिएका मालपोत र नापीले भ्रष्टाचारको अखडा बन्दा धेरै सेवाग्राही मर्कामा परेको भन्दै गुनासो बढेपछि अख्तियारले निगरानी बढाएको छ । तर पनि भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको छ ।
मालपोत र नापीका कर्मचारी भ्रष्टाचारको आरोपमा धमाधम पक्राउ पर्न थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले पटकपटक नापी र मालपोत सुधारका लागि निर्देशन दिएकी छिन् । तर त्यहाँका कर्मचारीले एक कानले सुनेर अर्को कानले उडाएका छन् । ‘कहाँ हट्छ नानीदेखि लागेको वानी’ भन्ने नेपाली उखान झै अख्तियारले नापी र मालपोतमा अत्याधिक भ्रष्टाचार रहेको र कारवाही गर्ने हो भने ती निकाय नै कर्मचारीविहीन हुने चेतावनी दिइसकेको छ । तर पनि ती निकायहरुमा भ्रष्टाचारमा कमी आउन सकेको छैन ।
केही दिनअघि मात्र जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस लिने नापी कार्यालय साँखु, काठमाडौंका सर्वेक्षक र एकजना लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको जनाएको छ ।
घुस मागेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई एक लाख ५० हजार घुससहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
उता मालपोत कार्यालय कलैया बाराका तत्कालिन मालपोत अधिकृत राजराजेश्वर त्रिदेवी सहित ६ जना कर्मचारीले नक्कली रसिदको प्रयोग गरी २ करोड ५० लाख ८६ हजार अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिसकेको छ ।
यस्तै केही समय अघि मालपोत कार्यालय राजबिराज सप्तरीमा कार्यरत नायब सुब्बा बासुदेव मण्डल ४० हजार घुस सहित रंगेहात पक्राउ परेका थिए । मोही लगत बाँडफाड गरी लगत कट्टा गर्ने प्रयोजनका लागी सेवाग्राहीसँग रकम लिएका थिए ।
मालपोत कार्यालय भ्रष्टाचारको अखडा जस्तै बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएपछि नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे नापी र मालपोत खाली हुने अभिव्यक्ति केही महिना अघि दिएका थिए । हाल त्यस्तै देखिन थालेको छ । अख्तियारको कारवाहीले निलम्बनमा परेपछि कर्मचारी अभाव हुन थालेको छ । भ्रष्टाचारको अखडा भएकै कारण इमानदार र स्वच्छ छवि भएका कर्मचारी मालपोत जानै चाहँदैनन् त्यसले दरबन्दी भन्दा आधा कर्मचारी मात्रै कार्यरत छन् ।
कुल १९ सय ४६ दरबन्दीमा ८५५ जना कर्मचारी मात्रै कार्यरत रहेको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गत रहेका १३१ कार्यालयहरुमा कार्यालय प्रमुख उपसचिव, मालपोत अधिकृत, नायब सुब्बा र खरिदार गरी ८ सय ५५ जना कर्मचारी अभाव छ । समायोजनका कारण पनि कर्मचारी अभाव भएको बताइएको छ ।
विभागका अनुसार उपसचिव ५९ दरबन्दीमा २३ जना, अधिकृत २ सय ४९ दरबन्दीमा ७३ जना, नायब सुब्बा ७ सय ९४ दरबन्दीमा ३ सय ३९ जना र खरिदारको ८ सय ४ दरबन्दीमा ३ सय ८० जनाको पद रिक्त छ । कर्मचारी अभाव हुँदा दैनिक कार्यसम्पादनमा समस्या परेको बारेमा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताएका छन । उनका अनुसार तराईका जिल्लाहरुमा कर्मचारी अभावले समस्या परेको छ ।
मालपोतमा भ्रष्टाचार बढ्न थालेपछि कार्यालयको स्वरुप परिर्वतनको तयारी भइरहेको विभागले जनाएको छ । कार्यालयहरुको गोप्य कोठा भत्काएर खुला मालपोत निर्माण गरिने र पर्याप्त मात्रामा सीसी क्यामेरा जडान गर्ने बताइएको छ ।
मालपोत कार्यालयमा बढेको भ्रष्टाचारले नैतिकवान कर्मचारीहरु समेत निरुत्साहित भएको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ वटा सरकारी कार्यालयमध्ये मालपोत कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने अध्ययन नै सार्वजनिक गरेको थियो । मालपोतलगायत अन्य १४ वटा सरकारी अड्डामा सेवाग्राहीसँग खुलेआम घुस असुल्ने गरेको पाइएको अख्तियारको ठम्याई छ ।
अख्तियारले सातवटा प्रदेशमा पुगेर गरेको अध्ययनले ६५ प्रतिशत भ्रष्टाचार मालपोत, भूमिसुधार र नापी कार्यालयमा हुने गरेको देखाएको छ । मालपोत कार्यालयमा जग्गा पास गर्नेदेखि रोक्का र फुकुवा गर्नेसम्ममा कर्मचारीलाई अतिरिक्त रकम नबुझाए काम नहुने अख्तियारको अध्ययनमा थियो ।अख्तियारले धमाधम पक्राउ गर्न थालेपछि केही चलाख कर्मचारीहरुले घुस लिने तरिका परिवर्तन गरेको बुझिएको छ । विगतका वर्षहरुमा कार्यालयमै घुस लिने गरिएपनि केही वर्षयता रेष्टुरेन्ट, घर वा विचौलियाका अखडाहरुबाट घुस लेनदेन हुन्थ्यो । तर पछिल्लो समय घुसको कारोवार विदेशमा हुन थालेको स्रोतको दावी छ । एक जग्गा व्यवसायीका अनुसार तल्लो तहका कर्मचारीले कार्यालयमै घुस लिएपनि माथिल्लो तहका कर्मचारीहरुले विदेशमा रहेका आफन्तका नाममा घुसको रकम पठाइदिन आग्रह गर्ने गरेका छन् । ती व्यवसायीका अनुसार मालपोत र नापीका अधिकांस कर्मचारीले कार्यालय वा वाहिर पैसा लिन छाडेका छन् । उनीहरुले सिधै अष्ट्रेलिया, अमेरिका लगायत देशमा रहेका आफन्तका नाममा हुण्डी गरेर घुसको रकम पठाइदिन आग्रह गर्छन् ।’
कित्ताकाट रोकिएपछि नापीका कर्मचारीले लिने घुसको दर समेत बढेको स्रोतको दावी छ । स्रोत भन्छ, विगतमा पचास हजार रुपैयाँमा हुने काम अहिले एक लाख रुपैयाँ भन्दा बढी लिने गरेका छन् । पछिल्लो समय घुसको रकम सिधै नलिई विदेशमा रहेका आफ्ना छोराछोरी तथा आफन्तका नाममा पठाउन लगाउने गरेको बारेमा अख्तियार समेत जानकार रहेको बुझिएको छ ।
भ्रष्टाचारको आरोपमा विभागले १३१ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । अदालतबाट भ्रष्टाचार प्रमाणित नभएसम्म ती कर्मचारीले आधा मात्रै तलब पाइरहेका छन् ।