इतिहासको त्यो एउटा कालो दिन

सन्दर्भ ः दरबार हत्याकाण्डको १८ वर्ष

युवराज गौतम

२०५८ साल जेठ १९ गते अर्थात अठार वर्षअघि आजकै दिन राजा वीरेन्द्रको वंश नास भएको थियो । जेठ १९ गते राति राजदरवारभित्रै हत्याकाण्ड भएको खबर सुनेपछि भोलिपल्ट हजारौ जनता सडकमा आए । राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्य एकै ठाउँमा मारिएको सो घटना सम्झिँदा आज पनि हामीलाई पीडा हुन्छ ।
राजा वीरेन्द्रको हत्या भएको खबर केही घण्टामै संसारभरि फैलिएको थियो । सो खबरले करोडौं नेपाली स्तव्ध भएका थिए । धेरै विदेशीले पनि समवेदना प्रकट गरे । कैयन् राष्ट्रका राष्ट्राध्यक्ष, राजनेता, सरकार प्रमुख, कूटनीतिज्ञ, विद्वान–विदुषीले गहिरो दुःख व्यक्त गरेका थिए ।
हत्याकाण्डको १८ वर्ष हुँदा पनि हत्या कसले र किन गर्यो भन्ने यथार्थ बाहिर आउन सकेको छैन । अनेक अड्कलबाजी मात्र भइरहेको छ । राजा वीरेन्द्र आज पनि अधिकांस नेपालीका हृदयमा उत्तिकै सम्मानित, स्मरणीय र आदरणीय छन् । उनको कार्यकालमा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान र हाभियर पेरेज द कोय्यार, स्वीट्जरल्याण्डका राष्ट्रपति प्रोफेसर आर्नोल्ड कोलर, भारतीय राष्ट्रपतिहरु ज्ञानी जैलसिंह तथा केआर नारायणन्, प्रधानमन्त्री पीभी नरसिंह राव, चीनका प्रधानमन्त्री झु रोङ्जी, मंगोलियाका राष्ट्रपति नात्सागिन बागाबन्दी, श्रीलंकाका राष्ट्रपतिहरु रणसिंघे प्रेमदासा र चन्द्रिका कुमारातुंगा, जर्मन राष्ट्रपति डा. रोमन हेर्जोग र त्यहाँका चान्सलर डा. हेल्मुट कोल मात्र होइन, व्रिटेनकी महारानी एलिजावेथ (द्वितीय) बाट समेत नेपाल भ्रमण हुनु कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
यस्तै चीनका राष्ट्रपति लि. स्यान न्यान, फ्रान्सका राष्ट्रपति फ्रास्वा मितेराँ, माल्दिभ्सका राष्ट्रपति मौमून अब्दुल गयुम र युगोस्लाभियाका राष्ट्रपति मार्सल जोेसेफ बज्र टिटोले राजा वीरेन्द्रको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए भने राजा वीरेन्द्रले अमेरिका, ब्रिटेन, फ्रान्स, जापान, चीन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा राम्ररी परिचित गराए ।
कूटनीतिक दृष्टिले साच्चै ‘असंलग्न राष्ट्र’ भएकाले नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास आर्जन गरेको देखिन्छ । सो कालखण्डमा नेपाल राष्ट्रसंघको सुरक्षा परिषद्को सदस्य बन्यो । २०३१ साल फागुनमा राजा वीरेन्द्रले आफ्नो शुभराज्याभिषेकमा विभिन्न साठी राष्ट्रबाट आएका विशिष्ट पाहुना (राजा, राष्ट्रपति, प्रधानमन्त्री र युवराजहरु) उपस्थित समारोहमा ‘नेपाललाई शातिक्षेत्र घोषित गरियोस्’ भन्ने प्रस्ताव राखे । त्यसलाई भारतले समर्थन गरेन तर ११६ राष्ट्रले समर्थन गरे । भारतकै दवावका कारण नेपालका (प्रतिवन्धित) दलहरुले समेत शान्ति क्षेत्र प्रस्तावको विरोध गरे ।


२०२८ साल माघ १७ गते विहान चितवनमा राजा महेन्द्रको स्वर्गारोहण भयो । सोह्र वर्ष दश महिना राजगद्दी सम्हालेका राजा महेन्द्रले जनताको व्यापक समर्थन, सीमित बजेट र स्रोत साधनको सदुपयोग गर्दै विकासको ढोका खोल्दै गए । राजा महेन्द्रका जेठा छोरा वीरेन्द्रले आफ्ना पिताले सुरु गरेको विकास अभियानलाई अघि बढाउन अहोरात्र मिहिनेत गरे । देशका कुनाकुनाको पैदल भ्रमण गरे । आफ्नै पिताझै उनी गरीब किसानका झुप्राझुप्रामा पुगेर वस्तुस्थिति अध्ययन गर्थे । जनताको दुःख बुझ्ने प्रयास गर्र्थे ।
सरल स्वभावका थिए राजा वीरेन्द्र । छलकपट नजान्ने र विकासमा लाग्नेहरुलाई प्रेरणा दिने उनको स्वभाव थियो । उनलाई भेटेपछि आलोचकहरु पनि प्रशंसा गर्दै फर्किन्थे । उनको वालसुलभ मुस्कानमा जादु थियो । सधै प्रशन्न चित्त देखिन्थे उनी ।
गाउँघरतिर जाँदा गाउँलेहरुको सुखदुःख सोध्ने उनको बानी थियो । गाउँलेहरुसँग यदाकदा ठट्टा पनि गर्थे । उनका एकजना सहयोगी सझिन्छन्, पूर्वाञ्चलको भ्रमणमा जाँदा राजा वीरेन्द्रले एकजना गरीब किसानलाई घरभित्रै पसेर सोधेछन् –“घर त सानो छ, कतिजना छन् तिम्रा केटाकेटी ?” किसानले हात जोड्दै जवाफ दिए –“सरकार, एघार जना छोरा छन् ।” राजाले ठट्टा गर्दै भने “लौ एउटा फुटवल टीम घरमै रहेछ । तिमी चाहिँ रेफ्री बन्नू ।”
यस्ता अनेक रोचक प्रसंग छन्, उनको जीवनमा । वीरगञ्जमा राजा वीरेन्द्र र महारानी ऐश्वर्य साधारण पोशाकमा रिक्सा चढेर शहर घुमेछन् साँझपख । राजारानीलाई चिन्न गाह्रो थियो, झमक्क साँझमा । रिक्सावालालाई उनले धेरै कुरा सोेधेछन् । उसले भनेछ “अञ्चलाधीश, सिडिओ, पुलिसको हाकिम, भन्सार हाकिम, मालपोत, भूमिसुधार सबैतिर घुस खान्छ दाइ । राजाले जेल हाल्दिए पनि हुन्थ्यो यस्ता मान्छेलाई । राजा आउँदा केके भनेर उनलाई ढाँट्छन् । अरु बेला जनतालाई ठग्छन् ।”
त्यसपछि भ्रष्टाचारबारे छानविन गराउँदै उनले केही कर्मचारी र प्रशासकहरुलाई कडा निगरानीमा राखेको र कतिपयलाई नसिहत दिएको कुरा वीरगञ्जका पुराना पत्रकार गोपाल गिरीले बताएका थिए ।


राजा वीरेन्द्रको जीवन खुला पुस्तक जस्तै थियो । २०४६ सालमा राजनीतिक दलहरुले राजाका अधिकार कटौती गर्दै वहुदलीय व्यवस्था लागू गर्नुपर्ने माग गरेपछि नेपाली कांग्रेस र वामपन्थी नेताहरुलाई बोलाएर उनले छलफल गरे । २०४६ साल चैत्र २६ गते दलहरुमाथिको प्रतिवन्ध फुकुवा भयो । राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, विकास र स्वतन्त्रताप्रति सम्वेदनशील थिए राजा वीरेन्द्र । २०३६ सालमा उनले जनमत संग्रह गराएका थिए । संसारमा सर्वशक्तिमान राजाले जनताको चाहनाको सम्मान गर्दै जनमतसंग्रह गराएका घटना विरलै पाइन्छ ।
२०२१ सालमा युवराज छँदा वीरेन्द्रले पूर्वाञ्चलका पहाडी जिल्लाहरु भ्रमण गरे । त्यसवेला युवराज वीरेन्द्रले मकै, भटमास, साग, कोदो, फापर आदि गाउँमा जे–जे पाइन्छ, त्यसैमा सन्तोष गरेर सैनिक पोशाकमा भ्रमण गरेको उनका सहयोगीहरु बताउँछन् । “तीनचार जना सिपाही भ्रमण दलमा भएपनि युवराज वीरेन्द्र आफ्नो भारी आफै बोक्थे” उनीहरु भन्छन् ।
राजा वीरेन्द्रका अंगरक्षक रहेका जनरल शान्तकुमार मल्लले भनेका छन् –“महेन्द्र राजमार्ग जस्तै चीन र भारतसमेत जोड्ने चारपाँच वटा उत्तर–दक्षिण राजमार्ग बन्न सकुन् भन्ने सरकारको इच्छा थियो, तर महेन्द्र राजमार्गको कोहलपुर–कञ्चनपुर खण्ड पूरा हुन नै अठार वर्ष ढिलो भयो । भारतको राजनीतिक दवावका कारण पनि द्रुतगतिमा विकास हुन सकेन । तर श्री ५ वीरेन्द्रको शासनकालमा जति प्रगति भयो, त्यसको उचित मूल्यांकन हुन बाँकी नै छ ।”
२०१९ सालदेखि २०५८ सालमा शाही पाश्र्ववर्ती (एडीसी) रहेका मल्ल सम्झिन्छन् –“२०२१ सालमा हामी रामेछापको एउटा दुर्गम गाउँमा पुग्यौ । झमक्क साँझ परेको थियो । एउटी वृद्धाको झुुप्रोमा युवराज वीरेन्द्र सहित हामी पिँढीमा बास बस्र्याै । त्यो घरकी बूढी आमाको छोरो भारत–चीन युद्धका बेला भारतीय सेनामा गएको रहेछ । घर नआएको तीनचार वर्ष भएको रहेछ । (शायद युद्धमा म¥यो होला) सैनिक पोशाकमा त्यहाँ पुगेका राजा वीरेन्द्रलाई छामछुम गर्दै आमाले अँगालो हालेर भनिन् –‘यतिका वर्ष कहाँँ हराएका थियौ, बल्ल आमा सम्झेर आयौ बाबू !’ युवराज वीरेन्द्रबाट हुकुम भयो –‘आमा, म तिम्रै छोरो जस्तो हुँ … ।’ पदयात्राका क्रममा यस्ता धेरै घटना देखिए । जनताको वास्तविक अवस्था बुझ्न सजिलो भयो युवराजलाई ।”
राजा वीरेन्द्रको पालामा २०३८ सालमा राष्ट्रिय मूलनीति बनाइयो र २०४२ सालमा संशोधन गर्दै अर्को मूलनीति तयार पारियो । त्यसमा राष्ट्रिय सुरक्षा, गृह, परराष्ट्र, अर्थलगायत विभिन्न विषय समेटिएका छन् । तल्लो निकायलाई आत्भनिर्भर बनाउन विकेन्द्रीकरण ऐन २०३९ ल्याइयो । जमिनदारका लाखौ विगाहा जमिन अनुत्पादक रहने र भूमिहीन किसानले अर्काको खेत जोतेर जीवननिर्वाह गर्नुपर्ने विषमताको अन्त्य गर्दै राजा महेन्द्रले किसानहरुलाई मोहियानी हक दिलाएका थिए । झापाको तत्कालीन बुधबारे गाउँ पञ्चायतका नौ जना भूमिहीन किसानले सोही गाउँमा पहिलो पल्ट राजा महेन्द्रबाट मोहियानी हकको प्रमाणपत्र पाएर जग्गाको मालिक बनेका थिए । त्यसरी प्रमाणपत्र पाउने मध्येका एकजना किसान राधाप्रसाद धिमालले यस पंक्तिकारसँग भनेका थिए–“महेन्द्रजस्तो राजा कहाँ पाउनु ? उनले हामीलाई मोहियानी हक नदिएको भए भिखारी बन्ने थियौ ।”
कलेजमा पढ्ने केही विद्यार्थीले पंक्तिकारसँग सोध्ने गर्छन् “२०५८ सालमा राजा वीरेन्द्रको हत्या हुँदा हामी बालक नै थियौ । तपाईहरुले राजा वीरेन्द्रका बारेमा बेलाबखत प्रकाशित गरेका लेखहरु मार्फत हामीले धेरै कुरा बुझ्न पाएका छौं । तर नेपालको इतिहास, संस्कृति र परम्परासँग जोडिएको दरबार हत्याकाण्डलगायतका विषयलाई अरु स्पष्ट गर्दै लेख्न मिल्दैन ?”
आमाबाबु र दाजुदिदीबाट सुनेका कतिपय कुराले उनीहरुलाई रोमाञ्चित तुल्याउँदो रहेछ । पंक्तिकारद्वारा सम्पादित ५०३ पृष्ठको वीरेन्द्र स्मृति ग्रन्थ आद्योपान्त अध्ययन गरेका विद्यार्थी रामजी शर्माले भने –“राजा वीरेन्द्रका बारेमा सो ग्रन्थमा कीर्तिनिधि विष्ट, केवी शाही, केशरीराज पाण्डे, यदुनाथ खनाल, केशरजंग रायमाझी, डायमनशमशेर राणा, नयराज पन्त, नयनबहादुर खत्री, जयराज आचार्य, मणिराज उपाध्याय, सत्यमोहन जोशी, मोहमद मोहसिन र क्षेत्रप्रताप अधिकारीलगायतका १६२ जनाका लेख र संस्मरण पढेपछि धेरै कुरा बुझ्न पाएँ । राजा वीरेन्द्र साँच्चै अनुपम रहेछन् ।”
मन, बचन र कर्मले स्वच्छ थिए वीरेन्द्र । राजा भएपनि अभिमान थिएन । फुर्सदका बेला गहन पुस्तक अध्ययन गर्ने र चित्र बनाएर बस्थे उनी । उनकी छोरी श्रुति पनि सिद्धहस्त चित्रकार थिइन् । असल र सफल कूटनीतिज्ञ र सच्चा राजनेता थिए वीरेन्द्र । नेपाललाई सदैव स्वाधीन, स्वतन्त्र, सवल र सक्षम बनाएर जनताको मुहार हँसिलो बनाउन चाहन्थे उनी । सिसेरोले भनेका छन् – “जीवनको एक पल पनि कर्तव्यहीन रहदैन ।” वास्तवमा राजा वीरेन्द्रले पनि जीवनको पलपलको सदुपयोग गरे । सुख सयलमा उनको कुनै रुचि थिए । राजा वीरेन्द्रका स्वकीय सचिव तथा शिक्षक रहेका नारायणप्रसाद श्रेष्ठ भन्छन् –“सोफा बिग्रियो भने उनी नयाँ किन्ने होइन, मर्मत गरेर काम चलाउनुपर्छ भन्थे । आफ्नै कोटको रंग खुइलिदा पनि त्यसलाई उल्टो बनाइ मर्मत गरेर लगाएको देख्यौ हामीले । जुत्ता फाट्यो भने मर्मत गरेर काम चलाउथे । राजा भन्थे –‘जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन ।’”
आफूलाई जनवादी, लोकतन्त्रवादी वा गणतन्त्रवादी भन्नेहरुले राजा वीरेन्द्रको जीवनशैलीबाट धेरै कुरा सिक्न सक्छन् । प्रजातान्त्रिक मूल्यमान्यता, संस्कार, सभ्यता, शिष्टाचार तथा मानवीय जीवनप्रतिको विशिष्ट दृष्टिकोण राजा वीरेन्द्रको जीवनका हरेक पलमा व्यवहार समेत देखियो । यसबाट राजनीतिक व्यक्तिहरुले मात्र होइन, आफ्नो व्यक्तित्व उठाउन चाहने र राष्ट्रको उत्थानमा समर्पित हुन चाहनेले उनको जीवनबाट धेरै शिक्षा लिन सक्छन् ।
२००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्र नवौं महिनामा जन्मेका थिए भने उनको जीवनको अन्तिम दिन जेठ १९ मा पनि अन्त्यमा ‘नौ’ अंक नै आउँछ । त्यस्तै उनको जन्म, विवाह र स्वर्गारोहण शुक्रबार नै भएको थियो । यसलाई पनि एउटा अनौठो संयोग मान्नुपर्छ ।
घुम्दैफिर्दै इतिहासको त्यो एउटा कालो दिन आज (जेठ १९ गते) आइपुगेको छ । राजा वीरेन्द्रको स्वर्गारोहणपछि नेपालबाट स्थायी शान्ति र एक किसिमको खुशी हराउँदै गएको धेरैको बुझाई छ । वीरेन्द्रको शासनकाल प्रगति, शान्ति र समृद्धिको यात्रातर्फ अग्रसर थियो । बुद्धजस्ता शान्तिप्रिय राजा वीरेन्द्रको स्वर्गारोहण भएको १८ वर्षपछि पनि हामी उनलाई सम्झिरहेका छौं । र, सधै सम्झिरहने छौं ।